Comments Add Comment

देउवा–नेपाल गठबन्धन : भ्रम र यथार्थ

‘प्रतिगमनको जात, धर्म र सिद्धान्त हुँदैन’

सत्तारुढ दल नेकपा एमाले यतिबेला अत्यन्त कठिन मोडबाट गुज्रिरहेको छ । पार्टी विभाजित पनि छैन, एक पनि छैन । सर्वोच्च अदालतको फैसलाबाट पूर्ववतरुपमा फर्किएको एमालेलाई निजी कम्पनीका रुपमा सञ्चालन गर्ने अध्यक्ष केपी शर्मा ओलीको नीतिले पार्टीभित्र गम्भीर अन्तरविरोध पैदा भएको थियो ।

त्यस अन्तरविरोधलाई समाधान गर्नुको साटो अध्यक्ष ओलीले झलनाथ–माधव समूहका नेताहरूलाई एकपछि अर्को कारबाहीको डण्डा चलाएपछि पार्टी विभाजनको दिशामा उन्मुख भएको थियो ।

अध्यक्ष ओली नै झलनाथ–माधव समूहलाई पार्टीभित्र राख्न चाहदैनन् भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । पार्टीभित्र घोर अपमान गर्दासमेत उक्त समूहले पार्टी विभाजन नगर्ने, तर अन्तरसंघर्ष जारी राख्ने निर्णय गरेपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालसहित एक दर्जनभन्दा बढी नेताहरूलाई साधारण सदस्य नरहने गरी कारबाही गरे ।

यसको प्रष्ट सन्देश के भने, ‘एमाले मेरो निजी संस्था हो । यहाँ तिमीहरूलाई स्थान छैन । तत्काल गइहाल ।’ अध्यक्ष ओलीको यो सन्देश झलनाथ–माधव समूहले नबुझ्ने कुरै भएन । तर यो समूहका नेताहरूले मुलतः दुई कारणले एमाले छाडेनन् ।

पहिलो ओलीले पार्टीबाट निकाल्न चाहेका नेताहरू एमाले निर्माणमा ओलीको भन्दा बढी योगदान गरेका छन् र एमालेलाई ओलीले भन्दा उनीहरू बढी माया गर्छन् । ओलीले त एमालेलाई व्यक्तिगत शक्ति र स्वार्थपूर्तिको साधनका रुपमा परिणत गराएका छन् । दोस्रो कारण ओलीले एमालेलाई विचार र सिद्धान्तविहीन घोर दक्षिणपन्थी पार्टीका रुपमा रुपान्तरण गरिरहेका थिए ।

एमालेको नीति, विचार, आदर्श र सिद्धान्तलाई मन पराएर यो पार्टीको झण्डामुनि गोलबद्ध भएका ठूलो संख्याका वर्गीय जनतालाई ओलीले धोका दिएकाले निर्ममतापूर्वक अन्तर संघर्षको माध्यमबाट यसलाई सच्याउनुपर्छ र सच्याउन सकिन्छ भन्ने विश्वास उनीहरूमा देखिन्छ ।

नेता नेपाल र देउवाको गठबन्धनको मूल आधार लोकतन्त्र, विधिको शासन र संवैधानिक सर्वोच्चताप्रतिको अटल विश्वास हो । ओली प्रतिगमनको चक्रव्यूहबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै संसदीय सर्वोच्चलाई पुनर्स्थापना गर्नु यो गठबन्धनको उद्देश्य देखिन्छ ।

त्यसैले ओलीले चाहना राख्दैमा उक्त समूहले एमाले परित्याग गरेको छैन । उनीहरूले व्यवस्थित ढंगले अन्तरसंर्घष बढाएपछि एमाले पार्टीमा अन्तरसंघर्ष पेचिलो हुन थाल्यो र देशव्यापी रुपमा पार्टी र जनसंगठनका समानान्तर कमिटीहरू निर्माण भए । यसले पार्टीलाई दक्षिणपन्थी धारतिर उन्मुख गराउने ओलीको बाटोमा तगारा देखिन थाले ।

यद्यपि ओली आफ्नो लक्ष्यमा दृढतापूर्वक उभिएका थिए । यसको कारण के थियो भने ओली एक्ला थिएनन् । उनको यो लक्ष्य र उद्देश्यमा सहयोग गर्न देशी÷विदेशी दक्षिणपन्थी शक्तिहरू लामबद्ध थिए । पछिल्लो घटनाक्रमले त्यस्ता शक्तिहरूकै योजनाबाट ओलीले यो सबै गरिरहेको पुष्टि भइसकेको छ ।

त्यसैले ओलीले आफ्नो यात्रा निरन्तर जारी राखे । ओली यतिमै रोकिएनन् । ओलीको प्रहारको निशाना अब संविधान र व्यवस्था हुन थाल्यो । लोकतान्त्रिकव्यवस्थालाई कमजोर बनाउने र संसदीय अभ्यासलाई विकृत पार्ने दिशामा उनले अभियान चलाए । यस क्रममा संसद पुनः विघटन हुन पुग्यो ।

संविधानविपरीत विदेशी नागरिकलाई सजिलै नागरिकता प्रदान गर्न सकिने नागरिकता विधेयक ल्याए । संसद भंग भएको अवस्थामा संविधान संशोधन कार्यदल बनाए । प्रचलित कानुनबमोजिम सजाय भुक्तान गरिरहेकाहरूलाई रिहा गरे । तराई क्षेत्रको मुटु र मिर्गौलाको रुपमा परिचित चुरे क्षेत्र नै बिक्री गर्न बजेटमै व्यवस्था गरे ।

प्रधानमन्त्रीसमेत रहेका ओलीका यस्ता गैरसंवैधानिक तथा राष्ट्रिय हित विपरितका गतिविधिले मुलुकमा तीव्र राजनीतिक ध्रुवीकरण पैदा गरिदियो । ओलीको कदमको समर्थन र विरोधको जगमा निर्माण भएको दुई ध्रुवीय राजनीतिको एउटा ध्रुवमा १२ बुँदे शान्ति सम्झौतादेखि लिएर लोकतान्त्रिक गणतन्त्रको नेत्तृत्व गर्ने व्यक्ति र शक्तिहरूको गठबन्धन भयो भने अर्को ध्रुवमा नयाँ संविधानका मूल विशेषताप्रति अनुदार विचार राख्ने र मुलुकलाई बहुराष्ट्रिय राज्यका रुपमा पहिचान गर्ने व्यक्ति र शक्तिको गठबन्धन बन्यो ।

पहिलो ध्रुवको नेत्तृत्व कांग्रेस सभापति शेरबहादुर देउवा र दोस्रो ध्रुवको नेत्तृत्व नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गरेका छन् ।

ओलीको कदमले संविधान, लोकतन्त्र, विधिको शासन र राष्ट्रिय हितलाई चुनौती दिएकाले झलनाथ–माधव समूह पार्टीगत स्वार्थभन्दा माथि उठेर पहिलो गठबन्धनमा सामेल भए । खासमा एमालेको झलनाथ–माधव समूहकै विचारको जगमा पहिलो गठबन्धनको निर्माण भएको हो । झलनाथ खनालको स्वास्थ्य समस्या भएपछि यो समूहको नेतृत्व माधव नेपालले गरिरहेका छन् ।

नेता नेपालको सक्रियता र दृढ अडानका कारण यो लोकतान्त्रिक गठबन्धन अगाडि बढिरहेको छ । नेता नेपालको साथ नरहेको भए यो गठबन्धन निर्माण नै हुने थिएन । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ, समर्थन नरहेको भए पनि यो गठबन्धन बन्ने थिएन ।

राजनीतिक शक्तिका हिसाबले मुलुकको दोस्रो ठूलो र प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतमा सभापति देउवाले अहिले यो गठबन्धनको नेतृत्व गरिरहेका भएपनि आफ्नै पार्टीका अध्यक्षविरुद्धको गठबन्धनमा हस्ताक्षर गरेका माधव नेपाल अहिले गठबन्धनको निर्णायक ठाउँमा छन् ।

गठबन्धनका आधार र उद्देश्य

राजनीतिक गठबन्धन भन्नुको अर्थ फरक–फरक राजनीतिक शक्ति/समूहहरू एक ठाउँमा उभिनु हो । राजनीतिक शक्तिहरूबीचको गठबन्धन विशेष परिस्थितिमा निश्चित उद्देश्य प्राप्तिका लागि हुने गर्छ । समान दृष्टिकोण, उद्देश्य र लक्ष्य भएकाहरूबीच गठबन्धन हुन्छ ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक पनि संसद विघटनको तयारी गरेपछि मुलुकको राजनीतिमा पछिल्लो गठबन्धन सुरु भएको थियो । संसद विघटनको पक्ष र विपक्षमा गरी निर्माण भएको गठबन्धनमा सरकारको नेत्तृत्व गरेकै पार्टीको माधव समूह विपक्षी गठबन्धनमा सामेल छ ।

अझ माधव नेपाल समूहकै जगमा विपक्षी गठबन्धन निर्माण भयो । नेता नेपालविपक्षी गठबन्धनमा गएपछि ओली पक्षले उनलाई आफ्नै पार्टी र प्रधानमन्त्रीविरुद्ध देउवालाई बोकेको आरोप लगाइरहेका छन् ।

यस्तो आरोप लगाउने र त्यसलाई विश्वास गर्नेहरूले देउवा–नेपालको गठबन्धन स्वाभाविक भएको तथ्यलाई अनदेखा गरिरहेका छन् । देउवा–नेपाल गठबन्धनका आधारहरूले नेपालले देउवालाई बोकेको वा एमालेविरुद्ध कांग्रेसलाई साथ दिएको अलिकति पनि पुष्टि गर्दैन ।

नेता नेपाल विगत लामो समयदेखि आफ्नो पार्टीभित्र अन्तरसंघर्ष गर्दै आइरहेका थिए । पार्टीका अध्यक्ष ओलीको ‘म नै पार्टी, म नै विधान र म नै सिद्धान्त’ भन्ने चिन्तन र प्रवृत्तिका विरुद्ध उनले एमालेमा लामो समय अन्तरसंघर्ष गरिरहेका थिए । पार्टी सञ्चालन विधि, पद्धति र विधानअनुसार हुनुपर्छ भन्नेमा उनको मूल जोड थियो ।

एमाले र माओवादी एकता भएर नेकपा बनेपछि पनि नेता नेपालले विधि, पद्धतिको अन्तरसंघर्षबाट विश्राम लिन पाएनन् । किनभने नेकपा सञ्चालन पनि त्यसैगरी भयो, जसरी विगतमा एमाले सञ्चालन गरिएको थियो । ओलीले सरकारको नेत्तृत्व गरेपछि नेता नेपालको अन्तरसंघर्ष अझ फराकिलो भयो । हिजोसम्म पार्टीलाई विधान र विधिअनुसार चलाउनुपर्छ भनेर संघर्ष गर्दै आएका नेपालसँग अब सरकार संविधानअनुसार चलाउनुपर्छ भन्ने नयाँ मुद्दा पनि थपियो ।

पहिलो विघटन बदर भएको पूर्ण फैसला नआउँदै दोस्रोपटक संसद विघटन, अध्यादेशमार्फत शासन सञ्चालनको तदारुकता र आफ्नो सत्ता टिकाउन चालिएका सन्देहपूर्ण गतिविधिका कारण विपक्षी दलहरू पनि संगठितरुपमा ओली कदमका विरुद्ध संगठित रुपले उभिए । संविधान, लोकतन्त्र, संसद र राष्ट्रियहितको लागि संघर्ष गर्ने उद्देश्य बोकेर निर्माण भएको विपक्षीको यो गठबन्धनसँग समान एजेण्डाका कारण माधवसमूह एक ठाउँमा आउने आधार बन्यो ।

यसरी के देखिन्छ भने नेता नेपाल र देउवाको गठबन्धनको मूल आधार लोकतन्त्र, विधिको शासन र संवैधानिक सर्वोच्चताप्रतिको अटल विश्वास हो । ओली प्रतिगमनको चक्रव्यूहबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै संसदीय सर्वोच्चलाई पुनस्र्थापना गर्नु यो गठबन्धनको उद्देश्य देखिन्छ ।

माधव नेपाल समूहमाथि कुप्रचार

प्रधानमन्त्री ओलीको असंवैधानिक र राष्ट्रिय हितविपरितका कदमविरुद्ध निर्माण भएकोविपक्षी गठबन्धका पक्षमा सिंगो मुलुक एकाकार भएपछि ओलीले नराम्रो धक्काको महसुस गरिरहेका छन् । यसले विकसित हुने राजनीतिक र संवैधानिक परिस्थितिका कारण आफूसँगै आफ्नो समूह र पार्टीकै भबिष्य अनिश्चित देखेपछि उनी आत्तिएको देखिन्छ । ओली र ओली समूहका पछिल्ला असन्तुलित बोली र धम्की यसका उदारहण हुन् ।

खासगरी ओली र उनीनिकट समूह वरिष्ठ नेता माधव नेपालमाथि खनिएको छ । नेता नेपालकै पहल कदमी र दृढ अडानका कारण पाँच दलहरूको गठबन्धन निर्माण भएको र यसले आफूलाई संकटतिर धकेलेको महसुस गरेर ओली समूह नेता नेपालप्रति विषवमनमा उत्रिएको जोकसैले महसुस गर्न सक्छ । अहिले ओली समूहले पाँच दलीय लोकतान्त्रिक गठबन्धन र नेता नेपालप्रति विभिन्न कुप्रचार गर्दै भ्रम छर्न आफ्नो सम्पूर्ण सामथ्र्य खर्च गरिरहेको छ ।

गठबन्धनमा पनि नेता नेपाल आक्रमणको निशाना बनाइएका छन् । ‘अध्यक्ष ओली नेत्तृत्वको एमाले सरकारविरुद्धमाधव नेपाल कांग्रेसका सभापति देउवासँग मिले, ओली हटाएर देउवालाई प्रधानमन्त्री बनाउने अभियानको नेत्तृत्व गरे, पार्टी अध्यक्षविरुद्ध देउवालाई बोके’ भन्नेजस्ता नेता नेपालविरुद्ध गैरराजनीतिक र बेतुकका भ्रमको खेती गरिएको छ ।

माधव समूहका कतिपय नेता तथा कार्यकर्ताहरू पनि अहिले ओली समूहको यही बोलीमा लोली मिलाउँदै ‘कांग्रेसलाई त बोक्न सकिँदैन/हुँदैन । ओलीको विकल्प देउवालाई बनाउन सकिँदैन/हुँदैन’ भनेको सुनिन्छ । आफैँ यस्तो भ्रममा परेपछि अरुलाई के बुझाउने ? कि यही भ्रम बाँड्ने ?

ओली समूहले नेता नेपालमाथि लगाएका लान्छनाहरूको आधार खनाल–नेपाल समूहले काँगेस सभापति देउवालाई दिएको समर्थन र सर्वोच्च अदालमा देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउन र संसद विघटन खारेज गर्न दिएको रिट निवेदनमा गरेरको हस्ताक्षरलाई लिइएको छ । संसदले सरकार दिन सक्छ भन्ने सिद्ध गराएर संसद विघटन हुनबाट बचाउन यो समूहले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो ।

यो मुलुकमा सिर्जना भएको विशिष्ट राजनीतिक परिस्थितिमा चालिएको कदम थियो । प्रधानमन्त्री ओलीले संसद विघटन गराउन आकस्मिकरुपमा राजनीतिक कदम चालेपछि पार्टीभित्रको नेपाल समूहले संसद जोगाउन त्यो भूमिका निर्वाह गरेको हो । पहिलोपटक संसद विघटनलाई प्रतिगमन करार गरेर नेता नेपाल समूह आन्दोलित बनेको थियो । व्यक्तिको सनक, लहड र महत्वांकाक्षाका पूर्तिका लागि जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसद विघटन गरिनु हँुदैन भन्ने यो समूहको विचार थियो ।

विगतदेखिनै संसद विघटनले मुलुकमा राजनीतिक र संवैधानिक संकट निम्त्याउने हँुदा यसलाई नेपाल समूहले प्रतिगमनका रुपमा परिभाषित गरेको छ । नेपाल समूह अहिले पनि त्यही मान्यतामा दृढ छ । यस्तो विचार राख्ने नेपाल समूह दोस्रो पटक संसद विघटनको पक्षमा उभिने गुञ्जायस नै थिएन ।

अर्को कुरा त्यति ठूलो र घातक कदम चाल्नुपूर्व नेपाल समूह र पार्टीभित्र कहीँकतै छलफल भएको थिएन । प्रतिगामी कदम चाल्दै यसका पछि–पछि नलागे तिमीहरूको के उपाय छ ? भन्ने सोच र व्यवहार ओलीले माधव समूहप्रति देखाएका थिए । यो अवस्थामामाधव समूह ओलीको प्रतिगामी कदमको विरुद्धमा लाग्ने नै भयो ।

ओलीको सम्भावित प्रतिगमन रोक्न संसदले सरकार दिन्छ भन्ने तथ्य देखाउन सक्नुपथ्र्यो । यसका लागि विपक्षी गठबन्धनले कम्तिमा संसदका बहुमत १३६ सिटको सुनिश्चितता गर्नुपर्ने जरुरी थियो । जसले मात्रै संविधानअनुसार सरकार बन्ने आधार भएर संसद जीवित हुन्थ्यो ।

तर राष्ट्रपति कहाँ १४९ सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीका लागि पेश गरिएको निवेदन हुँदाहुँदै राष्ट्रपति र प्रधानमन्त्री ओलीकै मिलीभगतमा असंवैधानिक ढंगले संसद विघटन गरेपछि अदालमा विपक्षीहरूले आफ्नो मागदाबी मै बहुमत पुर्‍याउन माधव समूहको हस्ताक्षर जरुरी थियो । त्यसैले संसद जोगाउने योजनाअनुसार सर्वोच्च अदालको रिट निवेदनमा माधव समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन् ।

ओली विपक्षीहरूको वैकल्पिक सरकार बन्न नदिने रणनीतिमा थिए भने आफ्नो पनि सरकार बन्न सक्ने अवस्था नभएको देखाउन चाहन्थे । वैकल्पिक सरकार पनि नबन्ने र ओलीले पनि विश्वासको मत नपाउने अवस्थाले संसद विघटनको लागि संवैधानिकरुपमा मार्गप्रशस्त हुन्थ्यो ।

यसैका लागि उनले दर्जन मन्त्रीको प्रलोभन दिएर जसपा विभाजन गरी त्यसलाई तटस्थ बनाएका थिए । यसले प्रतिपक्षी सरकार निर्माण हुने सम्भावना समाप्त पार्नुका साथै संसद विघटन निश्चित जस्तै थियो । यसरी ओलीले जसरी पनि संसद विघटन गर्ने परिस्थिति सिर्जना गरे ।

यसपछि माधव समूहले कठोर निर्णय लिनैपर्ने अवस्था आएर संसद बचाउन कांग्रेस सभापति देउवालाई समर्थन गरेर संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको सुनिश्चितता गर्नु आवश्यक थियो । यो नै ओलीको संसद विघटनको षडयन्त्र विफल पारी संसद बचाउने एक मात्र अन्तिम विकल्प थियो ।

यसरी संसद बचाउनैका लागि माधव समूहले देउवालाई समर्थन गर्‍यो । यद्यपि जालसाजीपूर्ण तरिकाले संसद विघटन त गरियो, तर सर्वोच अदालतबाट न्याय निरुपण हुुँदा पुनर्स्थापना हुने सतप्रतिशत सम्भावना छ । सर्वोच्चमा गरिएको हस्ताक्षर यसैको पुरक कदम मात्र हो । ओलीको प्रतिगमनले कोमामा पुगेको संसदलाई बचाउन अर्को पुरक कदम चाल्नुको दोस्रो विकल्प थिएन ।

त्यसैले संसदलाई प्रतिगमनको शिकार हुनबाट बचाउन विशिष्ट अवस्थामा गरिएको यही समर्थन र हस्ताक्षरलाई ओली समूहले माधव नेपालप्रति विषवमन गर्ने आधार बनाएका छन् र दुस्प्रचार गरिरहेका छन् ।

माधव समूहमै केही दिग्भ्रम

संवैधानिक सर्वोच्चता, लोकतान्त्रिक प्रणाली, विधिको शासन र संसदीय अभ्यासको कसीमा प्रधानमन्त्री ओली र उनको कदम प्रतिगामी र प्रतिगमन हो । प्रतिगामी र प्रतिगमनले कुनै पार्टीको सीमासँग सम्बन्ध राख्दैन भन्ने कुरा आजसम्म तिनीहरूले नबुझेको र बुझ्न नखोज्नु मुलुकको राजनीतिको बिडम्बना मान्नुपर्छ ।

अर्को अचम्मलाग्दो कुरा के छ भने ओली समूहको यस्तो गैरराजनीतिक भ्रमको पुलिन्दाभित्र माधव समूहकै कतिपय नेता तथा कार्यकर्ता पनि रुमलिएको देखिन्छ । प्रतिगामी अपराधलाई ढाकछोप गर्न र एमालेजनको ध्यान अन्यन्त्र मोड्न ओली समूह न्वारानदेखिको बल लगाइरहेको छ ।

माधव नेपालले कांग्रेसका देउवालाई समर्थन गरेको र सर्वोच्चमा हस्ताक्षर गरेको कुरालाई उनीहरूले ठूलो हतियारका रुपमा उपयोग गरिरहेका छन् । र, भन्दैछन्, ‘माधव नेपालले पार्टी अध्यक्षविरुद्ध देउवालाई बोकेर अपराध गरे । जे जस्तो भए पनि प्रतिष्पर्धी कांग्रेसलाई समर्थन गर्न हुदैनथ्यो/सकिँदैन ।’

माधव समूहका कतिपय नेता तथा कार्यकर्ताहरू पनि अहिले ओली समूहको यही बोलीमा लोली मिलाउँदै ‘कांग्रेसलाई त बोक्न सकिँदैन/हुँदैन । ओलीको विकल्प देउवालाई बनाउन सकिँदैन/हुँदैन’ भनेको सुनिन्छ । आफैँ यस्तो भ्रममा परेपछि अरुलाई के बुझाउने ? कि यही भ्रम बाँड्ने ?

माधव समूहका नेता–कार्यकर्ता हरू अहिलेको परिस्थितिमा संवैधानिक, राजनीतिक र नैतिक हतियारको चाङमाथि सुतेका छन् । उनीहरूको राजनीतिक विचार र पहलकदमीले मुलुकको राजनीति निर्देशित गरेको छ । संविधानअनुसार सरकार सञ्चालन गरिनुपर्छ र विधि, पद्धति अनुसार पार्टी चलाइनुपर्छ भन्ने उनीहरूको मूल मान्यतालाई सर्वोच्चले हुबहुरुपमा ल्याप्चे ठोकिसकेको छ ।

के यो सानो उपलब्धी हो ? आफ्नो मान्यतालाई सर्वोच्चले प्रमाणित गरिदिएपछि प्राप्त हुने कानुनी र नैतिक विजयको माधव समूहमै किन अनदेखा भइरहेको छ ? यो कानुनी र नैतिक बलका आधारमा तिनीहरूले ओली समूहलाई उचो शिर बनाएर बडो शानका साथ भन्नपर्थ्यो ‘कमरेड हरू, ओली यतिबेला एमाले अध्यक्ष र प्रधानमन्त्रीमा मात्र सीमित रहनुभएन । प्रतिगमनको मतियारमा बदलिनु भएको छ । प्रतिगमनको जात, धर्म, पार्टी, सिद्धान्त केही हुँदैन । हामीले एमालेका अध्यक्ष र प्रधानमन्त्रीको विरुद्ध कांग्रेसका देउवा बोकेको देख्ने तपाईहरूको दृष्टि भ्रम मात्र हो । हामीले त संविधान र लोकतन्त्रलाई प्रतिगमनको पञ्जाबाट बचाउन गठबन्धनमा सामेल भएका मात्र हौं । जहिले ओली प्रतिगमनका मतियार बन्न छाडेर एमाले अध्यक्षका रुपमा फर्कनुहुन्छ, त्यतिबेला समर्थन हुन्छ ।’

तर उनी हरू ‘माधव नेपालले देउवालाई बोके’ भन्ने भ्रमबाट दिग्भ्रमित हुन खोजेको अनुभूति हुन्छ । यो त कस्तुरीले विणा खोजेजस्तै भयो । वास्तममा देउवा–नेपालबीचको गठबन्धन ओलीका कारणले मुलुकमा विकसित पछिल्लो विशिष्ट राजनीतिक परिस्थितिबाट सिर्जना भएको हो । संविधान र लोकतन्त्रमाथिको खतरा हटेको दिन उनीहरूको गठबन्धन समाप्त भएर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment