Comments Add Comment

बहसमा राजनीतिक संस्कृति : इतिहास र स्मृतिको द्वन्द्व

चिन्तक सीके लाल .

‘राजनीतिक संस्कृति’को निर्धारक तत्त्व भनेको समाजको ‘इतिहास’ र ‘स्मृति’ हो । विजेताले इतिहास आफ्नो तरिकाले लेख्ने भएकाले इतिहासले मात्र देशको समग्र राजनीतिक संस्कृति बनाउन सक्दैन । समाजले भोगेको स्मृतिले पनि संस्कृति निर्माणमा भूमिका खेलेको हुन्छ । बाँच्दै आउने क्रममा समाजका विभिन्न वर्गका आ-आफ्नै स्मृति हुन्छन् ।

यसबाहेक भौगोलिक परिवेश, धार्मिक पक्ष, सामाजिक परिस्थिति तथा आर्थिक स्थिति आदिले पनि राजनीतिक संस्कृति निर्माणमा भूमिका खेलेको हुन्छ । यहाँ म यिनै पक्षहरूको चर्चा गर्दछु ।

नेपालको राजनीतिक संस्कृतिको कुरा गर्दा शाहतन्त्र, राणातन्त्र, थापाको मुख्तियारी, संसदीय प्रजातन्त्र या लोकतन्त्र जे भने पनि ती विचारधाराको एउटा अवयव हुन् । इतिहासलाई हेर्दा पृथ्वीनारायण शाहले नेपाललाई ‘असली हिन्दुस्ताना’बनाउन खोजेको देखिन्छ । उनले लोकहितका लागि त राज्यविस्तार गर्न खोजेका होइनन् । यसैले यो इतिहास नै ‘थर-घर’को शासन चलाउने, जागिर दिने क्रममा चलेको छ ।

जसलाई दिव्योपदेश भनिएको छ त्यो त सैनिक उपदेशको हातेसंग्रह हो । तर दिव्योपदेशलाई पवित्र धार्मिकग्रन्थजस्तो मानिएको छ । दिव्योपदेशकै बलमा पृथ्वीनारायणको विजय अभियानलाई एकीकरण नाम दिइएको छ । उनी त आफ्नो विजयी अभियानमा निस्केका थिए न कि एकीकरणमा !

इतिहास एकठाउँमा छ तर समाजमा एकथरि हारेकाहरू पनि छन् । हारेकाहरूको स्मृति त फरक छ । यसैले ‘इतिहास र ‘स्मृति’को द्वन्द्व हुन्छ । स्मृतिहरूलाई पनि महत्त्व दिइयो भने मात्र राजनीतिक संस्कृति अग्रगामी हुन जान्छ ।

नेपालमा जनजातिको स्मृति अर्कै खालको छ । मगरहरूको एकठाउँमा छ किनकि तिनले शाहहरूसँग काम गरेका छन् । गुरुङहरूको अर्को छ । ‘थर-घरवाला’हरूको त झन् इतिहासमै आफ्नो स्मृति समेटिएको छ । मधेशको स्मृति अर्कै छ । काठमाडौंमा नेवारको स्मृति बेग्लै छ । थारूको बेग्लै छ । एउटा तथाकथित मूलधार भनिने गोर्खाली थरघरको इतिहास र स्मृति एकाकार भयो तर अरू स्मृतिसँग त्यसको द्वन्द्व छ । यसैले राजनीतिक संस्कृतिमा राष्ट्रिय ऐक्यबद्धता निर्माण हुन सकेको छैन ।

राजनीतिक संस्कृतिको अर्को मुख्य बुँदा धार्मिक विश्वास हो । पृथ्वीरानारायण शाहले असली हिन्दुस्तान बनाउन निस्केको बेला नेपालका जनजातिको आ-आफ्नै धार्मिक आस्था थियो । कसैले बोन भन्ला, कसैले प्रकृति-पूजा, पुर्खा-पूजा भन्ला तर तिनको आफ्नै आस्था थियो ।

राज्यले एकाधिकार कायम गरेर आफूखुसी कुनै कुराको भोगचलन गर्छ भने समाजमा व्यापक असमानता छाउँछ । कसैले कुनै स्रोतमाथि एकाधिकार कायम गरेपछि कहाँ एकता कायम हुने ! त्यहाँ द्वन्द्व नै हुन्छ

जसलाई हिन्दु धर्म भनिएको छ त्यो पनि आफैंमा विविधताले भरिएको छ । जस्तो मिथिला क्षेत्रमा शाक्य पनि छन्, शैव पनि छन् तर वैष्णव बाहुल्य छ । थारू समुदायमा प्रकृति पूजाको वर्चश्व छ । जनजातिको फरक धार्मिक संस्कार छ । यस्तोमा काशीमा पण्डितबाट गोरखनाथ जोगीको धर्मको परिभाषा सारा देशमा फैलाउँदा द्वन्द्व भयो ।

भौगोलिक परिस्थितिको कुरा गर्दा दुईवटा ठूलो सभ्यताको बीचमा नेपाल छ । तिब्बत र चीन अनि गंगा मैदानको सभ्यताको बीचमा हामी छौं । यस्तो भौगोलिक परिस्थिति दुनियाँमा विरलै छ । समुद्र सतहको होचोदेखि अग्लो भूभाग यहीँ छ । भौगोलिक परिस्थितिको पृथकताले गर्दा समाजमा बहुलता कायम भयो ।

अर्को बुँदा सामाजिक परिवेश हो । हिन्दु धर्मकै कुरा गर्दा हाम्रो समाज त जातियतामा विभाजित समाज हो । जसले जाति व्यवस्थामा विश्वास गर्दैन भन्ने करार गर्छ ऊ पनि कुनै जाति विशेषमा आबद्ध छ । जो ठूलो जातको छ अक्सर उसैले म जातिपातिमा विश्वास गर्दिनँ भन्छ ।

दलितले, शुद्रले मलाई जाति व्यवस्थामा विश्वास छैन भनेर के गर्नू ? अरूले विश्वास गरिदिन्छन् । यो हिन्दु धर्म र आ-आफ्नो विश्वासमा बाँचेका जनजातिका मान्यतालाई कसरी राजनीतिमा समेट्ने भन्ने कुरा गाह्रो छ । यसबाट कसरी ऐक्यबद्धता खोज्ने भन्ने कुरा गाह्रो छ । किनभने यहाँ विविधता धेरै छ ।

अर्को बुँदा आर्थिक परिस्थिति पनि हो । जहाँ उत्पादन, वितरण, श्रम र आर्थिक क्रियाकलापको कुरा जोडिन्छ । यो पक्ष हेर्दा भूमि मुख्य स्रोत हो । यसैको लागि पृथ्वीनारायण शाहले लडाइँ गरे ।

चन्द्रागिरीबाट हेर्दा खेतीयोग्य काठमाडौं उपत्यका देखे । काठमाडौं व्यापारको केन्द्र भएको भूमि र कृषिकै कारणले हो । गोर्खाली शासकले तलबको सट्टा जागिरेहरूलाई र सैनिकलाई भूमि दिने प्रथा सुरु गर्नाले भूमिको नियन्त्रण काम गर्नेको हातमा रहेन ।

भूमिपछिको दोस्रो स्रोत ‘वन-जङ्गल’ थियो । राणादेखि शाह अनि जनमतसंग्रहसम्म आउँदा सारा वन कटानी गरेर बेचियो । तेस्रो स्रोत भनेको जनशक्ति हो । शाहहरूले त्यही जनशक्ति बेचे । राणाहरूले लाहुरे बनाएर जनशक्ति नै बेचे । अहिले लोकतान्त्रिक भनिनेले पनि श्रम निर्यात नै बेचिरहेका छन् वैदेशिक रोजगारीको नाममा ।

यसरी राज्यले एकाधिकार कायम गरेर आफूखुसी कुनै कुराको भोगचलन गर्छ भने समाजमा व्यापक असमानता छाउँछ । कसैले कुनै स्रोतमाथि एकाधिकार कायम गरेपछि कहाँ एकता कायम हुने ! त्यहाँ द्वन्द्व नै हुन्छ ।

अब शिक्षाको अवस्थामा आऊँ । लामो समय शुद्र र महिलालो वेद नै सुन्न हुँदैन भन्ने मान्यता थियो । यो शिक्षाले जसरी इस्लाममा तालिवान भन्छ त्यस्तै मानिस उत्पादन गरेको छ । तालिवान भनेको तालिम लिएको मानिसको समूह हो । उनीहरूले धार्मिक गुरुहरुबाट तालिम लिएका हुन्छन् । हाम्रो संस्कृत शिक्षाले पनि त ‘हिन्दु तालिवान’ उत्पादन गरेको छ । अहिले पनि हिन्दु तालिवानीकै सन्तानको वर्चश्व छ ।

आधुनिक शिक्षा चन्द्रशमशेरको पालदेखि न आएको हो । नेपालीले शिक्षा पाउन थालेको छदेखि सात दशकमात्र भएको छ । यसैले शिक्षाको ऐक्यबद्धता सुरु भएको धेरै भएको छैन । फेरि शिक्षाको व्यापारिकरणले गर्दा धनी-धनी आफ्नै तकिाले शिक्षा पाउँछन् । गरिब र धनीको शिक्षामा व्यापक असमानता छ । उच्च वर्गकाहरू विदेशकै विद्यालयमा पढ्छन् । शिक्षाले गर्दा राजनीतिक संस्कृतिको निर्माण हुन सकेन ।

अर्को मुख्य अवयव भाषा हो । जब एउटा ठूलो समुदाय एकैथरि भाषा बोल्न थाल्दछ भने उसको सुख-दुःख बाँडिन्छ । जस्तो रोमन साम्राज्यमा भाषाले ऐक्यबद्धता कामय गर्‍यो। सबैले त्यही भाषा बोले । एकताका फ्रान्सको भाषा विश्वका चल्यो । उपनिवेशले गर्दा अंग्रेजी पनि चल्यो ।

नेपालको सन्दर्भमा खस हुँदै गोर्खाली तथा नेपाली भाषाको निर्माण भयो तर त्यसले एउटा ठूलो समुदायसँग ऐक्यबद्धता निर्माण गर्न सकेन । सम्भ्रान्तको एउटा भाषा हुन्छ भने अरूले अपनत्व कसरी महसुस गर्ने हुन्छ !

यिनै पक्षहरूले राजनीतिक संस्कृतिमा भूमिका खेलेको हुन्छ । राष्ट्रिय एक्येबद्धता किन निर्माण हुन सकेन भन्ने कुरा यी पक्षमा गहिरिएर हेर्दा थाहा हुन्छ ।

(चिन्तक सीके लालले ‘राजनीतिक संस्कृतिको सम्बन्ध र साइनो’ विषयमा जेबी पुनसँग गरेको भर्चुअल संवादको संक्षेप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment