Comments Add Comment

सर्लाहीमा एस्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

१२ असार, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एस्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।

सामान्य विवादमा एस्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न गएका थिए । नगरपालिकाको बजेटबाट भइरहेको उक्त काम हेर्न वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एस्काभेटर चालकले श्रेष्ठको टाउको र छातीमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।

नगरपालिका प्रमुख मनोज कुमार देवकोटाका अनुसार पोखरी हेर्न जानुअघि शुक्रबार साँझ गाउँकै एक होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकदार दाहाल र एस्काभेटर चालक तामाङले सँगै खाजा खाएका थिए । खाजा खानेक्रममै श्रेष्ठ र तामाङबीच सामान्य भनाभन भएको थियो । खाजा खाएर उनीहरु पोखरी हेर्न गए । पोखरी हेरेर फर्किने क्रममा चालक तामाङले श्रेष्ठको टाउको र छातीमा बकेटले हिर्काएको नगरप्रमुख देवकोटाले बताए ।

एसपी राठौरले हत्याको कारण पोखरीको विवाद वा अन्य राजनीतिक कारण भएको नखुलेको बताए । यद्यपि चालक तामाङ र ठेकेदार दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरमा मुखलाल दास पोखरीको मर्मत सम्भारको काम भइरहेको छ । सिंचाइका लागि पानी जम्मा गर्न सो पोखरी निर्माण गरिएको थियो । नगरपालिकाको बजेटमा हाल सो पोखरीको मर्मत सम्भार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment