Comments Add Comment

पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर काममा फर्कन सहमत

१३ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिक कार्यक्षेत्रमा फर्किने भएका छन् । शनिबार प्राधिकरणमा भएको वार्ता र छलफलपश्चात इञ्जिनियरहरु कार्यक्षेत्रमा खटिन सहमत भएका हुन् ।

सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएपछि उनीहरु काममा फर्किन सहमत भएका हुन् ।

छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिक काममा खटिने र असार मसान्तभित्र कार्यप्रगति देखाउने प्रतिवद्धता व्यक्त गरेको प्राधिकरणले जनाएको छ ।

 

यस्तो छ प्राधिकरण र प्राविधिकबीच भएको सहमति

१.जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाअन्तर्गत रही कार्यरत स्व. ई. राजा साहको कामकाजकै दौरान मृत्यु भएकोमा साहको परिवारजनलाई बिमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले पहल गर्ने ।

२. प्राधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु (प्राविधिकहरु, सामाजिक परिचालक, डकर्मीसमेत) को कार्य अनुभवसहितको विवरण (रोस्टर) तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने । साथै यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने ।

३. प्राविधिकहरुले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७÷७८ को श्रावण महिनाबाटै नियमानुसार उपलब्ध गराउने ।

४. प्राधिकरण अन्तर्गत रही कार्य गरेका प्राविधिकहरुलाई (भवन, शिक्षा, जिमाली समेत) भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने ‘रिफ्रेसर ट्रेनिङ’ को व्यवस्था प्राधिकरणले गर्ने ।

५. सरकारले लिएको विपद जोखिमबाट सुरक्षित नेपाल महाअभियानको १० वर्षे लक्ष्यमा समाहित हुने गरी प्राधिकरण अन्तर्गतका प्राविधिकहरुलाई ग्राहयता दिन प्राधिकरणले पहल गर्ने, साथै विभिन्न निकायको पहिचान गरी व्यवस्थापनका निम्ति पहल गर्ने ।

६. प्राधिकरण अन्तर्गतका प्राविधिकहरुको सबै आन्दोलन आजकै मितिबाट टुंग्याउने र नियमित कामकाजमा फर्किने । प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनु पर्ने सेवा सुविधाहरु उपलब्ध गराउने ।

७. देशले बोकेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका निम्ति इन्जिनियरिङ क्षेत्रका प्राविधिकहरुको परिचालन अनिवार्य रहेकोले यस्ता विभिन्न क्षेत्रहरुको पहिचान गरी प्राधिकरण बाहेकका इञ्जिनियरहरुलाई पनि परिचालन गर्नका लागि प्राधिकरणले सरकारसँग समन्वय गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment