Comments Add Comment

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

लामो बन्दले व्यवसायीहरुलाई पलायन हुनबाट जोगाउन होटल तथा पर्यटन क्षेत्र सञ्चालनमा ल्याउने वातावरण मिलाईदिन आग्रह गरेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष पन्तले बताए ।

‘ कोरोना महामारीले व्यवसाय ठप्प छ, ऋणको ब्याज, किस्ता तिर्न नसक्ने अवस्था छौं । भाडामा रहेका होटलहरुले त झन घर भाडा पनि तिर्नुपर्छ । व्यवसाय सञ्चालन नभएको अवस्थामा कसरी तिर्ने ?’ उनले भने ‘ व्यवसायीहरु पलायन हुने अवस्थामा छन्, त्यसैले सञ्चालन गर्ने वातावरण मिलाईदिन प्रशासनसँग आग्रह गरेका हौं ।’

कोरोना महामारीको पहिलो लहरमा ०७६ चैत ११ गतेदेखि पटक पटक लकडाउन, निषेधाज्ञामा होटल तथा पर्यटन व्यवसाय ठप्प रहे । अन्य क्षेत्र खुलीसक्दा पनि होटल तथा पार्टी प्यालेस लगायत पर्यटकीय क्षेत्रहरु भने असोज १ गतेदेखि मात्रै खुलेको थियो ।

त्यसपछि पनि सीमा नाका बन्द रहँदा होटल तथा पर्यटन व्यवसाय माथि उठ्न पाएन । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि वीरगञ्जमा पूनः बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाईएको छ ।

होटल व्यवसायीहरु भौतिक पुर्वाधारमा भएको ऋणको व्याज, किस्ता भाडामा रहेका होटलहरुको घर भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरिरहेका छन् ।

पर्सामा असार ३ गतेदेखि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले अन्य क्षेत्र क्रमशः खुल्ला गरि सक्दा पनि होटल तथा पर्यटन क्षेत्र भने अझ सम्म पनि बन्द नै राखेको छ । नेपाल सरकारले आन्तरिक तथा बाह्य पर्यटन एवं यातायात समेत सुचारु गर्ने घोषना गरि सकेको सन्दर्भमा होटल तथा पर्यटन क्षेत्र मात्र बन्द गर्नुको कुनै औचित्य नै नभएको व्यवसायीको ठहर छ ।

वीरगञ्जमा साना ठूला गरी ७० वटा होटल तथा पर्यटन व्यवसाय छन् । जसमा १२ सयको हाराहारीमा कर्मचारी रहेको अनुमान छ । कोरोना महामारीले व्यवसायीहरु संकटमा छन भने कर्मचारीहरुको रोजगारी गुम्ने खतरा बढ्दैगएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment