Comments Add Comment

शिक्षामन्त्री श्रेष्ठले आज थप तीन मन्त्रालयको कार्यभार सम्हाल्दै

११ असार, काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन् ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहणको कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ ।

मन्त्रिपरिषद सदस्यहरुलाई प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रालय बाँडफाँट गरिदिएका थिए । रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment