Comments Add Comment

अमेरिकामा भन्दा चीनमा तीन गुणा बढी कोरोना खोप

२ असार, काठमाडौं । अमेरिकाले भन्दा चीनले आफ्ना नागरिकलाई तीन गुणा बढी खोप दिएको पाइएको छ ।

‘आवर वल्र्ड इन डेटा’ को तथ्यांकअनुसार मंगलबारसम्ममा अमेरिकामा पहिलो र दोस्रो डोज गरी ३१ करोड १८ लाख डोज कोरोना खोप लगाइएको छ । चीनमा भने अहिलेसम्म ९२ करोड ३९ लाख डोज खोप मानिसहरुले लगाएका छन् ।

चीनले गत मे महिनादेखि खोप अभियान तीव्र पारेको थियो । गत अप्रिल २७ मा अमेरिका र चीनमा दिइएको कोरोना खोपको संख्या बराबर थियो । तर, त्यसपछि भने चीनले तीव्र गतिमा खोप अभियान अघि बढाएको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार जुन महिना सुरु भएयता मात्र चीनमा औसतमा दैनिक १ करोड ७३ लाख डोज कोरोना खोप लगाइएको छ । जबकी गत अप्रिल महिनामा चीनमा औसतमा दैनिक ४८ लाख डोज कोरोना खोप लगाइएको थियो ।

त्यसयता चीनले अन्य केही कोरोना खोपलाई पनि अनुमति दियो र पहिला अनुमति पाएका खोपको पनि उत्पादन बढायो । अहिले चीनले आफ्नै देशमा उत्पादन भएका सातओटा खोपलाई प्रयोगको अनुमति दिएको छ ।

जनसंख्याको आधारमा भने चीन खोप अभियानमा अमेरिकाभन्दा पछि छ । अमेरिकामा अहिलेसम्म कम्तीमा एक डोज कोरोना खोप पाउनेको संख्या कुल जनसंख्याको ५३ प्रतिशत छ । तर, चीनमा भने अहिलेसम्म ४४ प्रतिशत जनसंख्याले मात्र कम्तीमा एक डोज कोरोना खोप पाएका छन् ।

अहिलेकै दरमा आफ्नो खोप अभियानलाई बढाएको अवस्थामा अबको केही समयमा नै चीन जनसंख्याको आधारमा पनि अमेरिकाभन्दा धेरै मानिसलाई खोप दिने मुलुक बन्न सक्ने देखिएको छ ।

यद्यपि चीनको खोप वितरण भने असमान देखिएको छ । चीनको सबै स्थानमा एकैनासले खोपको वितरण गरिएको छैन । चीनको बेइजिङ र सांघाईमा क्रमश ७० र ५० प्रतिशत मानिसले कोरोनाको दुबै डोज खोप लिइसकेका छन् । गुआङडोङ र शाङडोङ प्रान्तमा भने यो दर २० प्रतिशतभन्दा कम छ ।

पछिल्लो समय चीनले कोरोना खोप अभियान तीव्र गतिमा अघि बढाए पनि अहिलेसम्म सीमामा गरिएको कडाइ भने जारी राखेको छ । जानकारहरुका अनुसार चीनले आफ्नो मुलुकका ७० प्रतिशत मानिसलाई कोरोना खोपको पूर्ण डोज नदिँदासम्म सीमा बन्द राख्ने तयारी गरेको छ ।

जनसंख्याको आधारमा झण्डै चीनभन्दा केही मात्र कम रहेको भारत भने कोरोना खोप अभियानमा चीनभन्दा निकै पछि देखिएको छ । बुधबारसम्मको तथ्यांकअनुसार भारतमा २५ करोड डोजभन्दा धेरै कोरोना खोप दिइएको छ ।

जसमध्ये कम्तीमा एक डोज कोरोना खोप पाउनेको संख्या १५ प्रतिशत मात्र छ । भारतमा अहिले औसतमा दैनिक २५ देखि ३० लाख डोज कोरोना खोप वितरण भइरहेको छ । यो संख्या चीनको भन्दा झण्डै आठ गुणा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment