Comments Add Comment

गाडीको व्यापार गत वर्षजस्तै बढ्ने बिक्रेताको आशा

७ असार, काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै आइतबार, मंगलबार र बिहीबार अब सवारी साधन विक्री गर्ने पसल खुल्दैछन् । योसँगै सवारी साधन आयातकर्ता, विक्रेतासहित लुब्रिकेन्टस स्पेयर्स पार्टस् व्यवसायी गत वर्षकै जस्तो अवस्था दोहोरिने आसमा छन् ।

२०७६ चैतबाट सुरु भएर २०७७ असारमा लकडाउन खुल्दा निजी प्रयोजनका सवारीको माग अत्यधिक दरमा वृद्धि भएको थियो । मागअनुसार आपूर्ति गर्न समेत नसकिने अवस्थामा व्यवसायीहरु पुगेका थिए ।

लकडाउनपछि दुई पांग्रे सवारीको माग उच्च दरमा बढेको थियो । दशैंपछि चार पांग्रे सवारीको माग पनि त्यसैगरी बढेको थियो ।

गत वैशाख  १६मा काठमाडौंका निषेधाज्ञा सुरु हुनुअघि पनि चार पांग्रे सवारीको माग विगतको तुलनामा करिब १.२५ गुणा बढेको थियो । धेरैजसो आयात तथा बिक्रेता कम्पनीलाई ‘बुक’ भएका गाडी डेलिभरी गर्न दुई महिनासम्म लाग्नसक्ने अवस्था थियो ।

नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल यो वर्ष पनि सवारीसाधनको माग गत वर्षको जस्तै उच्च रुपमा बढ्ने अपेक्षा गरिएको बताउँछन् ।

‘गत वर्ष लकडाउन खुलेपछि सुरुमा मोटरसाइलको व्यापारमा वृद्धि भएको थियो,’ उनले भने,’चाडबाड नजिकिएपछि चार पांग्रे सवारीको माग पनि बढेको थियो, यो वर्ष पनि बजारमा मागको अवस्था गतवर्षको जस्तै हुन्छ भन्ने अपेक्षा छ ।’

गत वर्षबाट निजी सवारीको व्यापार बढ्नुको कारणबारे सबैजसो बिक्रेताको समान विश्लेषण छ-स्वास्थ्य जोखिम । महामारीको समयमा सार्वजनिक सवारीको यात्रा जोखिमपूर्ण हुने भएपछि निजी सवारी किन्न चाहानेहरु बढेको उनीहरुको बुझाइ छ ।

निषेधाज्ञा अघिससम्म विशेष गरी तल्लो र मध्यम मूल्यका सवारीको माग बढी थियो ।  कोभिड- १९ रहिन्जेल सकेसम्म सार्वजनिक सवारीमा नचढौं भन्ने मनसायले आफ्ना सवारी किन्नेहरु बढ्ने गरेका छन् । यस वर्ष पनि निषेधाज्ञा खोल्दा जोरविजोर प्रणाली लगाएका कारण गत वर्षजस्तै दुई पांग्रे सवारीको माग ह्वात्तै बढ्ने अनुमान गरिएको नाडाले जनाएको छ ।

मान्छेहरु अहिले पनि कोभिड-१९ प्रति सचेत भएर आफ्नै सवारीको जोरजाम गर्न लाग्ने र निषेधाज्ञाका बेलामा रोकिएको मागको चाप पनि बजारमा पर्ने अनुमान व्यवसायीको छ ।

हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक दीपक थपलिया सोरुमहरु खोल्न तयारी हुँदै गरेको र सुरुमा केही समय बजार सामान्य अवस्थामा रहने अनुमान गरिएको बताउँछन् ।

‘गत वर्षजस्तै अवस्था रहे भदौपछि बजारमा माग बढ्न सक्छ,’ उनी भन्छन्,’ गत वर्षबाट भारतको बजारमा पनि उत्पादन, माग र आपूर्तिबीच केही तादम्यता मिलेको छैन, त्यसको असर पनि नेपाली बजारमा पर्नसक्छ ।’

उनले यो वर्ष पनि चाडबाडको मौसममा अटो बजार गत वर्षहरुमा जस्तै चलायमान हुने अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment