Comments Add Comment

झडपपछि म्यानमारको गाउँमा आगलागी

३ असार, काठमाडौं । म्यानमारको मध्यभागमा पर्ने एक गाउँमा सेना र स्थानीय छापामार लडाकुको झडपपछि आगालागी भएको छ । यो क्रममा दुईजनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार म्यानमारको किन मा गाउँमा सेनाले आगलागी गराएको हो । स्थानीयका अनुसार गाउँमा रहेका २४० मध्ये २०० घर जलेका छन् । स्थानीय चरमपन्थी लडाकुले सेनालाई लखेट्ने प्रयास गरेसँगै उनीहरुबीच झडप भएको थियो ।

म्यानमारका लागि बेलायती राजदूत डान चुगले यो आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले म्यानमारको सेनाले गाउँमा आगो लगाउने र मानिसहरुलाई मार्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

यद्यपि म्यानमारको सेनाको नियन्त्रणमा रहेको टेलिभिजनले भने यो आगलागी ‘आतंकवादी’ले गराएको बताएका छन् । स्थानीयका अनुसार म्यानमारको सेनाले गाउँमा आगो लगाइदिएपछि मानिसहरु ज्यान बचाउन जंगल पसेका थिए । भाग्न नसक्ने दुई वृद्ध मानिसको भने उक्त आगलागीमा परी मृत्यु भएको उनीहरुले बताएका छन्। अझै केही मानिसहरु हराइरहेका छन् ।

गत फेब्रुअरीमा सेनाले कू गरेर सत्ता कब्जा गरेसँगै म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन भइरहेको छ । यो क्रममा अहिलेसम्म आठसयभन्दा धेरैको मृत्यु भइसकेको छ भने पाँच हजारभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment