
४ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद्को व्यवस्थापनबारे चासो व्यक्त गरेकी छिन् । मनसुनको शुरुवात भएसँगै वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट क्षति भएपछि उनले विपद् प्रतिकार्यका लागि सरकारले गरिरहेको कामबारे जानकारी लिएका हुन् ।
उनले गृह मन्त्रालय, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखहरूसँग यसबारे जानकारी लिएकी हुन् ।
गृहमन्त्री खगराज अधिकारी, गृह सचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपति भण्डारीलाई विपदले गरेको क्षति र प्रभावितहरूको खोजी तथा उद्धारमा भइरहेको कामबारे जानकारी दिएका थिए । राहत एवं पुनर्स्थापनाका कामहरूबारे पनि उनीहरुले राष्ट्रपतिलाई प्रकाश पारेका थिए । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रहरी महानिरीक्षक शैलेश थापाको पनि उपस्थिति थियो ।
राष्ट्रपतिले बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीहरूको सराहना गरिन् । खोजी तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामहरूको साथसाथै विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा समेत सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताइन् । भौतिक संरचनाहरू निर्माण गर्दा भूकम्प, बाढी, पहिरो, चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमहरूलाई समेत ध्यान दिनुपर्ने कुरामा जोड दिइन् ।
प्रतिक्रिया 4