Comments Add Comment

किसानको छोरो, जो बलिउडमा चम्किए

सन्, २००० ।

दूरदराजका एक सामान्य ठिटो मुम्बई शहरमा पाइला राख्छन् । यो चमकदमकपूर्ण फिल्म नगरीमा उनले पनि सपनाको बिस्कुन विछ्याएका छन् । पुस्तौनी विरासतले जरा गाडेको बलिउडले उनी जस्ता मामूली केटोलाई काखी च्याप्छ ?

भारत, उत्तरप्रदेशको एक गाउँमा जन्मे हुर्केका, खेतीकिसानीले गुजारा गरिरहेका, नाटक खेल्ने रहरले दिल्ली पुगेर कारखानामा सुरक्षा गार्डको काम गरेका ती ठिटोको लागि सोचेजस्तो कमलो छैन, बलिउड ।

मुम्बईमा ओर्लिएपछि उनका दुःखका दिनहरु शुरु हुन्छ । एउटै फ्ल्याटमा कोचिएर बस्छन्, तीन साथीका साथ । दिनभर टेलिशृंखलामा भूमिका खोज्दै निर्देशक/निर्माताको दैलो चहार्छन् । तर, सफलता मिल्दैन । खल्तीमा कोठा भाडा तिर्ने पैसा छैन । खाना पकाइदिने शर्तमा एक व्यक्तिको अपार्टमेन्टमा बास माग्छन् । पिताले घरबाट खबर पठाइरहेका छन्, ‘अब घर फर्क । तिम्रो कारणले हामीलाई समेत गाउँमा मुख देखाउन गाह्रो भयो ।’

निरन्तरको घर्षणले पत्थरमा पनि आगो बल्छ । उनी यस्तै कठोर संघर्ष जारी राख्छन् । अन्ततः सरफरोश र त्यसपछि मुन्ना भाई एमबीबीएसमा सानोतिनो भूमिका मिल्यो । स्क्रिनमा केवल केही सेकेन्डका लागि मात्र उनी देखिए । तर, त्यति सानो भूमिकाबाटै उनले दर्शकको ध्यान आफूतर्फ आकर्षित गरे ।

तब अनुराग कश्यपले उनलाई दिल्लीको एक नाटकमा नियाले । अभिनय गजब थियो । आखिर अनुरागले ब्ल्याक फ्राइडे, देवडी जस्ता फिल्ममा दर्बिलो भूमिका बोकाइदिए । सुजोय घोषको फिल्म ‘कहानी’ले उनको चिनारी अरु फराकिलो बनाइदियो ।

सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ग्याङ्स अफ वासेपुर’पछि उनी बलिउडको एक हिस्सेदार बने । र, चिनिए सर्वत्र नवाजुद्दीन सिद्दिकीको नामले ।

सन् १९७४ मा उनको जन्म भयो, गाउँमा । बुवा किसान थिए । उनका परिवारमा सात भाइ र दुई बहिनी थिए । यही खस्रोफुस्रो धरातलबाट उठेर नवाजुद्दीन सिद्दिकीले गर्बिलो चिनारी बनाए, चम्किलो बलिउडमा ।

न्यूयोर्क, पीपली लाइभ हुँदै उनको कलायात्रा अगाडि बढ्यो । सन् २०१२ मा ‘पतंगः द काइट’ को बलियो भूमिकामा देखिए । जब यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखाइयो, सिद्दीकीको कामलाई सर्वाधिक रुचाइयो । फिल्म समीक्षक रोजर एबर्टले उनको काममा हार्दिकतासाथ धाप मारे । न्यूयोर्क टाइम्सको समीक्षामा समेत उनको तारिफ गरियो ।

यसपछि उनको सफलताको ग्राफ निरन्तर उकालो लाग्यो । पान सिंह तोमर, तलास, बम्बे टकिज, मनसुन शूटआउटु, लन्च बक्स, किक, बजरंगी भाईजान, माझीः द माउन्टेन मेन हुँदै नेटफि्लक्समा सार्वजनिक भएको ‘रात अकेली है’सम्म आइपुग्दा उनले बलिउडमा जरा गाडिसकेका छन् । उत्कृष्ट अभिनय क्षमताको बलमा आफूलाई दर्बिलो गरी उभ्याएका छन् ।

त्यसो त यी अभिनेता चर्चासँगै विवादको घेरामा पनि रहन्छन् । कहिले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने कुराले त कहिले मिस इन्डिया निहारिका सिंहसँगको रहस्यमयी सम्बन्धको कुराले । भनौं, उनको निजी जीवन फिल्मी दुनियाँमा जस्तो रसपूर्ण छैन ।

पत्नीको जासूसी

उनलाई आफ्नी पत्नीको जासूसी गरेको आरोप लाग्ने गर्छ । कल डाटा रेकर्डबाट यो रहस्य बाहिरिएको थियो । उनी आफ्नी पत्नीलाई विश्वास गर्दैनथे । के भनिन्छ भने, सिद्दीकीले महिला जासूस खटाएर आफ्नी पत्नीको निगरानी राख्थे ।

विवादित पुस्तक

उनको पुस्तक ‘एन अर्डिनरी लाइफ’ विवादमुक्त रहेन । यस पुस्तकमा उनले टेलिभिजन अभिनेत्री सुनीता राजवरसँगको सम्बन्धलाई लिएर केही विवादित कुरा लेखेका थिए । यसको कारण सुनीताले सिद्दीकीलाई लिगल नोटिसका साथसाथै माफी माग्न र भारु दुई करोड जरिवाना माग गरेका थिइन् ।

मिस इन्डियासँगको कुरा

उनले आफ्नो पुस्तक ‘एन अर्डिनरी लाइफ’मा पूर्व मिस इन्डिया निहारिका सिंहसँग पनि आफ्नो रिलेशनसिप रहेको चर्चा गरेका थिए । यस पुस्तकमा नवाजले आफ्नो निजी कुरा निहारिकाको अनुमति विना नै बढाइँचढाइ लेखेका थिए ।

यसैगरी उक्त पुस्तकमा उनले न्यूयाेर्कमा एक वेटे्रससँग खुब कुराकानी भएको र एक रात बिताएको पनि उल्लेख गरेका छन् ।

छिमेकी महिलालाई थप्पड

आफ्नो गाडी पार्क गर्ने क्रममा विवाद हुँदा एक छिमेकी महिलालाई उनले थप्पड लगाएका थिए । त्यसपछि उक्त महिलाले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीका अनुसार नवाजले निषेधित क्षेत्रमा आफ्नो गाडी पार्क गर्ने गर्थे ।

त्यसो त आफ्ना भाइकी पत्नी अर्थात् बुहारीलाई समेत उनले कुटपिट गरेको हल्ला चल्यो । दाइजोको विषयलाई लिएर उनले यसरी कुटपिट गरेको भनियो । यद्यपि नवाजले आफ्नो बचाउ गर्दै भने, ‘मैले कहिल्यै पनि दाइजो मागेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment