Comments Add Comment

गठबन्धनको आडमा सुदूरपश्चिम सरकारले जनविरोधी काम गर्न पाउँदैन : महर

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले केन्द्रीय गठबन्धनको आडमा सुदूरपश्चिम प्रदेश सरकारले जनविरोधी कार्य गरेको आरोप लगाएका छन् । आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलमा सांसदहरुसँगको छलफलमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका महरले केन्द्रको गठबन्धनको आडमा प्रदेश सरकारले अनियमितता र जनविरोधी कार्य गरिरहे कांग्रेसले काँध नथाप्ने बताए ।

केन्द्रीय तहमा पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादविरुद्ध भए पनि सुदूरपश्चिम सरकारसँग मिलेर काम गर्न कांग्रेसलाई अप्ठ्यारो भइरहेको उनको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश सरकारले आफ्नो पार्टी निकट प्राइभेट लिमिटेडलाई आगामी आर्थिक वर्षको बजेटमा एक करोडदेखि ५ करोडसम्म रकम छुट्याएको भन्दै उनले सबै मन्त्रालयअन्तर्गत  नीतिगत भ्रष्टाचारको थालनी गरेकाले वर्तमान प्रदेश सरकारको औचित्य सकिएको समेत दाबी गरे ।

छलफलमा सहभागी सांसदहरुले केन्द्रको गठबन्धनका कारण प्रदेश सरकारले गरेका काम कारबाहीका बारेमा कांग्रेसका प्रदेशसभा सदस्यहरुले विरोध गर्न नसकेको  गुनासो गरे ।

महरले अतिवादी चरित्र भएका कम्युनिष्टका कारण मुलुकको प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको बताए । अतिवादी चरित्र भएका, सत्तालिप्सावादी कम्युनिष्टका कारण नेपाली जनताको बलिदान र ठूलो संघर्षबाट प्राप्त प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment