Comments Add Comment

युरोकप : नेदरल्याण्ड्सको शतप्रतिशत जित, अष्ट्रिया पनि नकआउट राउण्डमा

८ असार, काठमाडौं । नेदरल्याण्ड्सले युरोकप २०२० को समूह चरणमा शतप्रतिशत जित हात पारेको छ ।

सोमबार भएको समूह सी को अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनियालाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदान योहान क्रुफ एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि जर्जिनिओ विज्नाल्डमले दुई गोल गरे ।

यस्तै मेम्फिस डिपाएले एक गोल गरे ।

खेलको २४औँ मिनेटमा डिपाएले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा विज्नाल्डमले दुई गोल गर्दा दुवै असिस्ट डिपाएले गरे। विज्नाल्डमले ५१औँ र ५८औँ मिनेटमा गोल गरे।

यसअघि नै लगातार दुई खेल जित्दै नेदरल्याण्ड्सले नकआउट राउण्डमा स्थान बनाईसकेको थियो ।

डेब्युटान्ट नर्थ मेसेडोनिया भने समूहको सबै तीन खेल हार्दै बाहिरिएको छ ।

यसै समूहको अर्को खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रिया समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।

सोमबारै भएको खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो ।

अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनर २१औँ मिनेटमा डेभिड अलावाको पासमा गोल गरे ।

समूहमा दोस्रो जित हात पारेको अष्ट्रियाले ६ अंक जोड्दा युक्रेनले ३ अंक मात्र जोड्यो । युक्रेनले नकआउट राउण्डमा पुग्न भने अन्य समूहका खेलको नतिजा पर्खनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment