+
+
Shares

मेलम्चीको पानी रोकियो, दुई महिना खानेपानी वितरण प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १३:१०
फाइल फोटो

१ असार, काठमाडौं । आज मंगलबारदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द गरिएको छ । यो सँगै अब काठमाडौंका धारामा २ महिना मेलम्चीको पानी नआउने भएको छ ।

सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न सुरुङमा मंगलबार विहान ११ बजेदेखि पानी पठाउन बन्द  गरिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

अब १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समाधान पनि गर्नेछन् ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

‘सुरुङमा कुनै समस्या नदेखिएमा खाली भएको १५ दिनभित्र सुरुङको सुपरीवेक्षणको काम सकिन्छ,’ प्रवक्ता पन्त भन्छन् ,’त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’

उनकाअनुसार करिब ४५ दिन सुरुङ खाली गर्न, सुपरीवेक्षण गर्न र पुन सुरुङ भर्न लाग्नेछ । त्यसपछि आएको पानी नियमित तवरले वितरण गर्न अर्को १५ दिन लाग्न सक्छ ।

गत १० फागुनमा मेलम्चीको सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

पहिलोको कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए/नभएको अध्ययन गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परे/नपरेको अध्ययन नगर्न आयोजनालाई दबाव दिएको थियो । प्रोटकेल मिच्दा उद्घाटन २ महिना दिन वर सरेको थियो ।

हतार-हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे/नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका थिएनन् । छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी थियो ।

विज्ञहरुले पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लागेको बताएका थिए । भरिएको सुरुङ खाली गराएर कहाँ-कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गराउनुपर्ने थियो ।

पानी भरेपछि चट्टानको प्रकृतिअनुसार सुरुङको संवेदनशील क्षेत्रमा कुनै समस्या देखिएको हुनसक्ने विज्ञको भनाइ छ । त्यसलाई समयमै समाधान नगरे भविष्यमा समस्या हुने विज्ञहरुको चेतावनीपछि असारमा मात्रै परीक्षण गर्ने गरी तालिका बनाइएको थियो ।

फेरियो तालिका

मेलम्चीबाट पानी रोकिने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरिसकेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमिट आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।

मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ ।

नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ । केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।

बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?