Comments Add Comment

कर्णालीमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट, उत्कृष्ट किसानलाई तक्मा (पूर्णपाठ)

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै ३ अर्ब रुपैयाँले बढी हो ।

त्यस्तै चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्णालीको बजेटमा पुँजीगतमा ५९, चालुमा ३१ र वित्तीय हस्तान्तरणमा १० प्रतिशत बजेट विनियोजन गरिएको हो ।

बजेटको स्रोतमा सबैभन्दा धेरै रकम चालु आर्थिक वर्षको बाँकी १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार रुपैयाँलाई राखिएको छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवापतको १० अर्ब १४ करोड २१ लाख, राजस्व बाँडफाँटको ७ अर्ब ४४ करोड ७७ लाख, सशर्र्त अनुदान ३ अर्ब ९८ करोड ७७ लाख, समपूरक अनुदान ८१ करोड ३५ लाख र विशेष अनुदान ६१ करोड ३० लाख रुपैयाँ प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ ।

कर्णालीले आगामी आर्थिक वर्ष आन्तरिक राजस्वबाट ६० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

मन्त्री शर्माले स्वास्थ्य सेवा सुधार, विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन् ।

बजेटमा स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ । महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा पुरानै योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश अस्पताल सुर्खेतलाई ५०० शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नति गरिने मन्त्री शर्माले बताए ।

प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै सबै नागरिकलाई निशुल्क कोरोनाविरुद्धको खोप र प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राख्ने अर्थमन्त्री शर्माले बताए ।

कर्णालीको स्वास्थ्य सेवा सुदृढीकरणका लागि २ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

प्रदेश सरकारले उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने जनाएको छ । ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ मार्फत वार्षिक एक जना उत्कृष्ट कृषकलाई सुनको हलो अंकित तक्माले दिइने मन्त्री शर्माले घोषणा गरे ।

व्यवसायिक कृषि खेती प्रणालीको विकास तथा किसानको सम्मानका लागि प्रदेशका २०० किसानलाई सम्मान गरिने बजेट वक्तव्यमा उल्लेख छ । जसका लागि आगामी आर्थिक वर्षमा सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले सडक पूर्वाधार निर्माण र यातायात सेवा सुदृढीकरणतर्फ ७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री कर्जा अनुदान कार्यक्रमका लागि १ अर्ब रुपैयाँ दिइएको छ ।

हेर्नुहोस् बजेट वक्तव्यको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment