Comments Add Comment

प्रदेश १ को बजेटमाथि छलफल : सत्तापक्षकै सांसदको असन्तुष्टि

७ असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमाथि छलफल सुरु भएको छ । सोमबारको छलफलमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले बजेट फजुल खर्चमा केन्द्रित भएको बताएका छन् । सत्ता पक्षका सांसद राजेन्द्र राई र लछुमन तिवारीले अनुदानमा आधारित भएर आएको बजेट फजुल खर्चमा केन्द्रित भएको बताए ।

नेकपा एमालेका सांसद राजेन्द्र राईले कर्मचारीले बनाएको बजेट फजुल खर्चमा केन्द्रित भएको बताए । कर्मचारीले बजेट बनाएका कारण वास्तविकतामा आधारित नभएको उनको भनाइ थियो । ‘हाम्रा अर्थमन्त्री जुन पृष्ठभूमिबाट आउनु भयो, उहाँहरुले लेख्नु भएको भए यस्तो आउँछ भन्ने विश्वास लाग्दैन, आशा पनि थिएन,’ उनले भने, ‘पढ्नु भएकोमा पूरापुर धन्यवाद छ ।’

‘अघिल्लो वर्षको बजेटको विनियोजनको विषयमा मुख्यमन्त्रीको र तत्कालीन मन्त्रीबीच सवाल–जवाफ भयो । मिलेको बेला बनाएको बजेटमा दोहोरी भयो,’ उनले थपे, ‘छाडेर जानेलाई प्रश्न हुँदैन, अर्थमन्त्री (तत्कालीन आर्थिक मामिलातन्त्री इन्द्रबहादुर आङ्बो)लाई मात्र दोष दिएर मुख्यमन्त्रीले बजेट विनियोजनको जिम्मेवारीबाट भाग्न मिल्छ होला र ?’

नेकपा एमालेका सांसद लछुमन तिवारीले अनुदानमा केन्द्रित बजेट परिचालन गर्न प्रदेश सरकार डराएको देखिएको बताए । विकास केन्द्रित बजेट हुनुपर्नेमा प्रदेशले छरिएको योजनालाई समेटेको उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले राखेको आर्थिक वृद्धिदर लक्ष्य अहिलेको बजेटले नभेट्ने बताए ।

‘अर्थतन्त्र चलायमान बनाउने योजना बजेटमा छैन,’ पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बोले भने, ‘३२ अर्बको बजेटमा आधा पैसा चालु खर्चमा छ, संघीय सरकारलाई जितेर कसरी ६ प्रतिशत आर्थिक वृद्धिदर लेखिन्छ ? यो भयानक अज्ञानता हो । कार्यान्वयन असम्भव छ ।’

नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले विगतको बजेटका धेरै विषय दोहोरिएको बताए । बजेटमा राख्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको उनले बताए । निद्रामा देखिएको सपना कार्यान्वयन नभएजस्तै प्रदेश सरकारको बजेट पनि कार्यान्वयन नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment