Comments Add Comment

अफगानिस्तानमा हिंसा बढेपछि अमेरिकी राष्ट्रपतिसँग भेट्दै घानी

७ असार, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असर्फ घानी र अमेरिकी समकक्षी जो बाइडनबीच आगामी शुक्रबार भेटवार्ता हुने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भेटको क्रममा उनीहरुबीच अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने र अहिले अफगानिस्तानमा बढ्दो क्रममा रहेको हिंसाको विषयमा छलफल हुनेछ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उक्त भेटमा बाइडनले अफगानिस्तानलाई कूटनीतिक, आर्थिक र मानवीय सहायता जारी राख्ने आश्वासन दिने बताएको छ । बाइडनले यसअघि पनि अफगानिस्तानलाई चरमपन्थी संगठनको लुक्ने स्थान बनाउन नदिने बताउँदै आएका छन् ।

अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिरहेको छ । आगामी सेप्टेम्बर ११ सम्ममा आफ्ना सबै सैनिक फिर्ता गर्ने अमेरिकाले बताएको छ ।

तालिबानले भने अफगानिस्तानका राष्ट्रपतिको अमेरिका भ्रमण अर्थहीन रहेको बताएको छ । तलिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले उनी आफ्नो शक्ति र व्यक्तिगत स्वार्थको रक्षाको लागि अमेरिका जान लागेको भन्दै यसले अफगानिस्तानका जनतालाई भने केही फाइदा नहुने बताएका छन् ।

अहिले अफगानिस्तानका प्रतिनिधि र तालिबानबीच कतारमा वार्ता भइरहेको छ । तर, उनीहरुको वार्ता निकै सुस्त गतिमा अघि बढिरहेको छ । तालिबानले आइतबार आफूहरु शान्ति वार्तामा प्रतिबद्ध रहेको तर अफगानिस्तानमा ‘असली इस्लामिक प्रणाली’ स्थापना हुनुपर्ने बताएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment