Comments Add Comment

दोहोरीगीत प्रतिष्ठानले बाँड्यो ६ सय जनालाई राहत, मोडल निशालाई ५१ हजार सहयोग

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले निषेधाज्ञाका कारण समस्यामा परेका लोकदोहोरी कलाकारसहित ६ सय जनालाई राहत वितरण गरेको छ ।

प्रतिष्ठान र प्रतिष्ठान उपत्यका समन्वय समितिको समन्वयमा ६ सय जनालाई १२ लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बि.जीले जानकारी दिए । प्रतिष्ठानले अहिले पनि राहत वितरण कार्यलाई निरन्तरता दिईरहेको छ ।

निषेधाज्ञाका कारण अहिले दोहोरी साँझहरु ठप्प छन् भने मेला महोत्सवहरु हुन सकिरहेका छैनन् । निषेधाज्ञाको मारमा बढी दोहोरी साँझमा आवद्ध लोकदोहोरी कलाकारहरु परेका छन् ।

अध्यक्ष बि.जी.ले दोहोरी साँझमा आबद्ध गायक, वाद्यवाद्क एवं प्राविधिकहरु, प्रतिष्ठानसँग आवद्ध सदस्यहरु, होचापुड्का कलाकार, दृष्टिबिहीन कलाकार साथै समस्यामा परेका अन्य ब्यक्तिहरुलाई समेत राहत वितरण गरिएको बताए ।

प्रतिष्ठानले ‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नाराका साथ कलाकारहरुलाई राहत वितरण शुरु गरेको हो । प्रतिष्ठानले कलाकारहरुलाई चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामाग्री वितरण गरेको हो । राहत वितरणमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब सात लाख बराबरको सामाग्री उपलब्ध गराएका थिए । अन्य लोकदोहोरी कलाकार एवं लोकदोहोरीप्रेमीहरुले समेत राहतका लागि सामाग्री उपलब्ध गराएका थिए ।

त्यस्तै, निषेधाज्ञामा कलाकारहरु समस्यामा परेको जानकारी पाएपछि देश विदेशबाट लोकदोहोरी कलाकार, लोकदोहोरीप्रेमी, एवं विदेश शाखाहरुबाट स्वतस्फूर्त रुपमा सहयोग प्राप्त भएको अध्यक्ष बिजी बताउँछन् । प्रतिष्ठानको ‘कोभिड १९ सहयोग समिति कोष’मा धेरैले सहयोग गरेका छन् । अध्यक्ष बिजीका अनुसार कोषमा अहिलेसम्म झण्डै पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । ‘धेरैले स्वतस्फूर्त रुपमा सहयोग गर्नुभयो’ अध्यक्ष बिजी भन्छन्, ‘पहिलोचरणको राहत बाँड्यौं । फेरि समस्या भएको खण्डमा जानकारी गराउँला । अब, सहयोगलाई रोक्ने सोँच बनाएका छौं ।’ उनले समस्यामा परेर नाम टिपाएकाहरुलाई राहत वितरण गरिएको र आउँदा दिनमा पनि समस्यामा परेकाहरुलाई निरन्तर सहयोग गर्ने बताए ।

अध्यक्ष बिजीले पोखरामा रहेका कलाकारहरुलाई लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशले राहत वितरण गर्न शुरु गरेको जानकारी दिए । त्यस्तै, रुपन्देहीमा रहेका समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई पनि छिट्टै राहत वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

मोडल निशालाई ५१ हजार सहयोग
यस्तै, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी., निवर्तमान अध्यक्ष बद्री पंगेनीसहित अन्य सदस्यहरु नर्भिक अस्पताल पुगी घिमिरेको स्वास्थ्य अवस्था बुझी उनको परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरिएको हो ।

प्रतिष्ठानको कलाकार कल्याणकारी कोष र ‘कोभिड १९ सहयोग समिति कोष’बाट उक्त रकम सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले निशाको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment