Comments Add Comment

एउटा नेताले कति फरक पार्दछ संकटमा ?

६ असार, काठमाडौं । कोरोना महामारीबाट सबभन्दा प्रभावित मुलुकमध्ये एक अमेरिकामा सन् २०२० को डिसेम्बर मध्यबाट खोप कार्यक्रम सुरु भइसकेको थियो । खोप कार्यक्रम सुरु हुनुभन्दा एक महिनाअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि २०२० को अन्त्यसम्ममा दुई करोड डोज खोप दिने लक्ष्य सार्वजनिक गरेका थिए ।

फाइजर–बायनटेक, मोडेर्नाले विकास गरेको खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको थियो भने जोन्सन एण्ड जोन्सनको खोप पनि बन्ने अन्तिम चरणमा थियो ।

तर मानिसहरु छिट्टै खोप लगाउन पाइन्छ भन्नेमा ढुक्क थिएनन् । किनकी विश्वकै शक्तिशाली राष्ट्र भएर पनि अमेरिकाले ट्रम्पको नेतृत्वमा कोरोनाविरुद्धको लडाइँ हारेको थियो । त्यस्तै ट्रम्पले वाचा गरेअनुसारको दुई करोड डोज कोरोना खोप पनि सन् २०२० को अन्तिमसम्ममा अमेरिकामा वितरण भएन ।

ट्रम्पको लक्ष्य पूरा नहुनुको एक कारण खोप आपूर्तिको व्यवस्थापन राम्रो नहुनु नै हो । अमेरिकामा कोरोना खोपले अनुमति पाए पनि अमेरिकी राज्यमा राम्रोसँग खोप आपूर्ति हुन सकेन । त्यति मात्र होइन, ट्रम्पले कोरोना खोप वितरणको लागि संघीय निर्देशिका पनि दिन नसकेको सेन्टर फर अमेरिकन प्रोग्रेसको रिपोर्टमा उल्लेख छ ।

सो अवधिमा ट्रम्पले खोप कार्यक्रमलाई तीव्र रुपमा सञ्चालन गर्न उचित कोष पनि छुट्याएनन् । सरकारको आलोचना चौतर्फीरुपमा बढेसँगै अन्तिममा ट्रम्प केही लचिलो बनेका थिए ।

अहिले भने अमेरिकामा कोरोना खोप कार्यक्रमको अवस्था फेरिएको छ । आवर वर्ल्ड इन डेटाको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा ३१ करोड ६० लाख डोजभन्दा धेरै खोप मानिसहरुलाई दिइसकिएको छ । आफ्नो मुलुकका मानिसहरुलाई मात्र होइन, बाहिरबाट अमेरिका घुम्न आउनेलाई पनि अमेरिकाले कोरोना खोप दिने गरेको छ । जसको कारण खोप लगाउनका लागि नै मानिसहरु अमेरिका जाने क्रम पनि सुरु भएको पाइएको छ ।

अमेरिकाले जुन महिनाभित्र ८ करोड डोज कोरोना खोप अन्य मुलुकमा पठाउने बताएको छ भने अर्को वर्षसम्ममा ५० करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ । खोपमा पाएको अमेरिकी सफलताको श्रेय राष्ट्रपति बाइडन र उनको प्रशासनलाई जान्छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचन जितेका बाइडनले कार्यभार सम्हाल्नुअघि नै महामारी नियन्त्रणको लागि आवश्यक तयारी सुरु गरेका थिए । उनले त्यसका लागि आवश्यक योजना बनाउन आफ्नो टोलीलाई निर्देशन दिएका थिए ।

जब ट्रम्पको कुर्सीमा बाइडन आइपुगे, तब कोरोनाविरुद्ध लड्ने अमेरिकी सरकारको चरित्र र कार्यशैली दुवै फेरियो । कोरोना संक्रमणलाई राज्यले गम्भीर रुपमा लिन थाल्यो, नियन्त्रणलाई प्राथमिकतामा राख्यो र व्यवस्थापनलाई चुस्त बनायो ।

जनवरी २१ मा पदभार ग्रहण गरेका उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट बाहिरिने ट्रम्पको निर्णय उल्ट्याए र आफ्नो सय दिनमा मानिसहरुलाई १० करोड डोज कोरोना खोप दिने घोषणा गरे ।

उनले निर्वाचन प्रचारका क्रममा वाचा गरेअनुसार नै संक्रमण नियन्त्रण गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । त्यसका लागि बाइडनले आवश्यक कोष जुटाउँदै स्वास्थ्य सामग्री खरिद, कोरोना परीक्षणमा विस्तारलगायतका निर्णय गरे । बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिन नै ट्रम्पको पालामा रोकिएका कोरोना महमारी नियन्त्रणका महत्वपूर्ण कदम चालेका थिए ।

बीबीसीका अनुसार बाइडनले आफ्नो पहिलो कार्यकारी आदेश नै कोरोना नियन्त्रणका लागि महत्वपूर्ण थियो । उक्त आदेशमा बाइडनले स्वास्थ्य सामग्रीको आपूर्तिमा समस्या आउन नदिन सबै कानुनी निकायको प्रयोग गर्न निर्देशन दिएका थिए । यसले पीपीई, परीक्षण किट र खोप उत्पादक कम्पनीलाई आफ्नो उत्पादन बढाउन बाटो खुल्यो ।

उनले कोरोना परीक्षण बढाउन एक बोर्ड स्थापना गरे र कोरोना खोप वितरणको असमानता कम गर्न कोभिड–१९ हेल्थ इक्विटी टास्क फोर्स बनाए । जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिएका बाइडनले सार्वजनिक यातायात, हवाईजहाज, रेलमा मास्क अनिवार्य गर्न लगाए । अमेरिका प्रवेश गर्दा कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम अनिवार्य भयो ।

बाइडनले १९ खर्ब डलरको कोरोना राहत प्याकेज ल्याए, जसमध्ये ४ खर्ब डलर कोरोना खोप र परीक्षणका लागि थियो । फोब्र्स पत्रिकाका अनुसार बाइडनले आफूहरुसँग धेरै समय नभएकाले जतिसक्दो छिटो कोरोना नियन्त्रणमा लाग्नुपर्ने बताएका थिए ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बाइडनले आफ्नो पहिलो सय दिनको कार्यकालमा यसअघिका तीन राष्ट्रपतिले भन्दा धेरै कार्यकारी आदेश जारी गरेका छन्, जसमा कोरोना नियन्त्रणसँग सम्बन्धित धेरै आदेशहरु थिए ।

त्यस्तै बाइडनले कोरोना खोप खरिद प्रक्रियालाई पनि अघि बढाए । त्यसक्रममा उनले केही कम्पनीसँग सम्झौता गरे । १०० दिनमा १० करोड डोज कोरोना खोप लगाउने बाइडेनको घोषणा सुरुमा निकै महत्वाकांक्षी लागेको थियो । तर उनले यसरी काम गरे कि त्यो लक्ष्य तोकिएभन्दा आधा समयमै पूरा भयो । त्यसपछि उनले सोही समयमा २० करोड डोज खोप दिने लक्ष्य राखे । त्यो लक्ष्य पनि तोकिएको समयभन्दा एक साताअघि नै पूरा भयो ।

बाइडन प्रशासनले ४ जुलाईभित्र १६ करोड मानिसलाई कोरोनाको दुवै डोज खोप लगाउने लक्ष्य लिएको छ । र, यो लक्ष्यमा पनि सफलताको नजिक पुगेको छ । अहिले अमेरिकामा १४ करोड ८४ लाखभन्दा धेरैले कोरोना खोपको दुवै डोज लगाइसकेका छन् भने दुई करोड ७८ लाख मानिसले पहिलो डोज मात्र लगाएका छन् ।
अमेरिकामा औसतमा दैनिक नयाँ संक्रमितको संख्या सन् २०२० को मार्चयता पहिलो पटक १० हजारभन्दा कममा झरेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि दैनिक चार सयभन्दा कममा झरेको छ । अर्थात, बाइडनको आगमनसँगै अमेरिकाले पाँच महिनाभन्दा कम समयमा कोरोना नियन्त्रणमा ठूलो फड्को मारेको छ ।

देशलाई नेतृत्व गर्ने एउटा नेता फेरिँदा उसको कार्यशैली, प्राथमिकता र व्यवस्थापन कौशल सबै फेरिने रहेछ । राम्रो नेतृत्व र उचित व्यवस्थापन प्रणाली विकास गर्न सके जटिल महामारीलाई पनि नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण अमेरिकाले दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरन्जीवी आचार्य

ट्रेन्डिङ

Advertisment