+
+

९९ केन्द्रीय सदस्य थप्दै माओवादी, ४० वर्षमुनिका युवालाई प्राथमिकता

विनोद घिमिरे विनोद घिमिरे
२०७८ असार ७ गते ८:४८

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ ।

एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।

संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने।

केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए ।

केन्द्रीय सदस्यको नाम सङ्कलन जारी

केन्द्रीय समितिमा क-कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । ‘प्रदेश कमिटीबाट सुझाव आउने क्रम जारी छ,’ नेता शर्माले भने, ‘यो काम आज (सोमबार) नै सकिन्छ होला ।’

सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।

एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व नेताहरु ।

यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय नै हुने बताएका थिए । कार्यदल सदस्य यादवले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन त्यसै अनुसार सुझावहरु समेटिएको बताए । केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।

एक समय माओवादीमा ४ हजार बढी केन्द्रीय सदस्यहरु थिए । २०७५ जेठ ३ गते दुई पार्टी (एमाले र  माओवादी केन्द्र) एक भएर बनेको नेकपामा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बनेका थिए ।

२०७७ फागुन २३ मा सर्वोच्चले पार्टी एकता बदर गरिदिएपछि गत चैतमा बसेको माओवादीको केन्द्रीय समिति बैठकमा १ सय ८५ जना उपस्थित थिए । सो बैठकमा १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरुको मृत्यु भएको जानकारी गराइएको थियो ।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । अब उनीहरु नफर्किने निष्कर्षसहित रिक्त भएको स्थानमा पनि पदपूर्ति गर्ने तयारी माओवादीको छ ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?