Comments Add Comment

कसरी सफा गरिन्छ अन्तरिक्षयात्रीका कपडा ? यस्तो छ नासाको योजना

अन्तरिक्षमा रहेका अन्तरिक्षयात्रीहरुले आफूले लगाएका कपडा मैलो भएमा कसरी सफा गर्दछन् ? तपाईंलाई यसको जवाफ थाहा पाउँदा अनौठो लाग्न सक्दछ । तर, यथार्थ के हो भने अन्तरिक्षयात्रीहरुले आफूले लगाएका कपडा धोइपखाली वा सफा गर्दैनन् । बाहिरी कपडा मात्र होइन जिमसुट तथा भित्री बस्त्र पनि उनीहरुले सफा गर्दैनन् ।

आफूले लगाएका कपडा फोहोर भएको महसुस भएमा वा गन्हाएमा त्यस्ता कपडा खोलेर फ्याँक्छन् र नयाँ कपडा लगाउँदछन् ।

तर अमेरिकी अन्तरिक्ष संस्था नासाले यस्तो चलनलाई बदल्ने योजना बनाएको छ ।तत्काल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा त्यस्तो गर्न नसकिए पनि भविष्यमा चन्द्रमा तथा मंगल ग्रहमा भए पनि अन्तरिक्षयात्रीका कपडा सफा गर्न सकिने व्यवस्था गर्ने नासाको सोच छ । यसले अन्तरीक्षमा वर्षेनी हजारौँ किलो फोहोर कपडा फ्याँकिने अवस्थालाई रोक्नेछ । यसका लागि नासाले प्रोक्टर एण्ड ग्याम्बल कम्पनीसँग सहकार्य गरी अन्तरीक्षमा अन्तरिक्षयात्रीका कपडाको सरसफाइ गरी पृथ्वीमा जस्तै महिनौ वा वर्षौँसम्म पुनः प्रयोग गर्न सकिन्छ भन्ने उपायको खोजी सुरु गरेको छ ।

उक्त कम्पनीले मंगलबार एक घोषणा गर्दै यो वर्षको अन्त्यतिर अन्तरिक्ष स्टेसनमा कपडा सफा गर्ने टाइड डिटर्जेन्ट र दाग हटाउने केमिकल पठाएर प्रयोग गरिनेछ।

वास्तवमा अन्तरिक्षमा विश्वका धनी देशहरुको उपस्थिति बढिरहेको र विभिन्न देशले चन्द्रमा र मंगल ग्रहमा समेत अन्तरिक्ष स्टेशन स्थापना गर्ने योजना बनाइरहेको अवस्थामा भविष्यमा फोहोर कपडाको व्यवस्थापनको विषय ठूलो टाउको दुखाइ बन्ने प्रष्ट छ।

अन्तरिक्षमा कार्गो पठाउने काम निकै महँगो हो । अन्तरिक्षयात्रीले लगाउने कपडाहरु नै वर्षेनी ठूलो परिमाणमा अन्तरिक्षमा पठाउनु पर्दछ । विज्ञका अनुसार अहिले एकजना अन्तरिक्षयात्रीका लालि वर्षमा कपडा मात्रै ६८ किलो लाग्दछ । तर यदि अन्तरिक्षयात्रीका कपडा सफा गर्ने प्रविधिको विकास गरिएमा त्यो समस्या कम हुनेछ ।

यो स्वास्थ्य तथा घिनको विषय पनि बनेको छ ।अन्तरिक्ष स्टेशनका अन्तरिक्षयात्रीहरुले तौल विहीनताको अवस्थामा आफ्नो मांशपेशी तथा हड्डीको क्षयीकरण हुन नदिनका लागि दैनिक दुई घण्टा व्यायाम गर्दछन् ।

व्यायामले उनीहरुका कपडा पसिनाले भिज्दछन् र गन्धयुक्त बन्दछन् । त्यसैले उनीहरुले त्यसरी व्यायाम गर्ने कपडा एक हप्ताभन्दा बढी प्रयोग गर्न सक्दैनन् । बढी प्रयोग गर्न खोजेमा त्यस्ता कपडा लगातारको पसिनाको सहनै नसकिने गन्धले भरिन्छन् र विषाक्त हुने जोखिम हुन्छ । त्यसैले उनीहरुले हरेक हप्तामा व्यायाम गर्ने कपडा फेर्नै पर्छ ।

आगामी डिसेम्बरमा अन्तरिक्षकै लागि बनाइएको कपडा सफा गर्ने डिटरजेन्ट अन्तरिक्षमा पठाउने पि एण्ड जी कम्पनीले जनाएको छ ।

गुरुत्वाकर्षण बल नहुने अन्तरिक्षमा कपडा सफा गर्ने डिटरजेन्टले कत्तिको काम गर्दछ भनेर ६ महिनासम्म हेरिनेछ । आगामी मे महिनामा चाहिँ कपडाका दाग हटाउने कलम तथा वाइप्सहरु अन्तरिक्षमा पठाइने।

यही बीचमा कम्पनीले चन्द्रमा र मंगल ग्रहमा समेत काम लाग्ने खालको कपडा धुने र सुकाउने दुवै काम गर्ने मेसिनको निर्माण गर्ने प्रयास गरिरहेको छ । उक्त मेसिनमा कमभन्दा कम पानी र डिटरजेन्ट प्रयोग हुनेछ । यस्ता वासिङ मेसिन पृथ्वीमा पानी अभाव भएका क्षेत्रहरुमा समेत काम लाग्नेछन् ।

तर वासिङ मेसिनको डिजाइन निकै चुनौतीपूर्ण हुनेछ, किन कि कपडा सफा गर्न प्रयोग हुने पानी पुनः शुद्ध पारेर पिउने काममा प्रयोग गर्नुपर्नेछ ।

स्मरण रहोस् हाल अन्तरिक्षमा अन्तरिक्षयात्रीको पिसाबसमेत प्रशोधन गर्ने गरिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment