Comments Add Comment

असारे विकासको परम्परा अन्त्य गर्न कर्णालीका उर्जामन्त्रीको निर्देशन

११ असार, सुर्खेत । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठले असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने भन्दै उनले तोकिएकै समयमा कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक रहेको बताए ।

शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र १० वटै जिल्लाका कार्यालय प्रमुखसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले असारे विकासले गुणस्तरमा प्रश्न उठ्ने बताए ।

उनले आगामी आर्थिक वर्षको बजेटलाई समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखि नै योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिए । ‘मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभएर कार्यान्वयनमुखी ल्याएको छ, समयमै कार्यान्वयन गर्न अहिलेदेखि नै योजना बनाउनतिर लाग्नुहोस्,’ मन्त्री श्रेष्ठले भने ।

कर्णालीका विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको भन्दै उनले अहिलेदेखि नै त्यसलाई सच्याउँदै लिनुपर्ने बताए । ‘बजेटको अख्तियारी पाउनासाथ कार्यान्वयनतर्फ लागे समयमै कामहरु सम्पन्न हुन्छन्, असार कुर्नु पर्दैन,’ उनले भने ।

मन्त्री श्रेष्ठले विकास निर्माणका कामहरु प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण हुने पनि बताए ।

बैठकमा जिल्लास्थित कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुने गरेको गुनासो गरे । उनीहरुले समयमै अख्तियारी नआउने समस्याले पनि तोकिएको समयमा काम गर्न समस्या हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment