Comments Add Comment

हेटौंडा अस्पतालमा डायलाइसिस सेवा शुरु

१४ असार, मकवानपुर । हेटौंडा अस्पतालमा मिर्गौलाका बिरामीका लागि डायलाइसिस केन्द्र सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले दुई तथा निःशुल्क रुपमा युनिलिभर प्रालिले दुई र शिवम् सिमेन्टले एक डायलाइसिस मेसिन उपलब्ध गराएपछि अस्पतालमा डायलाइसिस सेवा शुरु गरिएको हो ।

डायलाइसिस केन्द्र सञ्चालनमा आएसँगै सोमबार मिर्गौलाका तीन जना बिरामीको पहिलो पटक डायलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

नगर प्रमुख महतले अस्पतालमा कोभिड सङ्क्रमणलगायत मिर्गौला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पुर्‍याउन उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्दै लैजाने नीति बनाएको समेत जानकारी दिए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीले मुलुकमा प्रत्येक वर्ष मिर्गौला रोगबाट करीब तीन हजार व्यक्तिलाई सङ्क्रमण हुने गरेकाले दुर्गम भेगका सर्वसाधारणलाई सचेतना जगाउनुपर्ने बताए । आफ्नो स्वास्थ्यको नियमित जाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने जनचेतना जागृत गर्न स्थानीय निकायलाई प्रभावकारी ढंगबाट परिचालन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीति रहेको उनले बताए ।

उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौंडा अस्पतालमा केही महीनाभित्रै मुटु रोग, क्यान्सर र बालबालिकाका लागि उपचार सेवा तथा शल्य चिकित्सक सेवालाई गुणस्तरीय बनाउनेतर्फ प्रतिष्ठानले संघीय सरकारसँग सहकार्य गरी योजना तर्जुमा गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment