Comments Add Comment

कालीगण्डकी बचाउन आन्दोलन सुरु

८ असार, पर्वत। कालीगण्डकी नदी दोहन भएको भन्दै पश्चिम नेपालका कालीगण्डकीले छोएका जिल्लाका स्थानीयहरूले ‘कालीगण्डकी बचाऔं अभियान’ सुरु गरेका छन् ।

स्थानीय तथा संरक्षणकर्मीले ‘सेभ कालीगण्डकी रिभर’ ह्याट्याग दिएर सामाजिक सञ्चाल तथा नदी किनारमा उपस्थित भइ विरोध गर्न थालेका छन् । विश्वकै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीमा जथाभावी उत्खनन गरी दोहन गरिएको विरोधमा अभियान सुरु गरिएको लेखक आरके अदीप्त गिरीले बताए ।

पर्वतका स्थानीय समेत रहेका गिरीले सर्वोच्च अदालतले उत्खनन रोक्न दिएको आदेशलाई उलंघन गर्दै दोहन गर्न थालेपछि अभियान सञ्चालन गरेको जानकारी दिएका छन् ।‘अमूल्य प्राकृतिक सम्पदाको दोहन गरिनु खेदजनक कार्य हो’ अनलाइनखबरसँग कुरा गर्दै गिरीले भने ‘राजनीतिक पहुँचको आधारमा दोहन जारी छ । यसैले जनस्तरबाट आन्दोलन सुरु गरेका छौं ।’

यता उच्च अदालत पोखरा, बागलुङ इजलासले चार वर्षअघि नै विस्तृत गुरुयोजना बनाउन र प्रारम्भिक वातावरणीय मूल्यांकन प्रतिवेदनसहित कानुन बनाएर मात्र गिट्टी, वालुवा उत्खनन गर्न नदी किनारका स्थानीय तहलाई आदेश दिएको थियो। दोहनविरुद्ध प्रभावकारी अनुगमन गर्न पनि अदालतले आदेश दिएको थियो। तर उक्त आदेश कार्यान्वयन गर्ने निकायबीच समन्वय नहुँदा जथाभावी उत्खनन गर्ने क्रम रोकिएको थिएन ।

बागलुङका अभियन्ता एवं पत्रकार राम शर्माका अनुसार यसै वर्ष पवर्तका केही स्थानीय तहले वर्षायाममा पनि नदीजन्य पदार्थ उत्खनन गर्ने निर्णय गरेसँगै काली झन् जोखिममा परेको छ ।

‘मुख्य दोहन पर्वत जिल्लामा भएको देखिन्छ’ अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने, ‘अझै वर्षायाममा उत्खनन गर्नु प्राकेति विपत्ति निम्त्याउनु हो । यो कार्य तुरुन्त रोक्न आग्रह गरेका छौं ।’

मुस्ताङ, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी हुँदै बग्ने कालीगण्डकी नदीलाई धार्मिक महत्त्वका कारण विश्वको सम्पदा मानिन्छ । यसको किनारमा मात्रै १० लाख मानिस बस्ने प्रारम्भिक अध्ययन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment