११ असार, काठमाडौं । ब्राजिलमा भारतीय कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) खोपको विषयमा विवाद चुलिएको छ ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको सरकारले उच्च मूल्यमा भारत बायोटकको कोरोना खोप किन्न खोजेको आरोप लागेको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राष्ट्रपतिमाथि उच्च मूल्यमा भारत बायोटेकको कोरोना खोप खरिदको सम्झौताको लागि दबाब आएको थियो ।
यो विवादमा राष्ट्रपतिमाथि निरन्तर प्रश्न उठिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बोल्सोनारोले ब्राजिलमा अहिलेसम्म भारत बायोटेकको खोप पनि नआएको र कम्पनीलाई कुनै भुक्तानी पनि नदिइएको बताएका छन् । ब्राजिलमा अहिले कोरोना खोप खरिदको सम्झौताको विषयमा अनुसन्धान भइरहेको छ ।
ब्राजिलका संघीय अभियोजकले भारत बायोटेकको कोभ्याक्सिनको दुई करोड डोजको लागि ३२ करोड डलरको सम्झौताको विषयमा अनुसन्धान सुरु गरेका छन् ।
ब्राजिलमा फाइजरले गत वर्ष कोभ्याक्सिनभन्दा पनि कम मूल्यमा खोप दिने प्रस्ताव गरेको थियो। तर, त्यहाँको सरकारले फाइजरको प्रस्तावमा उदासीनता देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
राष्ट्रपतिको स्पष्टीकरण
शुक्रबार ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भनेका छन्, ‘हामीले कोभ्याक्सिनका लागि न पैसा खर्च गरेका छौं न अहिलेसम्म कोभ्याक्सिनको कुनै खोप ल्याएका छौं । यसमा भ्रष्टाचारको कुरा कहाँबाट आयो ?’
बोल्सोनारोले आफ्नो सरकारमा कुनै पनि भ्रष्टाचारको मुद्दा आए कारबाही गरिने बताएका छन् । बोल्सोनारोले भारत बायोटेकको खोपको मूल्य ब्राजिलमा पनि अन्य मुलुकमा जस्तै रहेको बताएका छन् ।
बोल्सोनारोले भने, ‘सरकार खोपको सम्झौता त्यतिबेला मात्र गर्छ जतिबेला संघीय स्वास्थ्य नियामकले उक्त खोप प्रयोगको लागि अनुमति दिन्छ । कोभ्याक्सिनको प्रयोग गर्ने अनुमति अहिलेसम्म ब्राजिलमा दिइएको छैन । यद्यपि तेस्रो चरणको क्लिनिकल परीक्षणको लागि ब्राजिलको पर्टनर कम्पनीको माध्यमबाट अनुमति मिलेको छ ।’
भारत बायोटेकले विदेशी सरकारका लागि खोपको मुल्य १५–२० डलर रहेको र यसमा कुनै परिवर्तन नगरिएको बताएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार गत फेब्रुअरीमा ब्राजिलले भारत बायोटेकसँग खोप खरिदको सम्झौता गरेको थियो । उक्त सम्झौता भारत बायोटेकले भनेकै मूल्यमा गरिएको थियो । यद्यपि भारतले कोरोना खोप निर्यातको लागि लगाएको प्रतिबन्धको कारण खोप पठाउन नसकिएको बताएको छ ।
ब्राजिलमा निरन्तर राष्ट्रपति बोल्सोनारो विवादमा पर्दै आएका छन् । गत महिना ब्राजिलमा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै मुलुकभर बोल्सोनारोको विरुद्धमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा हजारौं मानिसहरु सहभागी भएका थिए ।
नीहरुले राष्ट्रपतिमाथि महाभियोगका साथै पर्याप्त खोप उपलब्ध गराउन माग गरेका थिए । कोरोना नियन्त्रणको लागि चालेको कदमको कारण ब्राजिलमा बोल्सोनारोको लोकप्रियतामा उल्लेख्य कमी आएको छ ।
ब्राजिलमा कोरोना संक्रमणको कारण अहिलेसम्म चार लाख ७० हजार मानिसको मृत्यु भइसकेको छ । ब्राजिलको ब्युटानतन इन्स्टिच्युटका प्रमुखले सिनेटको समितिमा बोल्दै बोल्सोनारोले खोप अभियानमा ढिलाइ गरेको बताएका थिए ।
एजेन्सीहरुको सहयोगमा