Comments Add Comment
निषेधाज्ञाको मार :

कोरोना महामारीको मारमा काठमाडौंका खुद्रा व्यवसायी

८ असार, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गत चैतमा काठमाडौं नरदेवीका सुमन गौडेलले किराना पसल छोडे । चार वर्षदेखि चलाउँदै आएको सुमन कोल्ड स्टोर बन्द गरेर बसेका उनी वैशाख दोस्रो साता सुरु भएको निषेधाज्ञाको अघिल्लो दिन पुर्ख्यौली घर तनहुँ फर्किए ।

अघिल्लो पटकको लकडाउन र निषेधाज्ञाका कारण बढेको ऋण झन् थपिन्छ भन्ने डरले पसल सधैंका लागि बन्द गरे घर फर्किएको सुमनले सुनाए । ‘सपरिवार खान र बस्न त परको कुरा अघिल्लो पटकको लकडाउनमा भएको व्यापारले भाडा तिर्न पनि पुगेन, खुद्रा पसल चलाएकै कारण ऋण लाग्यो,’ सुमनले अनलाइनखबरसँग भने ।

सामान्य अवस्थामा दैनिक १५ घण्टा चलाउँदा मुश्किलले श्रीमान-श्रीमती पालिन पुगेको पसलले महामारीमा माड नलाग्ने भएपछि घर फर्किएर खेतीपाती गरिरहेको गौडेलको भनाइ छ । ‘पसल भाडा १५ हजार, कोठा भाडा ७ हजार तर महिनाको कमाइ २० हजार पनि भएन, बाध्य भएर काठमाडौं छोडें, समय राम्रो भयो भने अब जागिर गर्ने हो,’ सुमनले भावी योजना सुनाउँदै अब फेरि किराना व्यवसायमा नफर्किने बताए ।

०००

किराना पसलबाट गुजारा नचलेपछि कीर्तिपुरकी गंगा सिग्देल पनि खुद्रा व्यापारबाट बाहिरिइन् । विदेशमा रहेका श्रीमान् चार महिनादेखि वेतलबी बन्नु र यता निषेधाज्ञाले पसल नचल्नुको दुवै मार उनलाई एकैपटक पर्यो । पसलमा नयाँ सामान राख्न समेत नसक्ने अवस्थापछि उनले पसल छोडिन् । परिवारकै सल्लाहमा गाउँको विद्यालयमा छोरीलाई भर्ना गर्ने गरी उनी पसलको रासन र डेराको झिटीगुन्टा बोकेर निषेधाज्ञाकै बीचमा रसुवास्थित घर पुगिन् ।

०००

नयाँ बानेश्वरमा खुद्रा पसल गर्ने दीपक रुपाखेती (नाम परिवर्तित) ले गत भदौमा किराना पसल बन्द गरे । उनलाई चार रुपैयाँ महँगोमा चिनी बिक्री गरेको अभियोगमा वाणिज्य विभागले बजार अनुगमनका क्रममा मुद्दा चलाएको थियो ।

पलायनको बाटो रोज्नुको कारण सुनाउँदै उनले भने, ‘होलसेलले दिएको बिलमा भएको गल्तीलाई टेकेर मलाई ठूलो जरिवाना हानियो, वर्षभरि हुने कमाइ एकै झट्कामा गयो, नाफा के नै छर यो व्यवसायमा साना भनेर हेपियो ।’ नजिकै खुलेको नयाँ मार्टका कारण व्यापार चौपट भएको र त्यसमाथि सरकारले डण्डा चलाएपछि बाध्य भएर बाहिरिनु परेको उनको गुनासो छ ।

०००

कोभिड माहमारी कालमा खुद्रा व्यापार छोड्ने उनीहरु केही प्रतिनिधि पात्रहरु हुन् । नेपाल खुद्रा व्यापार संघका अनुसार कोरोना महामारीको समयमा जारी गरिएको निषेधाज्ञाका कारण खुद्रा व्यापार छोड्नेहरुको संख्या १८ सय हाराहारी छ ।

खाद्यान्न र तरकारीसहितको खुद्रा किराना पसल सञ्चालन गर्नेहरुले व्यवसाय छोडेको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले बताए । ‘पहिलो लकडाउन अघि चार हजारको संख्यामा संघमा आबद्ध साथीहरु अहिले २२ सयमा झरेका छन्,’ केन्द्रीय कार्यकारी सदस्य अधिकारीले अनलाइनखबरसँग भने ।

संघका महासचिव अमुलकाजी तुलाधर पनि व्यवसायमा आएको मन्दीका कारण खुद्रा व्यवसायीहरु विस्थापित भएको बताउँछन् । कोरोना महामारी, सरकारी नीति, उपभोक्ताको खर्च गर्नसक्ने क्षमतामा आएको ह्रासको शिकार खुद्रा व्यवसायीहरु भएको उनको भनाइ छ ।

किन विस्थापित भए खुद्रा व्यवसायी ?

दैनिक सानो मात्रामा कारोबार गर्ने र सानै आम्दानीमा परिवार चलाउने खुद्रा पसलको आम्दानी निषेधा र लकडाउनकै कारण खर्च धान्ने अवस्थासमेत नभएको पाइएको महासचिव तुलाधर बताउँछन् ।

पहिलो चरणमा निषेधाज्ञामा मार्ट र खुद्रा पसल सञ्चालनमा राज्यले फरक नीति अख्तियार गर्दा मार्टले कमाउने र खुद्रा पसल बन्द हुने अवस्था देखिएको उनले बताए । ‘लकडाउन भने पनि राज्यले मार्ट र हामीलाई विभेदकारी नीति लियो, किराना पसललाई निश्चित समय तोक्दा प्रतिस्पर्धा पनि धेरै भयो,’ महासचिव तुलाधरले भने ।

महामारीले आम्दानीका स्रोत खुम्चिएपछि उपभोक्ताहरुले गर्ने खर्च घटेको र धेरै मानिसहरु काठमाडौंबाट विस्थापित हुँदा कारोबार २० प्रतिशतसम्म घटेको केन्द्रीय कार्यकारिणी सदस्य अधिकारी बताउँछन् । पसलमा भएका खाद्यान्न बिक्री नहुने र नयाँ सामान पनि होलसेलबाट झार्न नसकिने अवस्थाले कतिपय पसलहरु सदाका लागि बन्द भएको अधिकारीको भनाइ छ ।

होलसेलको बदमासी पनि खुद्राले खेप्नु पर्ने र दुई हजार आम्दानी गरेर १० हजार जरिवाना तिर्नुपर्ने भएपछि पेशा छाडेर मानिसहरु हिंडेको जानकारी संघमा आएको अधिकारीले बताए । ‘बजार अनुगमन र नियमनमा पनि राज्यले मार्छ, ग्रोसरी र खुद्रामा पनि विभेद छ,’ उनले भने ।

कस्ता व्यवसायी विस्थापित ?

सानो लगानीका खुद्रा व्यवसायी र टाढाका उपभोक्ता पनि आउन सक्ने पसलहरुलाई निषेधाज्ञा र लकडाउनले बढी प्रभावित बनाएको संघको भनाइ छ । यस्तै आफ्नै घरको सटरमा खुद्रा व्यापार चलाउँदै आएका घरधनी व्यवसायीले पनि सटर खाली छोडेको धेरै सूचना संघमा आइपुगेको छ ।

सामान्य बेलामा पनि खुद्रा पसलहरु खुल्ने, बन्द हुने भइरहेकोमा निषेधाज्ञा र लकडाउनमा यो ट्रेण्ड बढेको पाइएको होलसेल खाद्य सामग्री बिक्रेताहरुको संस्था नेपाल किराना व्यवसायी संघले जनाएको छ । यो बीचमा होलसेलबाट धेरै मात्रामा उधारो सामान लगेर खुद्रा पसलेहरु बेपत्ता भएको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । ‘आफूहरु डुबेसँगै होलसेललाई पनि डुबाउँ भन्ने केहीमा देखिएको छ, यो व्यवसायमा संकट छ भन्ने कुरा देखिएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

रेकर्ड नै छैन व्यवसाय दर्ता गर्ने निकायसँग

साना खुद्रा व्यवसायी पलायनबारे जिज्ञासा राख्दा यस्ता व्यवसाय दर्ता हुने स्थानीय सरकारले भने अनविज्ञता प्रकट गरेका छन् । कति व्यवसाय यो बीचमा दर्ता भए र कति विस्थापित भए भन्ने एकीकृत विवरण नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खुद्रा व्यवसाय वडा कार्यालयमै दार्ता हुने र यो संख्या के कति छ भन्ने एकीकृत विवरण नभएको काठमाडौं महानगर पालिकाको सूचना अधिकारी वसन्त आचार्यले बताए ।
महानगरकै राजश्व महाशाखासँग यस्ता व्यवसायीहरुको विवरण छै्रन । साना व्यवसायीलाई करको दायरामा ल्याउन बाध्य नबनाइएको कारण यस्तो विवरण पुष्टी हुन नसक्ने महानगरको राजश्व शाखा प्रमुख शिवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नविन ढुंगाना

ट्रेन्डिङ

Advertisment