Comments Add Comment

यी हुन् विदेशीहरुका लागि विश्वका सबैभन्दा महँगा सहरहरु

काठमाडौं । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको राजधानी अस्गाबट विदेशीहरुका लागि सबैभन्दा महँगो सहर बनेको छ ।

कन्सल्टेन्सी कम्पनी मर्सरले सार्वजनिक गरेको कस्ट अफ लिभिङ सर्भे २०२१ अनुसार झण्डै १० लाख जनसंख्या भएको अस्गाबट विदेशी कामदार तथा अन्य विदेशीहरुका लागि सबैभन्दा महँगो सहर बनेको हो ।

गत वर्ष यो सूचीको पहिलो स्थानमा हङ्कङ्ग थियो । अस्गाबटले हङ्कङ्गलाई दोश्रो स्थानमा धकेलेको छ भने तेश्रो स्थानमा लेबनानको बेरुत र जापानको टोकियो रहेका छन् ।

मर्सरको उक्त सूचकांकमा विश्वका विभिन्न २ सय ९ वटा सहरहरु समावेश गरिएको छ । खानेकुरा, आवास, यातायात लगायतका दैनिक जीवनयापनमा हुने खर्चको विश्लेषण गरी सहरहरुको सूचीकरण गरिएको छ ।

मर्सरका अनुसार उक्त रिपोर्टमा विभिन्न २ सय वस्तु तथा सेवाको लागि हुने खर्चको मूल्यांकन गरिएको छ । यस रिपोर्टले विश्वका विभिन्न कम्पनी तथा सरकारहरुलाई आफ्नो देशमा कार्यरत विदेशी कामदारहरुको ज्याला निर्धारणमा समेत सहयोग पुर्‍याउने विश्वास मर्सरको छ ।

अस्गाबट किन शीर्ष स्थानमा ?

उक्त सूचीको शीर्ष १० स्थानमा परेका सहरहरुमध्ये अधिकांश विश्वका व्यवसायिक हबहरु छन् जहाँ आर्थिक वृद्धिका कारण आवास तथा अन्य जीवनयापनको खर्च स्वभाविक रुपमा उच्च छ । तर तुर्कमेनिस्तानको राजधानीचाहिँ समृद्धिका कारण नभई आर्थिक संकटका कारण सबैभन्दा महँगो सहर बनेको हो ।

कन्सल्टेन्सी र्फम मर्सरका जिन फिलिपे सार्राका अनुसार उच्च स्थानीय मुद्रास्फितिका कारण अस्गाबट पहिलो स्थानमा उक्लिएको हो, जुन गत वर्ष दोश्रो स्थानमा थियो । मुद्रास्फिति भनेको कुनै पनि निश्चित समयमा भएको वस्तु तथा सेवाको मूल्यवृद्धिको दर हो ।

निरंकुश सरकार तथा विशाल प्राकृतिक ग्यास भण्डारको देशका रुपमा परिचित तुर्कमेनिस्तान लामो समयदेखि आर्थिक संकटबाट गुजि्ररहेको छ, जसका कारण कैयन् नागरिकहरु गरिबीमा धकेलिएका छन् ।

पूर्व सोभियत संघको हिस्सा रहेको तुर्कमेनिस्तान प्राकृतिक ग्यास निर्यातका लागि रुसमा निर्भर छ । त्यसैले तुर्कमेनिस्तानको आर्थिक संकटमा ग्यासको न्यून मूल्य पनि प्रमुख कारक रहेको बताइन्छ । ह्युमन राइट्स वाचका अनुसार कोभिड-१९ महामारीले तुर्कमेनिस्तानमा लामो समयदेखि रहेको खाद्य संकटलाई झनै बढाइदिएको छ ।

महँगा र सस्ता सहरहरु

गत वर्ष ४५ औँ स्थानमा रहेको लेबनानको राजधानी बेरुत यो वर्ष विदेशीका लागि सबैभन्दा महँगो सहरको सूचीमा तेश्रो स्थानमा उक्लिएको छ । हालैका वर्षहरुको राजनीतिक अस्थिरता तथा चरम आर्थिक मन्दीका साथै गत वर्ष बेरुतस्थित बन्दरगाहमा भएको भयानक विस्फोटले पारेको आर्थिक असरका कारण बेरुतमा मुद्रास्फिति उच्च बनेको मर्सरले जनाएको छ ।

चौथो स्थानमा जापानको राजधानी टोकियो रहेको छ भने पाँचौ महँगो सहरको रुपमा स्विजरल्याण्डको जुरिच रहेको छ । यी दुबै सहर गत वर्षभन्दा एक-एक स्थान झरेका छन् अर्थात् केही सस्तो भएका छन् ।

त्यस्तै चीनको सांघाई छैटौँ, सिंगापुर सातौँ, स्विजरल्याण्डको जेनेभा ८ औँ, चीनको राजधानी बेइजिङ नबौँ र स्विजरल्याण्डको बर्न सहर विदेशीका लागि सबैभन्दा महँगो सहरको सूचीमा दशौँ स्थानमा छन् ।

अन्य सहरहरुमा अमेरिकाको न्युयोर्क सिटी १४औँ स्थानमा छ भने डेनमार्कको कोपनहेगन १६ औँ, बेलायतको लण्डन १८ औँ, अष्ट्रेृलियाको सिड्नी ३१ औँ, अष्ट्रियाको भियना ३७ औँ स्थानमा छन् ।

त्यस्तै दुबई ४२औँ, बैंकक ४६औँ, रोम ४७औँ, वाशिङ्गटन ५१औँ, बर्लिन ६०औँ र मस्को ६२औँ स्थानमा रहेका छन् । अष्ट्रेलियाको क्यानबेरा ७५औँ स्थानमा रहँदा स्पेनको बार्सिलोना ८४औँ, क्यानडाको भ्यानकुभर ९३औँ तथा टोरन्टो ९८औँ नम्बरमा रहेका छन् ।

दक्षिण एसियामा महँगो सहर ढाका, सस्तो सहर कुन ?

दक्षिण एसियामा बंगलादेशको राजधानी ढाका विदेशीहरुका लागि सबैभन्दा महंगो सहरको रुपमा छ । ढाका उक्त सूचीमा ४०औँ स्थानमा रहेको छ ।

दोश्रो स्थानमा भारतको मुम्बई ७८औँ स्थानमा रहेको छ । त्यस्तै भारतको नयाँदिल्ली ११७औँ, चेन्नई १५८औँ, बैंगलोर १७०औँ, कलकत्ता १८१औँ स्थानमा रहेका छन् ।

श्रीलंकाको कोलम्बो विदेशीका लागि विश्वका सर्वाधिक महँगा सहरहरुको सूचीमा १८५औँ स्थानमा छ भने पाकिस्तानको इस्लामावाद १९९औँ र कराँची २०१औँ स्थानमा रहेका छन् ।

किर्गिस्तानको राजधानी विस्केक सबैभन्दा सस्तो सहर बनेको छ । विदेशीका लागि सबैभन्दा सस्तो जीवनयापन रहेका पाँच सहरहरुमा बिस्केकसँगै जाम्बियाको लुकासा, जर्जियाको तिबिल्सी, ट्युनिसियाको ट्युनिस र ब्राजिलिको ब्रासिलिया रहेका छन् ।

मर्सरले नेपालका कुनै पनि सहरलाई उक्त सूचीमा समावेश गरेको छैन ।

– बीबीसी र मर्सर डटकम बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment