Comments Add Comment

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेको जिल्ला सचिव

१२ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गरेकी छन् । जसमा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । हजरा पहिला पनि अध्यक्ष नै थिए ।

अध्यक्ष गुप्ताले आफूले पार्टी परित्याग गरेको स्वीकार गरे । ‘सर्वोच्च अदालतको (एमाले र माओवादी अलग हुने) फैसलापछि मेरो लाइन एमालेतिर गयो,’ उनले भने, ‘पद जनताले दिएको हो, पदमा नभए पनि जनताको सेवा गर्छु । यसबाट म बिचलित छैन । जनताको विश्वास जित्न सके ढिलोचाँडो फेरि पदमा पुगिन्छ ।’

स्थानीय तह निर्वाचन २०७४ मा गुप्ता दुई हजार ८५१ मत प्राप्त गर्दै विजयी भएका थिए । निकटम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार इन्द्रासन साहले २ हजार ६९४ मत पाएका थिए ।

नेकपा एमालेले सप्तरीमा ताराकान्त चौधरी अध्यक्ष र देवनाथ यादवलाई सचिव, सिराहामा चन्देश्वर मण्डललाई अध्यक्ष र नविन यादवलाई सचिव, धनुषामा राज किशोर यादव राकेशलाई अध्यक्ष र तेजनारायण यादवलाई सचिवको जिम्मा दिएको छ । त्यस्तै महोत्तरीमा टेकबहादुर बलम्पाकी र सौखीलाल यादव सचिव तोकिएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कुनै जनप्रतिनिधिले पार्टी परित्याग गरेमा निर्वाचित भएको पद रिक्त हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment