Comments Add Comment

उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई देउवाको आग्रह

सरकारले तत्काल राहत प्याकेज घोषणा गरोस् : प्रकाशमान

२ असार, काठमाडौं । नेपाली कांग्रेसले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।’

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको देउवाले जानकारी दिएका छन् । ‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।

देशभरका सबैलाई सजग भएर बाढी पहिरोको विपत्ती सामना गर्न आग्रह गर्दै देउवाले तीन वटै तहका सरकारलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न अपील समेत गरेका छन् ।

राहतको प्याकेज घोषणा गर्न माग

यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

बाढीका कारण घरबारविहीन भएकाहरुको उद्धार तथा राहतको व्यवस्था गर्न र बेपत्ताहरुको खोजी गर्न उनले सरकारसँग माग गरेका हुन् ।

‘देशभर बाढी पहिरोको मारमा पर्नुभएका आम नागरिकको दुःखमा सबैले आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई म हार्दिक अपिल गर्दछु,’ नेता सिंहले भनेका छन्, ‘सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस्, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापनमा कुनै कसर बाँकी नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment