Comments Add Comment

‘प्रतिकूल अवस्थामा ल्याएको बजेट कार्यान्वयन गर्छाैं’

२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोनाभाइरसको महामारीका बीच पनि प्रदेशको आर्थिक समृद्धि हुने गरी बजेट ल्याएको दाबी गरेका छन् ।

मन्त्री शाहले आफूले पदभार सम्हालेको छोटो समय र कोरोना महामारीको प्रतिकूल अवस्थामा समेत सबै पक्षसँगको समन्वयमा दिगो विकासको अवधारणालाई आत्मसात गरेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका हुन् ।

बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री शाहले प्रतिकूल अवस्थामा कठोर मिहिनेत गरेर ल्याएको बजेट कार्यान्वयनमा कुनै प्रकारको ढिलाइ नगरिने दाबी गरे ।

‘आगामी वर्षको बजेट कार्यान्वयनमा ढिलाइ हुने तपाईंहरु शंका नगर्नुस्’ पत्रकारसँग उनले भने, ‘विगतमा भएका कमी–कमजोरीको गम्भीर समीक्षा गर्दै पहिलो आर्थिक वर्षबाटै हामी आगामी वर्षको बजेट कार्यान्वयनमा लैजान्छौं। प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि छुट्टै संयन्त्र बनाएर परिचालन गछौँ ।’

भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य सेवा सुधार तथा स्तरोन्नति, कृषि उत्पादन र उत्पादकत्व वृद्धि, आन्तरिक रोजगारी सिर्जना लगायतका कुरा बजेटको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै शाहले समृद्ध प्रदेश निर्माणका लागि सघाउ पुग्ने जनाए । उनले बजेट वितरणमुखी भएको आरोप लागिरहेको भन्दै अहिलेको बजेट परिणाममुखी भएको तर्क समेत गरेका छन् ।

कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको हकमा प्रदेश स्वरोजगार कोष परिचालन गरेर आत्मनिर्भर बनाउने, प्रदेश सरकार मातहत रहेका कर्मचारीको हकमा हिमाली जिल्लामा कार्यरतलाई ३ हजार, पहाडी जिल्लामा कार्यरतलाई साढे २ हजार र तराईमा कार्यरतलाई २ हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने नीतिले कर्मचारीको मनोबल समेत बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड बराबरको बजेट ल्याएको थियो । जुन चालु वर्षको तुलनामा ३ अर्ब ५ करोड कम हो । असार ६ गतेदेखि प्रदेशसभामा बजेटमाथि छलफल शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment