+
+
Shares

संघीयता बलियो बनाउन लागे प्रदेश सरकारलाई सहयोग गर्छौं : गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते १४:२६

४ असार, काठमाडौं । गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए ।

‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’

संघीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताए । तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने समेत उनले चेतावनी दिए ।

सम्बोधनको सुरुमै गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भएको बताए । राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनले बताए ।

तर पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?