
५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षमाथि कार्यकारिणी समितिको निर्णयमा कीर्ते गरेको आरोप लगाएको छ ।
७ पुस २०७७ मा बसेको बैठकले कार्यकारिणी समिति हेरफेरको अधिकार आफूलाई दिएको र त्यसअनुसार नयाँ कमिटी बनाएको भन्दै अध्यक्ष महन्थ ठाकुर १ असारमा निर्वाचन आयोग गएका थिए । उनले कार्यकारिणी समितिको माइन्युटको कपी पेश गरेका छन्, जसमा ठाकुरलाई पहिलो वरीयताको अध्यक्ष मान्ने, कार्यकारिणी समिति पुनर्गठन गर्ने अधिकार दिने उल्लेख छ ।
तर उपेन्द्र यादव पक्षले त्यसको खण्डन गरेको छ । प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै ९ पुसमा बसेको बैठकले कार्यकारिणी समिति पुनगर्ठनको अधिकार ठाकुरलाई नदिएको प्रष्ट पारेका छन् ।
त्यसबेला भएको निर्णयमा अध्यक्षद्वय ठाकुर र यादवले हस्ताक्षर गरेर जिल्ला समितिदेखि भ्रातृ संगठनहरुलाई समेत पठाइएको भन्दै खतिवडाले भनेका छन्, हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् ।’
आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराहमा पार्ने उद्देश्यले नक्कली बैठक पुस्तिका तयार गरिएको उनको दाबी छ । यसको प्रकारको कीर्ते, जलसाजी गरी निर्णय नै नभएको विषयलाई निर्णय भनी गरिएको कार्यप्रति जसपा नेपाल खेद व्यक्त गर्दै यस्ता कीर्ते कार्यको निन्दा समेत गरिन्छ ।’
प्रतिक्रिया 4