+
+
Shares

पुनर्निर्माण प्राधिकरणको संरचना र कार्यप्रणाली कार्तिकसम्म यथावत

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १७:३२

१० असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९ औं बैठकले आर्थिक वर्ष २०७७/७८भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवासलगायत पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोभिड महामारीको दोस्रो लहर नियन्त्रणका लागि घोषणा गरिएको निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका काममा अवरोध आएकाले यसअघिको बहिगर्मन तथा हस्तान्तरण कार्ययोजना परिमार्जन गरिएको बताएका छन् ।

ज्ञवालीले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकभित्र ती कार्यहरु सम्पन्न गरिने र सोही अवधिमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कार्यलाई पनि एकैसाथ अघि बढाइने उनले जानकारी दिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उल्लेखित कार्यका लागि आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनबाटै आवश्यक बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले कोभिड-१९ महामारीको दोस्रो लहरका कारण काम सम्पन्न गर्न नसकेका निजी आवासका लाभग्राहीहरुलाई २०७८ कार्तिक मसान्तसम्मको समयावधि तोकी उक्त कार्यको फछ्र्यौट गर्ने निर्णय समेत गरेको छ ।

बैठकले निर्माण कार्य सम्पन्न गरेका तर सुरक्षित घरको मापदण्ड पूरा गर्न नसकेका निजी आवासका लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमार्फत् सम्भव भएसम्म सुधार गराउने गरी अनुदानको बाँकी किस्ता रकम उपलब्ध गराउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ ।

बैठकले नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तावित अन्तराष्ट्रिय सम्मेलन २०७८ मंसिर २१-२३ गते तद्अनुसार सन् २०२१ डिसेम्बर ७-९ मा आयोजना गर्न स्वीकृति दिएको छ ।

प्राधिकरणले तत्कालीन अवस्था हेरी भौतिक तथा भर्चुअल माध्यमको मिश्रति मोडलमा उक्त सम्मेलनको आयोजना गर्नेछ । बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई यसअघि गरिएको समझदारीअनुसार संचार तथा यातायात खर्च र दूर्गम भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?