Comments Add Comment

निधिले बढाए सक्रियता, संस्थापनइतरका युवा नेतासँग भेट्दै

७ असार, काठमाडौं । अगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेताहरुसँग भेटघाट बढाएका छन् ।

संस्थापन समूहबाटै सभापति शेरबहादुर देउवाको समर्थन नपाउने भएपछि निधिले अन्य समूहका नेताहरुसँगको छलफललाई तीब्रता दिएका हुन् ।

शुक्रबार दिउँसो आफ्नै निवासमा सभापतिका आकांक्षी महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग छलफल गरेका निधिले अहिले युवा नेताहरुसँग छलफल गरिरहेका छन् ।

उनले बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा संस्थापनइतरका केन्द्रीय सदस्यसँग छलफल गरिरहेका एक नेताले बताएका छन् । छलफलमा निधिसहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, दीपक गिरी, बद्री पाण्डे, सरिता प्रसाईं, प्रदीप पौडेल, गगन थापा र गुरुराज घिमिरे सहभागी छन् ।

संस्थापन समूहकै नेता निधिले आफ्नो समूहका कुनै पनि केन्द्रीय सदस्यलाई खबर गरेका छैनन् । निधिले संस्थापन समूहबाट आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहेपनि देउवाले आफैं दोहोरिने इच्छा राखेका छन् । देउवाले सातै प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन् ।

सभापतिका आकांक्षी निधि, सिंह र कोइरालाबीचको दुई घण्टा लामो छलफलमा आगामी महाधिवेशनमा नेतृत्व चयनकै विषयमा छलफल केन्द्रित भएको ती नेता निकट स्रोतले बताएको छ । बैठकमा सभापति देउवाको विकल्पका बारेमा छलफल भएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment