Comments Add Comment

अन्तरजातीय बिहे छुटेपछि ‘आत्महत्या’, दुरुत्साहन मुद्दा चलाउन माग

७ असार, विराटनगर । भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी) मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन अधिकारकर्मीले माग गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले वडाध्यक्ष झङ्कबहादुर रोकाको रोहबरमा ठटाललाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिनेलाई आत्महत्या दुरुत्साहनको मुद्दामा कानुनी कारबाही गर्न माग गरेका हुन् । ठटाल जेठ १५ गते मृत भेटिएका थिए ।

भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी) ट्याक्टरमा मजदुरी गर्थे । विपन्न परिवारका संगमको षडानन्द–१३ बोयाकै श्रेष्ठ थरकी किशोरीसँग प्रेम थियो । जेठ १० गते उनीहरुबीच प्रेम विवाह भयो ।

भोलिपल्ट किशोरी खोज्दै प्रहरी, जनप्रतिनिधि र आफन्त संगमको घर पुगे । दुवैलाई प्रहरी चौकी बोयामा झिकाइयो । संगम र किशोरीले राजीखुसी विवाह गरेको भन्दै छुट्न चाहेनन् । तीन घण्टाको छलफलपछि युवती १६ वर्षकी भएको भन्दै प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरका दुवैलाई आफन्तको जिम्मा लगायो ।

जेठ ११ गते दिउँसो करिब ३ बजे संगमलाई बुबा गोरखबहादुर दर्जीले घरमा ल्याएका थिए । भोलिपल्ट निस्किएका संगम दुई दिनसम्म घर नफर्किएपछि १४ गते वडाध्यक्ष झङ्कबहादुर रोकालाई सम्पर्क गरे । खोजी गर्दा १५ गते बेलुका घरदेखि करिब डेढ घण्टा टाढा रहेको जंगलमा ठटालको शव भेटियो ।

यातना दिएको आरोप

प्रहरीमा मिलापत्र गराउनुअघि ठटाललाई कुटपिट गरी धम्की दिइएको दलिक अधिकारकर्मी उमेश विश्वकर्मा बताउँछन् ।

धम्की र यातनाका कारण आत्महत्या गरेकाले वडा अध्यक्षसहितलाई दुरुत्साहनको मुद्दा चलाउन माग गर्दा प्रहरीले उजुरी नलिएको उनले बताए । घटनालगत्तै आत्महत्या दुरुत्साहनसहित जातीय भेदभाव छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को कानुनी प्रावधान अनुसार मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्दा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको उनले बताए ।

वडाध्यक्ष रोकाले भने कक्षा ८ मा अध्ययनरत किशोरी १६ वर्षकी भएकाले दुवै पक्षलाई छलफलमा बोलाएर आफन्तको जिम्मा लगाइएको बताए । दुवै पक्ष राजी भएपछि प्रहरीले जिम्मा लगाएको तर ठटालको मृत्युपछि अनेक आरोप आएको उनले बताए ।

‘केटी सानै भएका कारण छलफलमा जिल्ला प्रहरी कार्यालय लैजाने कुरा पनि भएको थियो,’ उनले भने, ‘जिल्ला जान नमानेका कारण अभिभावकलाई जिम्मा लगाइएको हो, युवकलाई यातना दिइएको जस्तो लाग्दैन ।’

जिल्ला प्रहरी कार्यालय, भोजपुरका डीएसपी कृष्णकुमार चन्दले पनि किशोरी विवाह गर्ने उमेरकी नभएका कारण आफन्तको जिम्मा लगाइएको बताए । मृतकका दाजु केदार दर्जी भने तल्लो जात भएकै कारण छुटाएर लगेकाले भाइले आत्महत्याको बाटो रोजेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment