Comments Add Comment

उपन्यास अंश : थाङ्ग्रा

साहित्यकार प्रगति राई

राति पिसाबले टनटन पोल्यो सायालाई । मोबाइलमा समय हेरी, तीन बज्नै लागेको रहेछ । सोमालाई साथी मागी । मरिगए उठिन । नुमा झन् कक्रिएर उठ्नै सकिन । साया डराउँदै बाहिर बार्दलीमा निस्किई । ऊ अत्तालिएर कराई,  ‘आम्मा… ।’

साया चिच्याएको सुनेर नुमा निद्रैमा बौलाएर चिच्याई, ‘सायालाई बाहिर के भो ? बाघले झम्ट्यो कि ? साया बाहिर के भइसक्यो ।’

त्यस्तो केही होइन भन्दै आमालाई थम्थमाउन साया भित्रै पसिसक्दा पनि नुमा अतालिन छाडिनँ । झन् कुरा थपेर कहालिन लागी, ‘लौ न मेरो छोरीलाई बाघले लग्यो । मेरो छोरीलाई बाघले लग्यो ।’

सायाले बत्ती बाली । अरु पनि त्यहीं घेर्न आएका थिए । तर सायालाई केही भएको थिएन । सबैले छक्क परेर सोधिरहेका थिए, ‘के भो ?, के भो ?’

साया बोल्न सकिरहेकी थिइन । नुमा अत्तालिएर लड्दै उठ्दै, फर्काइफर्काई हेरी छोरीलाई ।

सोमाले झर्केर भनी, ‘ह्या ममी, सायालाई बोल्न दिनू । के भो भन् ।’

सबैजना अतालिएकाले होला, साया पनि अलिअलि काँपिरहेकी थिई । ऊ काँप्दै नै बोली, ‘बाहिर यस्तो राम्रो भ्यू छ कि, मैले जिन्दगीमा कहिल्यै यस्तो देखेकै थिइनँ ।’

‘कस्तो ?’

सबै जना कौसीमा निस्किए । वारिपारि गाउँ छिनामखु र माथि मझौलेदेखि तल केराबारीसम्म टम्म बादल लागेको थियो, मकैको हरिया बिरूवाहरुमा चहकिलो जूनको दृश्य यति मनमोहक थियो कि के भन्नु र खै ! मानिसका चरम अनुभूति दर्शाउने शब्दै बनेको छैन ।

‘यात्राको अर्थ हिंड्नु हो । निरन्तर हिंडिरहनु हो । बसेर कुनै यात्रा हुँदैन,’ पाबी बोल्दै अगाडि लाग्यो । साया हिंड्न नसकेर गोडा घिसार्दै थिई ।

दीपकले क्यामेरा लिएर निस्कियो । फोटो लियो । तर साँच्चैको दृश्य जस्तो आउँदै आएन । सबैले मोबाइलले खिचे, तैपनि आँखाले देखे जस्तो दुरूस्त आएन । अन्ततः साया क्यानभास लिएर बसी । त्यो दृश्यको उत्तेजनाले सायाको आँखा रसाएछ । आँखा पुछ्दै स्केच उतार्न लागी ।

सबै सुत्न पसे । छोरीलाई साथी बन्न नुमा सिरक बोकेर कौसीमै गई । रमेश फोनको होल्डमै थियो । सायाले फोनको आवाज बाहिर ल्याई । रमेश बोल्यो, ‘मुआ नमस्कार । सायाले खुबै दुःख दिन्छे है ? यस्तै छे यो केटी मुडी ।’

छोरीको बारेमा आमाले भन्नुपर्ने शब्द अर्काले भनेपछि अलिक अनौठो लागेर नुमा अररो बोली, ‘अँ.. यस्तै छ यो ।’

‘सुत्स्यो मुआ । म साथी दिन्छु उसलाई,’ रमेशले भन्यो ।

पल्लो कोठातिर सायाकै कुरा गरिरहेका थिए, ‘मान्छे त पागलै रहेछ यार । के-के नै आपत् आइलाग्यो होला भनेको त कुहिरो लागेको देखेर पो चिच्याउँदी रछे ।’

साया हाँस्दै पेन्टिङ गरिरही ।

भोलिपल्ट ।

‘सायाजी कस्तो मीठो बोल्नुहुन्छ है !’ दीपकले फेरि दिदीकै तारिफ गरेर सोमालाई मुखमा लगाएको गुलियो दही पनि तीतो लाग्यो । उसले केही भनिन । बस्, भुइँतिर हेरी ।

सोमाले भुइँतिर हेरेको देखेर दीपक असमञ्जसमा पर्‍यो । दिदीको प्रशंसा गर्दा रिसाएकी हो वा सामान्य कुरा मानेर ऊ चुप लागेकी हो । दीपकले अरु बोल्ने आँट भने गरेन ।

सबैभन्दा अगाडि खाना खाइसकेर रामशेरले भन्यो, ‘लौरे शिकारीमा लौरो चढाउनुपर्छ । हिंड्दा दुखेको खुट्टा निको हुन्छ रे । तर लौरै पो छैन त ।’ रामशेरले एउटा झिक्रा भाँचेर चढायो । साँच्चै नै त्यहाँ थुप्रै लौरा गाडिएका थिए ।

‘आफ्नो त गर्लफ्रेन्डबाट पाएको उपहार हो, चढाउँदिनँ,’ पाबीले लौरो मुसार्दै भन्यो, ‘बरू दुखेको गोडा उसैलाई मालिस गरिमाग्छु ।’

‘यस्तो राम्रो भूवनोटको हामीले वैज्ञानिकीकरण गर्नुपर्छ । पर्यावरण स्थितिबारे खोज-अनुसन्धान गर्नुपर्छ,’ नुमाले लौरो त्यही थुप्रोमा राख्दै भनी, ‘आबोको उकालो अप्ठेरो रैछ । हातले लौरो होइन, जमिन टेकेर हिंड्नुपर्ने अकरे बाटो भएकाले लौरोले सहारा होइना, अल्झाउनु सक्ने रैछ । यसैले यहाँसम्मको दम्साइलोमा टेकेको लौरो यहीं राखेर होशियारीसाथ अगाडि बढ भनेको हुन सक्छ । कानून बन्नुअगाडि धर्मले नै मान्छेलाई डोर्‍याउने हुनाले यस्तो आहान जताततै पाइएको होला । अब ज्ञानविज्ञानको दुनियाँमा प्रवेश गरिसकेका हामीले बिस्तारै यस्ता आहानहरुको बिट मार्दै जानुपर्छ ।’

‘दिदीबाट कुरो सही आयो,’ पाबीले भन्यो ।

रामशेरले अप्ठ्यारो उकालोबारे अनुमान लगाउँदै भन्यो, ‘उकालोमा ठ्याक्कै दिउँसो पर्ने भो, हावाको बेगले अप्ठ्यारो पार्ला जस्तो पो छ त, पाबी सर ?’

भान्सेहरुले भाँडाकुँडा ढाकरमा राख्दै भने, ‘दिउँसो भए पनि दिन धुम्म छ । बतास चल्दैन । डेढ घण्टामा त पार भइन्छ ।’

स्थानीय मान्छेको अनुमान सबैभन्दा सत्य हुन्छ । यसैले उनीहरु हिंड्ने भए । पाबीले को कसको साथमा हिंड्ने भनेर मान्छे छान्यो, ‘सुरूमा दुई भान्सेहरु, त्यसपछि साया अनि पहलमान । त्यसपछि रामशेरजी अनि नुमा दिदी अनि म, त्यसपछि सानी भान्जी र उहाँहरु ।’ उहाँहरु भनेर दीपक र नरहरितिर इङ्गित गर्‍यो ।

यात्रा अगाडि बढ्यो ।

सीधै खोलातिर फर्किएर उभिएको भीरमा ‘यो बाटो हो’ भनी राम्रोसँग भन्न नमिल्ने गोरेटोमा शरीर पूरै जमिनमा निहुर्याएर हिंड्नुपर्थ्यो । कतिपय ठाउँमा त चारपाउ नै टेक्नुपर्ने स्थिति पनि । लौरो छाड्नुपर्ने अनुमान नुमाले ठीकै लगाएकी थिई । त्यस्तो अप्ठ्यारोमा आफ्नै लौराले ठेलेर लडाउन के बेर ?

बायाँतर्फ हेर्न मनाही गरियो । सीधै नाङ्गो भीर थियो । रिंगटा लाग्ने सम्भावना भएकाले दायाँ भित्तोपट्टि मात्र हेर्नू भनियो ।

सपनामा ऐंठन परे जस्तो हिंडाइ, भित्तालाई मात्र हेरेरे पाइला चालिरहेको असिनपसिन अवस्थामा पाबी बोल्यो, ‘ठूली भान्जीलाई चित्र कोर्न मन लागेको छैन ?’

सबै जना डराईडराई हाँसे । मन खोलेर हाँस्नु पनि आफ्नै हाँसोले उडाएर ठेल्ला भन्ने पीर ।

डरले सासै फेर्न गाह्रो गरिरहेकी सायाको फोटो खिच्न खोज्यो, दीपकले । मिलेन । मखमली फूलको माला जस्तो आकार मिलेर हिंड्नुपर्ने बाटोमा पाबीको ढाडले अगाडिका सबै मान्छे छेलिएका थिए ।

सोमाले दीपकतिर हात लम्काई । ऊ चाहन्थी, दीपकले हात समाएर डोर्‍याओस् । तर उसले बुझेन । पिलिक्क हेर्‍यो मात्र ।

सोमा एक्लै गनगनाई, ‘कस्तो दुम्बा हो । क्यै नबुझ्ने ।’

‘हजार ? कस्तो ढुङ्गा भन्नुभएको ? खै मैले त देखिन तौ ।’

सोमा दिक्क मानेर हाँसी ।

पौने घण्टाको सास्तीपछि बल्ल फराकिलो चौर आयो । यो ठाउँ यस्तो गजबको थियो कि, राष्ट्रपतिलाई रेड कार्पेट बिछ्याइदिए जस्तै यहाँ यात्रीलाई स्वागत गर्न हरियो दूबोवाला फाँट बिछिएको थियो । गमलामा फूल सजाए जस्तै बाटोको मुनि रङ्गीचङ्गी गुराँस फुलेका थिए । यात्रीको सम्मानमा लस्करै हिमालहरु घुँडा मारेर होचा भइदिएका हुन् झैं लाग्थ्यो ।

यात्रीहरु आफूलाई हिमाल समानको उचाइमा पाएर दङ्ग थिए ।

दीपकले झोलाबाट रेडबुल निकालेर सायालाई दिन अगाडि सर्‍यो । सोमाले ज्याकेटबाट पछाडि तानी र रेडबुल आफूले लिई ।

दीपक खिस्स हाँस्यो ।

पौने घण्टाको सास्तीपछि बल्ल फराकिलो चौर आयो । यो ठाउँ यस्तो गजबको थियो कि, राष्ट्रपतिलाई रेड कार्पेट बिछ्याइदिए जस्तै यहाँ यात्रीलाई स्वागत गर्न हरियो दूबोवाला फाँट बिछिएको थियो । गमलामा फूल सजाए जस्तै बाटोको मुनि रङ्गीचङ्गी गुराँस फुलेका थिए ।

हावा मनग्गे चल्न सुरू गर्‍यो । रामशेरको जीउमा टाँसिएका झ्याँसहरु फुरूरू उड्यो अनन्त । सायाले लडीलडी नै बहिनीलाई अह्राई, ‘सोमे, हाम्रो जीउबाट धूलो उड्दै गरेको भिडियो बनाइदे न, एक मिनेट । म फेसबुक स्टोरीमा हाल्छु ।’

क्यामेरा दीपकसँग थियो । भिडियो अन गर्‍यो । सलहको हुलजस्तो हावाले फुरूरू उडाएर झ्याँसहरु हिमालको क्यानभासमा अनन्त हराइरहेका थिए । जसरी मानिसहरु जवान भएपछि घर छाडेर हराउँछन्, परदेशतिरै ।

‘यात्राको अर्थ हिंड्नु हो । निरन्तर हिंडिरहनु हो । बसेर कुनै यात्रा हुँदैन ।’ पाबी बोल्दै अगाडि लाग्यो । साया हिंड्न नसकेर गोडा घिसार्दै थिई । पहलमान पनि थाकेछ र सायालाई त्यति वास्ता गर्न छाडेको थियो । दीकपले ‘म एकछिन बोक्नुपर्ला’ भनेर अगाडि गयो । सोमाले नबोली ज्याकेटबाट पछाडितिरै तानी ।

सोमालाई हेरेर मुसुक्क हाँसेर दीपकले भन्यो, ‘तपार्ईंलाई बोकौं त ?’

सोमाले लजाएर स्वीकारोक्तिको मुन्टो हल्लाई ।

साया हिंड्न पनि सक्दिनँ । उसैले गर्दा यात्रामा झमेला पनि आइरहेको थियो । तर सबैले उसैलाई नै ध्यान दिइरहेकाले सोमालाई भित्रभित्रै ईर्ष्या जस्तो महसुस भइरह्यो । ऊ त्यो भावनालाई भरसक दबाउन प्रयास गरिरहेकी थिई । दीपक घरीघरी सायातिरै लम्किएकाले झन् सोमालाई हिमाल, गुराँस, हरियो फाँट केहीसँग रमाइलो लागेकै थिएन । ऊ आफ्नो बेचैनी दबाउन अगाडि लौरे भीरको पत्रे चट्टान नियालिरहेकी थिई ।

लौरे उकालोको फेदमा खाना पाकेको रहेछ । मकैचामलको भात, दही, साग अनि फिलिङ्गोको अचार । सायाले बटुका लिएर खाना थापी । भान्सेले सिंगान तान्दै भन्यो, ‘बैनी अचार मात्र खाने ?’

साया हाँसी र भनी, ‘भए जति सबै लगाइदिनोस् न,  दाइ ।’

‘देउतालाई चढाए जस्तो ?’ पाखुराले सिंगान पुछेर भान्से पनि हाँस्यो ।

पाबीले भान्सेलाई गाली गर्‍यो, ‘भाइ, भान्से भएर सिंगान तान्नुभएन है । सफा हुनुपर्‍यो,’ पाबीले पनि बोलिसकेर सिंगान नै तान्यो ।

चिसो सिरेटोले नाकबाट पानी सुलुलु बग्थ्यो सबैको । ‘माफ पाऊँ, दाइ,’ भान्सेले नाक पुछ्दै भन्यो, ‘नतान्ने हो भने त सिंगान फालेर बस्दै ठीक्क हुन्छ । क्यै गर्न भ्याइन्न ।’

सायाले बटुकाको खाना खाइसकेर भनी, ‘कुन मसला हालेर पकाउनुहुन्छ हो दाइ ? यस्तो टेस्टी त मैले कहिल्यै खाएकै थिइनँ ।

‘त्यै जिरासिरा, लसुनससुन त हो, बैनी ।’

नुमा बोली, ‘गाउँबाट पहिलोचोटि काठमाडौं जानेलाई खाना नमीठो भएर सजाय जस्तै हुन्छ । स्वादै बेगरको खान सिक्नु ठ्याक्कै एक वर्ष लाग्छ । अनि जिब्रो लाटिएपछि त जे हाले पनि भयो । बस्, नरम चाहियो ।’

‘आमा ! हामी एउटा घर बनाएर यतै बसौं न,’ सायाले फेरि खाना थपेर खाँदै भनी, ‘यो भ्युज, यो खानाको टेस्ट लाइफमै पहिलो मीठो अनुभव भइरहेछ । कसरी बिर्सने यो ठाउँलाई ।’ उसले रामशेरलाई पनि धन्यवाद दिई, ‘दाजु तपाईंको कृपाले मैले यो सुन्दर अनुभव गर्न पाएँ । धेरै धन्यवाद छ ।’

(राईको प्रकाशोन्मुख उपन्यास ‘थाङ्ग्रा’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment