
३ असार, मेलम्ची । इन्द्रावतीमा पानीको बेग कम भएको छैन । केही अघिसम्म बायाँतर्फको कटान गरिरहेको नदीले फेरि बजारतर्फ कटान सोझ्यायो । जसका कारण हतास र आत्तिएका जस्ता देखिने स्थानीय दुई व्यवसायी बुधबार दिउँसो करिब साढे २ बजेतिर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ११ मा रहेको कालीजंग गणमा आइपुगे ।
ती दुई स्थानीय व्यवसायीहरुले आफूहरुलाई गणपतिसँग भेटाइदिन बाहिर बसेका सैनिक जवानसँग अनुनय विनय गरे ।
उनीहरुको भनाइ थियो, “हेलिकप्टरबाट बिस्फोट गराएर नदीको धार परिवर्तन गराउन सके तत्काल जोखिममा रहेका करीब एक दर्जन घर जोगाउन सकिन्छ ।”
तर त्यतिबेलै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक गुल्मभित्रै चलिरहेकाले समितिबाट निर्णय नहुन्जेल केही गर्न नसक्ने जवाफ सैनिक अधिकारीहरुले फर्काए । त्यो जवाफले खिन्न भएका उनीहरु त्यहीँ बसेर आफ्नो डुब्न लागेको घरलाई टुलुटुलु हेरिरहे।
नदीले दायाँतर्फको कटान सोझ्याएपछि स्थानीयलाई लागिसकेको छ कि बजार क्षेत्रका थप घरहरुमा अब क्षति पुग्ने निश्चित छ । त्यसैले इन्द्रेश्वर माविमा शरण लिएर बसेका ती दुई व्यवसायीहरु इन्द्रावतीले धार परिवर्तन गरेपछि बेचैन भएर हारगुहारको लागि आर्मी क्याम्प आइपुगेका थिए ।
यस्तो नियति यी दुई व्यवसायीको मात्र होइन, मेलम्ची किनारका धेरैजसो बासिन्दाको छ । अग्ला डाँडामा बसेर इन्द्रावतीको बहाव र त्यसको वितण्डा हेर्नु सिवाय उनीहरुसँग अरु केही विकल्प छैन ।
दाहिनेतिरबाट मेलम्ची खोला, देब्रेतिरबाट याङ्ग्री खोला। दुई खोला जोडेको दोभानको केही तल हो मेलम्ची बजार। दुई खोला जोडेपछिको खोलाको नाम हो इन्द्रावती। इन्द्रावतीको बायाँतर्फ सिंगो एउटा घर क्षतिविहीन अवस्थामा छ । दुईवटा घरको एक तलामात्रै देखिएको छ । जोखिम बढेको भन्दै बीच बजारबाट मेलम्ची र यांग्री खोलाको दोभानतर्फ जान रोकिएको छ । बाढी पीडित स्थानीय र क्षतिको अवस्था बुझ्न बाहिरी जिल्लाबाट आएकाहरु डाँडामा गएर नदीको बहाव नियाली रहेका छन् । पानी जब केहीबेर रोकिन्छ, उनीहरु जोखिम घटेको आशमा शान्त देखिन्छन् । तर जब पानी पर्छ तब उनीहरुको बेचैनी बढ्न थाल्छ । दुःखले कमाएको सम्पत्ति तहसनहस हुँदा कसको पो मन रुँदैन र !
मेलम्चीको मूल सडकभन्दा तलका घरमा एकाधबाहेक मान्छे बसेका थिएनन् । बरु इन्द्रेश्वर माविको डाँडामा बसेर नदीको कटान हेर्नेको भीड देखिन्थ्यो । त्यो विपद्को समयमा कसैले पनि कोरोना महामारीबाट बच्न सुरक्षा सतर्कता अपनाउन सकेनन् ।
इन्द्रावतीमा पानीको वेग बुधबार दिनभरि रोकिएन । साथमा समय समयमा पानी झरी पनि परिरहेको थियो । नदीको बायाँतर्फ त्यति ठूलो बस्ती छैन । भएको घर पनि एउटाबाहेक सबै डुबिसकेको छ । बाढीले बनाएको बगरको बीचमा दुईवटा घर देखिन्छन् । त्यसलाई देखाउँदै स्थानीय व्यवसायी विनोद श्रेष्ठ भन्छन्, “त्यो एक तलामात्रै देखिएको घर तीन तलाको हो । सँगै धुरीमात्रै देखिएको घर साढे २ तलाको हो । अब हाम्रो घर पनि त्यही अवस्थामा पुग्नेवाला छ, यता सीडीओ सापहरु भने त्रिपाल बाँड्नको लागि बैठक बसिरहनुभएको छ ।”
रुद्रेश्वर उच्च माविको कम्पाउण्डबाट अलिकति तल झरेर आफ्नो डुब्न लागेको घर हेर्दै रुद्राकुमारी श्रेष्ठले लामो सुस्केरा हालिन् । तल्लो तलामा पसल थियो । दोस्रो तलामा बसोबास । एकतला हिजै सकियो । बाँकी पनि डुबानमा पर्ने निश्चित छ । उनी भन्छिन्, “त्यही बाँकी रहेको एकतलाको घर हेर्न कहिलेकाहीँ आउने गर्छु । जब इन्द्रावतीले दायाँ तर्फको धार काट्न सुरु गर्छ, तब मन कटक्क खान्छ । मेरो सम्पत्ति इन्द्रवतीले डुबाइदियो ।”
उनको घर बनाउँदा ४० लाख ऋण लागेको रहेछ । व्यवसाय गरेर तिर्ने सोच बनाएकोमा ती सबै चौपट भएको सुनाउँछिन् रुद्राकुमारी ।
रुदाकुमारीको घर इन्द्रावतीभन्दा निकै माथि थियो । उनले कहिलै पनि इन्द्रावतीले आफ्नो घरसम्म क्षति पुर्याउला भन्ने सोचेकीसम्म थिइनन् । तर मंगलबार साँझ नसोचेको भयो । उनी एकाएक घरधनीबाट शरणार्थी जसरी सार्वजनिक ठाउँमा शरण लिन आउनु पर्यो।
अलिक माथि थुम्कोमा रहेको आर्मी क्याम्पको कम्पाउण्डमा बसेर स्थानीय टेकलाल श्रेष्ठले हातको इसारा गर्दै आफ्नो पुरिन लागेको घर देखाए । “इन्द्रावतीले धार काट्न सुरु गरेको करीब ४० मिटरजति भित्रको त्यो सेतो घर मेरो हो । हिजैको पानीले दुई तला पुरिसकेको छ । अब २ तलाको पालो अहिले जस्तो छ । यहीँ बसेर हेर्नुभयो भने अबको २÷४ घण्टामा मेरो घर सकिन्छ । त्यहाँभित्र रहेका सबै सामान सकिन्छ । म केही गर्न सक्दिन यहाँ बसेर टुलुटुलु हेर्ने बाहेक ।”
मेलम्ची बजारमा रहेको प्रहरी चौकीको तल्लोपट्टि रहेको सेतो घरको जगैसम्म इन्द्रावतीले कटान काटिसकेको थियो । स्थानीयहरु आजै राति या भोलिसम्म नदीले धार परिवर्तन गरेन भने त्यो घर र सडकसमेत भत्काउने अड्कलबाजी गरिरहेका थिए ।
अपराह्न ४ बजे प्रहरीले सो आसपास पैदलयात्रीलाई समेत हिँड्न रोकिरहेको थियो । सडक छेउमा रहेको सो ५ तले घरको तल रहेको फर्निचर उद्योगका काठहरु किस्ताबन्दीमा बगाउन सुरु भइसकेको थियो । हिजोसम्म आफू बसेको घरमाथि आफ्नै अघि परेको संकटलाई नियाल्दै ट्राफिक प्रहरी जवान हरिलाल तामाङ भन्छन्, “घरबेटी यो अवस्था हेर्न नसकेर माथि (इन्द्रेश्वर मावि)बाट फर्किनु भएको छैन । सामान सारिसकेका छौं । अब नदी कटानको मारमा यो घर पनि पर्ने निश्चित जस्तै छ ।”
सबैको नजर एकोहोरो इन्द्रावती नदीतिरै छ । मंगलबार रातिदेखि इन्द्रावती नदीमा आएको निरन्तरको बाढीले करीब ३ दर्जन घर डुबाइसकेको थियो । बिहानैदेखि नदीको धार कहिले दायाँ र कहिले बायाँ भइरहेको थियो । जब बायाँतर्फ नदीले धार लगाउन सुरु गर्छ त्यसपछि मुटुले ठाउँ छाड्छ बजार क्षेत्रका स्थानीयहरुको । क्षतिको विवरण हेर्नको लागि हेलिकप्टरले परिक्रमा गर्दा फेरि इन्द्रवतीले डुबाएको घर सम्झिएर भक्कानिन्छन् रुद्रेश्वर माविमा शरण लिएर बसेका पीडितहरु ।
रातिदेखि नै नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । बत्ती नहुँदा इन्टरनेटको सुविधा पनि छैन । जसका कारण पनि कतिपयले आफन्तसँग सम्पर्क गर्नसमेत नपाएको गुनासो गरेका छन् ।
रमितेले भरिएको मेलम्ची बजार
बुधबार रिपोर्टिङका लागि मेलम्ची बजार पुग्दा सडक जाम थियो । मेलम्चीको बीच बजारबाट पल्तिर जान रोकिएको थियो । जसका कारण विभिन्न ठाउँबाट त्यहाँको बाढीको अवलोकन गर्न जाने रमितेहरुको सवारी साधनले बजारमा सवारी व्यवस्थापन अस्तव्यस्त थियो । बजारमा मात्रै नभएर वन कार्यालय नजिकको डाँडोबाट नदीको बेग हेर्नेको भीडले सो क्षेत्रसमेत अस्तव्यवस्त थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको भने खोज तथा उद्धारको लागि दौडादौड चलिरहेको थियो ।
जब बसपार्क डुबायो, त्यसपछि होस उड्यो
मंगलबार राति खाना खाइवरी सुत्ने तरखरमा रहेका स्थानीय रवि श्रेष्ठले बजार क्षेत्रमा माइकिङ गर्दै हिँडेको आवाज सुने । मनसुनको सुरुआती दिनमै भएको माइकिङ तर्फ उनको ध्यान जानु स्वाभाविक नै थियो । नगरपालिकाको तर्फबाट भएको माइकिङमा भनिएको थियो, “मेलम्ची नदी र इन्द्रावतीमा ठूलो बाढी आइरहेको छ । माछा मार्न गएका साथीहरु खोला छाडेर फर्किनुहोला, नदी किनारका साथीहरु सतर्क रहनुहोला ।”
यो दुवैसँग विनोदलाई खासै चासो थिएन । उनको घर नदी किनाराबाट करीब ३० मिटरभित्र थियो भने खोलामा माछा मार्न जाने चलन पनि थिएन । त्यसैले उनी ढुक्कसँग आफ्नो काममा लागे । करीब ८ बजेतिर एक्कासी खबर आयो आमा ह्याल्मो यातायातको बसपार्क सबै इन्द्रावती नदीले बगाइदियो रे । उनी झसँग भए । अब संकट आफैँतिर तेर्सिएको भान भयो । उनी भन्छन्, “एकैछिन अघि ढुक्क रहेको ममा एक्कासी त्रासको डिग्री बढेर गयो । परिवारसँग कुरा गरेँ । राति पानीको बेग देख्न त सकिएन । तर आवाज र क्षतिको विवरणले अनुमान पक्कै भयो कि यो बाढी भयंकर छ ।”
त्यसपछि उनीहरु राति नै घरछाडेर माथि डाँडामा रहेको स्कुलमा शरण लिन पुगे । अत्यावश्यक सामानहरु राति नै माथि सारियो । उनको परिवार मात्रै होइन, राति नै मुख्य सडकभन्दा तल्लो भेगका स्थानीयलाई घर छाड्न आग्रह गरिएको थियो । “कतिजनाले घर छाडे त थाहा भएन । कतिलाई त बिहान पनि उद्दार गरियो । तर हामी रातभरि घरको धुरी हेरेर निदाउन सकेनौं,” उनी भन्छन् ।
मानवीय क्षतिबाट बच्यो मेलम्ची, धनको क्षति असीमित
बुधबार रातिसम्म मेलम्ची नगरपालिका वडा नं ११ मा कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको समाचार आएको छैन । एकातिर यो सालको मनसुन अन्य वर्षको भन्दा भयंकर छ भन्ने समाचारका कारण स्थानीयहरु सचेत थिए भने अर्काेतर्फ मंगलबार राति नै माथिबाट बाढी आएको सूचना मिलेको थियो । जसले गर्दा मानिसहरु घरबाट बाहिर गएनन् र नदी किनारको घरका मानिस समेत सुुरक्षित भएर बसे ।
मेलम्ची नगरपालिकाका अनुसार बुधबार रातिसम्म ११ नं वडामा २ वटा पक्की पुल र तीन वटा झोलुंगे पुलमा क्षति पुगेको छ । कबर्ड हल सिटी पार्क, ८ वटा ट्राउट फार्म नदीले बगाएको छ भने बाँकी कैयौं संरचनाहरु पुरिएका छन् ।
नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार एक अर्बभन्दा धेरैको क्षति भएको भनिए पनि व्यवस्थित रुपमा क्षतिको विवरण आउन सकेको छैन ।
‘मेरै अघि स्थानीय भक्कानिन्छन्, मैले पनि सम्हाल्न सक्दिन’
रुद्रेश्वर माविमा बिहानको खाना खुवाइसकेपछि ११ नं वडाका वडाध्यक्ष रुद्र प्रसाद दुलाल बजारको क्षतिको विवरण सुनाउँदै गर्दा अवाक् बने ।
विद्यालयमा शरण लिन आएका स्थानीयले भक्कानिँदै आफ्नो घर त सबै सकियो होला है ? भन्ने जस्ता प्रश्न गर्दा आफू पनि सम्हालिन नसक्ने उनी बताउँछन् ।
“आफ्नै अघि कतिपय घरबार विहीन बन्नुपरेको छ,” वडाध्यक्ष दुलाल भन्छन्, “अझै सम्हालिन नसक्ने अवस्था त त्यतिबेला आउँछ, जतिबेला स्थानीयले इन्द्रावतीले बजारतिर धार सोझ्यायो रे अब मेरो घरको पालो त होला नि भनेर कम क्षति भएका घरधनीहरुले डुबानको अवस्था सुनाउँछन् ।” यति धेरै विघ्न अवस्था आफूले अहिलेसम्म नदेखेको दुलालको भनाइ छ ।
तस्वीरहरू : विकास श्रेष्ठ
प्रतिक्रिया 4