Comments Add Comment

डिलमायाको पीडा : न ओत लाग्ने घर, न पेटभर खाना

घर बनाइदिने अभियानमा जुटे युवा

८ असार, गोरखा । गोरखा नगरपालिका-१० छेवेटारकी डिलमाया कुमाल ७० वर्ष पार गरिसकिन् । यो उमेरमा पनि मजदुरी नगरी उनको घरको चुल्हो बल्दैन । ४० वर्षीया छोरी र दुई नातिनी पालनपोषणको जिम्मा पनि उनकै छ ।

तीन वर्षअघि श्रीमानले सदाका लागि संसार छोडे । आम्दानीको अन्य स्रोत नभएपछि परिवार पाल्न ज्याला मजदुरी गर्नुको विकल्प नभएको उनको भनाइ छ । तर काम पाउनै मुस्किल छ । ‘सिजनको समयमा त काम पाइन्छ तर बेसिजनमा काम पाउन समस्या हुन्छ,’ उनी भन्छिन्, ‘काम नपाएको दिन पेट भरिँदैन ।’

गासको मात्र होइन उनलाई बासको पनि समस्या छ । उनीसँग ओत लाग्ने आफ्नो कटेरो छैन । मिलन टोल विकास संस्थाको जीर्ण घरमा उनको परिवारका चार सदस्य बस्छन् । घरमा छानो हालिएको पुराना जस्ताहरु वर्षा थेग्न नसक्ने भइसके । ‘राति पानी पर्‍यो भने सबै भित्रै चुहिन्छ, सुत्नु भन्दा पनि भाडा लिएर छानाबाट चुहिने पानी थाप्दै बस्नुपर्छ,’ उनले भनिन् । केही समय अघि रेडक्रसले दिएको त्रिपाल हालेपछि पानी चुहिन केही कम भएको उनी बताउँछिन् ।

लामो समय भारतमा बसेर उनी आफ्ना श्रीमान बिर बहादुर कुमाल सहित नेपाल फर्किएकी थिइन् । नेपाल आएको एक महिनामा उनले श्रीमान गुमाइन् । ‘तीन वर्षअघि यहा आयौं तर आएको एक महिनामा श्रीमान बिरामी परेर बित्नुभयो,’ उनले भनिन् ।

छोरी र दुई नातिनीलाई उनी आफैंले पाल्दै आएकी छन् । नातिनीहरु ११ र ९ वर्षका छन् । विवाहित छोरीलाई ज्वाइँले बेवास्ता गरेपछि आफैंले पाल्नु परेको उनी बताउँछिन् ।
सम्पतिको नाममा उनीसँग दुई आना दुई पैसा जग्गा छ । त्यही जग्गामा घर बनाएर बस्ने सपना छ उनको छ ।

घर बनाइदिने अभियानमा जुटे युवा

डिलमायाको नाजुक अवस्था देखेपछि गोरखा नगरपालिका-१० छेवेटारका दुई युवाहरुले उनको घर बनाउन अभियान सुरु गरेका छन् । स्थानीय मनिष पन्त र विजय श्रेष्ठले अभियान थालेका हुन् । देश विदेशमा रहेका गोर्खाली, संघसंस्था तथा समाजसेवीहरुलाई सहयोगका लागि अपिल गरिएको अभियान सञ्चालकमध्येका एक पन्त बताउँछन् । उनी भन्छन्, ‘उहाँको नाजुक अवस्था देखेपछि एउटा घर बनाइदिन पाए भन्ने मनमा आयो, अनि अभियान थालेका हौं ।’

केही दिनअघि मात्र अभियान थालिएको र हालसम्म करिव ४० हजार रकम संकलन भइसकेको उनले जानकारी दिए । केही समय रकम संकलन अभियानमा लाग्ने र घर निर्माण कार्य शुरु गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment