Comments Add Comment

कर्णाली करिडोरमा सुख्खा पहिरोले सडक अवरुद्ध

११ असार, कालिकोट । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।

सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो’, उनले भने, ‘वर्षात्का कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ ।’

लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरुद्ध रहेको छ। कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षात्का कारणले पहिरो जादाँ अवरुद्ध भएको हो।

कर्णाली करिडोरअन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका-१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ ।

पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बिलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अबरुद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

‘पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ’, उनले भने, ‘पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाडै सञ्चालन गर्ने तयारी गरेका छौं।’

कर्णाली करिडोरमा कालिकोटको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेका भए पनि अहिले पहिराका कारणले अवरुद्ध भएको यातायात व्यवसायी धनबहादुर बटालाले जानकारी दिए ।

‘करिडोरका विभिन्न ठाउँमा पहिरो जादाँ यातायातका साधन चल्न सकेका छैनन्’, उनले भने, ‘अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने देखिन्छ ।’ करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्याश्यक बस्तुको ढुवानी रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment