Comments Add Comment

नेपालसहितका छिमेकी देशमा खोप निर्यात खोल्ने भारतको तयारी

९ असार, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । आगामी जुलाईको अन्त्यमा वा अगष्टको पहिलो साताबाट छिमेकी मुलुकहरुमा सीमित मात्रामा खोप निर्यात गर्ने भारतको गृहकार्य रहेको बताइएको छ ।

खासगरी नेपाल, बंगलादेश, श्रीलंकालाई सीमित मात्रामा खोप उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीहरुले दिइरहेका छन् । तर मिति भने तय भइसकेको छैन ।

बंगलादेशका लागि भारतीय राजदूत विक्रम दोरीस्वामीले आइतबार भारतले सकेसम्म छिटो बंगलादेशका खोप निर्यात गर्न चाहेको प्रतिक्रिया दिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘यो समस्या छिट्टै समाधान हुनेमा म आशावादी छु ।’

काठमाडौंस्थित भारतीय दूतावास स्रोतले पनि भ्याक्सिन मैत्री अभियानलाई सुरु गर्ने विषयमा तीव्र छलफल भइरहेको जानकारी दिएको छ । ‘छिमेकी मुलुकहरुले पहिलो चरणको खोप अभियान हामीले दिएकै अनुदानबाट सुरु गरेका हुन् । तर, दोस्रो चरणका लागि हाम्रै कारणले खोप दिन सकिएन,’ स्रोतले भन्यो, ‘त्यसैले कुनै न कुनै निकास निकाल्नुपर्ने अवस्था छ ।’

नयाँदिल्लीमा रहेका नेपालसहित अन्य देशका राजदूतले पनि खोप निर्यातमा लगाइएको बन्देज हटाउन भारतीय विदेश मन्त्रालयलाई आग्रह गरिरहेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि भारतले मे महिनामा खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

दि एसोसिएट प्रेससँग कुरा गर्दै भारतीय नीति आयोगका सदस्य भीके पलले आफ्ना नागरिकलाई केही मात्रामा खोप लगाइसकेपछि र भण्डारण बढेपछि आफूहरुले खोप निर्यात गर्न चाहेको बताएका छन् । कुन मितिबाट निर्यात गर्ने भन्ने उनले खुलाएनन् ।

नयाँदिल्लीस्थित दि प्रिन्ट अनलाइनले पनि भारतले भ्याक्सिन मैत्री अभियानलाई पुनर्स्थापित गर्ने विषयमा गृहकार्य गरिरहेको उल्लेख गरेको छ । भारतीय उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै उसले लेखेको छ, ‘खोप उत्पादनको अवस्थालाई हेरेर जुलाई अन्तिम वा अगष्टमा कम्तीमा श्रीलंका, नेपाल र बंगलादेशले किनेको खोप प्रदान गर्ने उद्देश्य छ ।’

अहिलेकै गतिमा खोप अभियान अगाडि बढ्दा जुलाईको अन्तिमसम्म ४० प्रतिशत नागरिकलाई पहिलो डोज खोप लगाइसक्ने र त्यसपछि छिमेकी मुलुकलाई खोप प्रदान गर्ने भारतको तयारी छ ।

छिमेक बाहेक अन्य मुलुकको हकमा भने तत्कालै निर्यात सुचारु नहुने बताइएको छ ।

भारतले नेपाललाई ११ लाख कोभिशिल्ड खोप अनुदानमा प्रदान गरेको थियो भने नेपालले सेरम इस्टिच्युटसँग २० लाख खोप खरिद गर्न सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज खोप आइसकेको छ भने १० लाख आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment