Comments Add Comment

सपना, संघर्ष र वियोगले भरिएका लुइज एनरिके

१३ असार, काठमाडौं । स्पेनका प्रशिक्षक लुइस एनरिके फुटबलप्रेमीले सुनिरहने नाम हो । एनरिके सन् २०१८ मा स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बनेका थिए । तर, त्यसको एक वर्ष पनि पूरा नहुँदै उनले बिदामा बस्ने घोषणा गरे । त्यसका लागि उनले व्यक्तिगत कारण देखाएका थिए ।

व्यक्तिगत कारण के हो भन्ने उनले तत्काल नखुलाए पनि एनरिके बोन क्यान्सरबाट जुधिरहेकी आफ्नी छोरीको कारण बिदामा बसेको खुल्यो । एनरिके बिदामा बसेको दुई महिनापछि नौ वर्षको उमेरकी उनकी छोरीको मृत्यु भयो ।

छोरी गुमाएका एनरिकेलाई यो शोकबाट बाहिर आउन लामो समय लाग्यो । उनी आफ्नो पीडा खासै अरुलाई सुनाउन चाहँदैनथे । त्यसैले उनले आफ्नो ह्वाट्सएप पनि बन्द गरेका थिए । छोरीको शोकका कारण एनरिकेको धेरैसँगको सम्पर्क टुट्यो । यद्यपि उनी स्पेनको फुटबल संघसँग भने नियमित सम्पर्कमा थिए ।

एनरिके बिदामा बसेपछि लामो समयदेखि उनको सहयोगीको रुपमा काम गर्दै आएका रोबर्ट मोरेनोले उनको स्थानमा काम गर्न थाले । मोरेनो एनरिकेले सन् २००८ मा बार्सिलोनाबाट प्रशिक्षकको करियर शुरु गर्दादेखिका सहकर्मी हुन् ।

मोरेनोले त्यसयता रोमा, सेल्टा भिगो, बार्सिलोनाको पहिलो रोजाइको टोली र त्यसपछि स्पेनको राष्ट्रिय टिममा पनि एनरिकेको सहयोगीको रुपमा काम गरेका थिए ।

मोरेनोले स्पेनको टोली सम्हाल्दा युरोकप २०२० को छनोट शुरु भइसकेको थियो । यस्तो अवस्थामा उनले टोलीलाई अपराजित रहँदै युरोकपमा छनोट गराए । युरोकपमा टोली छनोट भइसकेपछि भने बिदामा बसेको घोषणा गरेको पाँच महिनापछि एनरिके फर्किए ।

उनको टोलीले शुरुमा पास खेल्दै खेललाई आफ्नो नियन्त्रणमा राख्छ । यसबीचमा कुनै मौका भेट्यो भने त्यसलाई सदुपयोग गर्दै आक्रमण गर्न पनि पछि पर्दैन ।

यसअघि मोरेनोले आफ्ना मित्र (एनरिके) जतिबेला चाहे पनि टोलीमा फर्किन सक्ने र उनीसँगै मिलेर काम गर्न आफू तयार रहेको बताएका थिए । तर, जिम्मेवारी हस्तान्तरणको काम भने सोचेजस्तो सहज हुन सकेन । एनरिके टोलीमा फर्किएसँगै स्पेनको फुटबलमा ठूलो परिवर्तन देखियो । स्पेनको फुटबल टोलीका दुई वरिष्ठ अधिकारी टोलीबाट हटे र मोरेनोलाई बर्खास्त गरियो ।

जानकारहरुका अनुसार एक बैठकमा एनरिकेले आफूहरुबीच तालमेलको अभाव देखिएको बताएका थिए । मोरेनो र आफ्नो लक्ष्य फरक भएको एनरिकेको बुझाइ थियो । त्यसैले मोरेनो आफ्नो सहयोगी बन्न नसक्ने एनरिकेले बताएका थिए । एनरिकेको भनाइलाई मान्ने हो भने मोरेनोले युरोकप नसकिँदासम्म स्पेनको प्रशिक्षकको रुपमा रहन खोजेका थिए । जुन एनरिकेको दृष्टिकोणमा बेइमानी थियो ।

‘मोरेनोले यसका लागि निकै मेहनत गरेका थिए र उनी निकै महत्वाकांक्षी पनि छन्, उनको यो गुणलाई म निकै प्रशंसा पनि गर्छु,’ टोलीमा फर्किएपछिको पत्रकार सम्मेलनमा एनरिकेले भनेका थिए, ‘यद्यपि उनले चालेको कदम बेइमानी हो किनकि म यस्तो गर्न सक्दिनँ र म मेरा कर्मचारीहरुमा यस किसिमको गुण होस् भन्ने पनि चाहदिनँ ।’

एनरिकेलाई मोरेनो गलत दिशातर्फ अघि बढिरहेका छन् भन्ने लाग्यो । यद्यपि स्पेनका प्रशिक्षकको चरित्र उनले बाहिर देखिनेभन्दा जटिल छ । सञ्चारमाध्यमहरुमा उनको चित्रण एक निकै आक्रामक र विवादास्पद प्रशिक्षकको रुपमा हुने गरेको छ । एनरिकेको नजिकका मानिसहरु भने उनी त्यसको ठीक विपरीत स्वाभावको मानिस भएको बताउँछन् ।

‘वन डढेको सबैले देख्छन्, तर मन डढेको कसैले देख्दैनन्’, यो भनाइ एनरिकेको जीवनमा लागू हुन्छ । लुइस एनरिकेको जीवन पनि धेरै दुःख, कष्ट र संघर्षले भरिएको छ । यद्यपि उनी कहिल्यै पनि आफ्नो उद्देश्य र सकारात्मक सोचबाट भने विचलित भएनन् ।

युरोकपमा स्पेनको फुटबल टिम

एनरिकेको जीवन

एनरिकेले प्रशिक्षण गराउँदा टोलीमा सबैभन्दा फिट को छ भन्दा एनरिके आफैं हुन् भन्ने ठट्टा चल्ने गरेको छ । त्यसको कारण हो, एनरिके खेलाडीको रुपमा होस् वा प्रशिक्षकको रुपमा, सधैं फिट रहन्छन् । त्यसका लागि उनले कठिन अभ्यासहरु नियमित रुपमा गर्दै पनि आएका छन् ।

एनरिकेलाई पौडी, दौड र साइक्लिङ गर्न मन पर्छ । सन् २००७ मा उनी २.४ माइल लामो पौडी, ११८ माइलको साइकल र पूर्ण म्याराथन प्रतियोगितामा सहभागी भएका थिए । त्यही वर्ष उनी सहारा मरुभूमिमा भएको १५५ माइल लामो म्याराथनमा भाग लिएका थिए । यो म्याराथन ६ दिनसम्म चलेको थियो ।

यद्यपि एनरिकेको यो सौखले उनको प्रशिक्षणको शैली यस्तै किसिमको छ भनेर बुझ्नु चाहिं गलत हुन्छ । यो त उनको समृद्ध फुटबल शिक्षाको प्रतिबिम्ब मात्र हो ।

सन् १९८८ मा मिडफिल्डर तथा स्ट्राइकरको रुपमा एनरिकेले स्पोर्टिङ गिजोन टोलीबाट डेब्यु गरेका थिए । त्यसको तीन वर्षपछि उनी रियल मड्रिड गए ।

उनको खेल जीवन भने सुखद् रहन सकेन । त्यसो त उनले रियल मड्रिडलाई लिगको उपाधि र स्पेनिस कप नजिताएका होइनन् तर उनले क्लबका समर्थक र व्यवस्थापनबाट माया पाएको महसुस गर्न सकेनन् । त्यसैले सन् १९९६ मा उनी रियल मड्रिड छाडेर चिर प्रतिद्वन्द्वी बार्सिलोना गए ।

बार्सिलोनामा पनि उनलाई सहज भने भएन । शुरुमा त उनीमाथि बार्सिलोनाप्रतिको आस्थाको विषयमा नै प्रश्न उठ्यो । हुन त उनी बार्सिलोनाको कप्तान पनि बने । सन् २००४ मा सन्यास लिनुभन्दा पहिला उनले बार्सिलोनालाई दुई लिग, दुई कप र युरोपियन विनर्स कपको उपाधि जिताए ।

यो एनरिके प्रशिक्षक बन्नुअघिको कुरा हो । त्यसपछि एनरिकेले पाँच वर्षसम्म पेप ग्वार्डिओलासँग सहयोगीको रुपमा काम गरे । उनीहरुबीच विशेष किसिमको सम्बन्ध थियो र उनीहरु घण्टौंसम्म फुटबलको विषयमा कुराकानी गर्थे । यस्तो छलफलबाट उनीहरुले बार्सिलोनाको लक्ष्य पूरा गर्न महत्वपूर्ण योजना बनाउँथे ।

सन् २००६–०७ मा एनरिकेले साधारण क्लब नास्टिक डे टारागोनाको प्रशिक्षक बन्ने दौडमा थिए । जतिबेला उनले ग्वार्डिओलालाई आफूपछिको कमाण्डको रुपमा राखेका थिए । यद्यपि उनी प्रशिक्षक बन्न सकेनन् ।

लुइज एनरिकेको शैली पनि उनको व्यक्तित्वसँग मिल्छ । जस्तो कि, आक्रामक स्वभाव, प्रतिस्पर्धात्मक, सम्झौता नगर्ने र भावुक बन्ने । एनरिके जीवनमा सकेसम्म धेरै रमाइलो गर्नुपर्छ भन्ने सोच राख्ने व्यक्ति हुन् । यद्यपि रमाइलोका लागि पनि उनको निश्चित दायरा छ ।

उनलाई आफूले कस्तो खेल्न चाहन्छु ? खेलको प्रत्येक पलमा हरेक मानिसबाट के अपेक्षा गर्नुपर्छ ? र सबैभन्दा राम्रो नतिजा दिन कस्तो अवस्था बनाउनुपर्छ ? भन्ने राम्रोसँग थाहा हुन्छ ।

एनरिकेले बनाएको टोलीले पनि उनी कस्तो खेलाडी थिए भन्ने थाहा पाउन सकिन्छ । उनको टोलीले शुरुमा पास खेल्दै खेललाई आफ्नो नियन्त्रणमा राख्छ । यसबीचमा कुनै मौका भेट्यो भने त्यसलाई सदुपयोग गर्दै आक्रमण गर्न पनि पछि पर्दैन ।

उनी विपक्षीको क्षेत्रमा आक्रामक खेल प्रस्तुत गर्न रुचाउँछन् । सकेसम्म धेरै समय बल आफ्नो टोलीको नियन्त्रणमा राख्ने उनको प्रयत्न हुन्छ । त्यसो त आवश्यक परेको अवस्थामा पछाडि बसेर रक्षात्मक खेल प्रस्तुत गर्ने मामिलामा पनि टोलीलाई एनरिकेले तयार राखेका हुन्छन् ।

जुनसुकै टोलीमा गए पनि एनरिकेको शैली यही हो । उनले सन् २००८ देखि २०११ सम्म बार्सिलोना–बी टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए । यो तीन वर्षको कार्यकालमा बार्सिलोनाको प्रमुख टोलीको प्रशिक्षक भने ग्वार्डिओला थिए । एनरिकेले उक्त समयमा सिकाएको शैलीको प्रतिबिम्ब अहिले उक्त टोलीबाट प्रमुख टोलीमा आएका खेलाडीमा देख्न सकिन्छ ।

एनरिकेले धेरै नयाँ अभ्यास पनि शुरु गरेका थिए । जसमा प्रशिक्षणको अनुगमन गर्ने, जिम गर्ने मामिलामा क्रान्तिकारी परिवर्तन र सही खानेकुराको छनोटलगायतका कुरामा उनले ध्यान दिएका थिए । उनी खेलाडीको पोषणमा विशेष ध्यान दिने प्रशिक्षकमध्येका एक हुन् । उनलाई यस्तो सोच टोलीका मनोचिकित्सक जोआकिन भाल्देसले दिएका हुन् । उनले खेलाडीहरुलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्न महत्वपूर्ण योजना बनाउने गरेका छन् ।

एनरिकेले आफ्ना खेलाडीलाई मैदानमा प्रदर्शनको साथै आफ्नो व्यवहार सुधार्नमा पनि विशेष जोड दिन्छन् । त्यसैले खेलाडीहरु खेलमा निकै सतर्क हुने उनको विश्वास छ । उनी आफ्नो अंग्रेजी भाषा सुधारको लागि पनि अहिले प्रयास गरिरहेका छन् । भाषाले आफूलाई करियरको महत्वपूर्ण चरणमा सहयोग पुर्‍याउने उनको बुझाइ छ ।

एनरिकेको लागि स्पेनको टोलीको प्रशिक्षक बन्नु निकै ठूलो सपना थियो । सन् २०१८ को जुलाई ९ मा उनको यो सपना पूरा भएको थियो । यद्यपि यो सपना सम्भवतः उनले चाहेको जसरी पूरा भएको भने होइन ।

अहिले एनरिके विस्तारै आफ्नी छोरीको मृत्युको चोटबाट बाहिर निस्किने प्रयासमा छन् । उनी आफ्नो मनोबल बढाउने प्रयास गरिरहेका छन् र आफ्नो काममा नै रमाउन थालेका छन् ।

सन् २०१८ मा विश्वकप शुरु हुनुभन्दा दुई दिनअघि मात्र स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त भएका थिए । उनी बर्खास्त हुनुको कारण थियो– रियल मड्रिडको प्रशिक्षक बन्न मञ्जुरी दिनु । विश्वकप सकिएपछि स्पेनको टोली छाडेर रियल मड्रिडको प्रशिक्षक बन्ने उनको तयारी थियो । तर, रियलसँगको सम्झौता भएपछि स्पेनको फुटबल संघले उनलाई प्रशिक्षकबाट हटाइदियो । त्यसपछि स्पेनको टोलीको जिम्मा फर्नान्डो हिएरोलाई दिइयो । तर, स्पेन विश्वकपमा अन्तिम १६ मा आयोजक रुससँग हारेर घर फर्कियो ।

यस्तोमा सन् २०१० को विश्वकप विजेता टोलीको प्रशिक्षकमा एनरिके स्वभाविक विकल्प थिए । त्यतिबेला सन् २०१४ पछिको तीन सिजनमा बार्सिलोनाको प्रशिक्षकका रुपमा सफलता पाएको अनुभव एनरिकेसँग थियो । क्लबलाई धेरै उपाधि दिलाएर उनले आफूलाई सिद्ध गरेका थिए ।

बार्सिलोनाको प्रशिक्षकबाट हटेको एक वर्ष नबित्दै एनरिके स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षक बन्न सफल भएका थिए । यो उनको लागि निकै खुशीको कुरा थियो । तर, उनलाई समस्याले कुरिरहेको थियो ।

एनरिकेको अबको यात्रा

अहिले एनरिके विस्तारै आफ्नी छोरीको मृत्युको चोटबाट बाहिर निस्किने प्रयासमा छन् । उनी आफ्नो मनोबल बढाउने प्रयास गरिरहेका छन् र आफ्नो काममा नै रमाउन थालेका छन् ।

अन्तर्राष्ट्रिय प्रशिक्षकको रुपमा काम गर्दा बेलाबेलामा भइरहने क्लबको खेलले उनलाई आफ्नो परिवार र साथीहरुको लागि पनि समय छुट्याउने मौका मिल्ने गरेको छ । यसले पनि उनलाई केही सहज वातावरण बनाएको छ । स्पेनको प्रशिक्षकको रुपमा टोलीमा सन्तुलन र व्यावसायिकता भित्र्याएका छन् । उनले टोलीलाई सकारात्मक ऊर्जा दिएका छन्, टोलीका सबैले आफूलाई यसअघिको तुलनामा सुधारिएको महसुस गरेका छन् ।

यस्तोमा के यसपटकको युरो स्पेनले ल्याउन सक्छ त ? यो प्रश्नमा एनरिके आफूहरुसँग उस्तै क्षमता भएका ३५ देखि ४० खेलाडी रहेको दाबी गर्छन् । इतिहास हेर्ने हो भने स्पेनको टोलीमा सबैभन्दा धेरै खेलाडी प्रमुख दुई क्लब बार्सिलोना र रियल मड्रिडबाट पर्ने गरेका थिए । यसपटक भने त्यो क्रम तोडिएको छ ।

पहिलोपटक स्पेनको राष्ट्रिय टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेनन् । बार्सिलोनाबाट केवल तीन खेलाडी मात्र टोलीमा छानिए । सन् २०१८ को विश्वकपमा स्पेनको २३ जनाको टोलीमा झण्डै आधाजसो रियल मड्रिड र बार्सिलोनाका खेलाडी थिए ।

एनरिकेको टोलीमा केही अग्रणी खेलाडी छन् भने केही युवा छन् । उनले उत्साहजनक खेल प्रस्तुत गरिरहेका युवा खेलाडीलाई मौका दिएका छन् । यद्यपि युरोकपको उपाधि हात पार्नु त्यति सजिलो भने छैन । सोमबार नकआउट चरणको खेलमा स्पेनले सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियाको सामना गर्दैछ । यो खेलमा जित हात पार्न स्पेनको लागि त्यति सजिलो छैन ।

सन् २००८ देखि २०१२ सम्म विश्व फुटबलमा दबदबा बनाएको स्पेन त्यसयता भने ठूलो प्रतियोगितामा उपाधिको नजिकसम्म पनि पुग्न सकेको छैन । यो युरोकपमा अब कुनै जादु देखाउन सकेको अवस्थामा एनरिके स्पेनको लागि हिरो साबित हुन सक्छन् । अन्यथा उनी फेरि पनि मिडियाको निशानामा पर्नेछन् । उनले पत्रकारले आफूलाई विवादित बनाएको भन्दै क्यामेरा वा माइक्रोफोनअघि बोलेको कुराको अर्थ नभएको बताउँदै आएका छन् ।

यसपटक भने उनको मिडियासँगको सम्बन्ध अहिलेसम्मकै राम्रो देखिएको छ । किनकि उनले कुनै पनि अन्तर्वार्ता दिएका छैनन् । त्यसो त उनी आफैंसँग पनि मिडियाको सानो समूह रहने गरेको छ, जसलाई उनले निकै विश्वास गर्ने गर्छन् । एनरिकेले पछिल्लो समय मिडियासँगको आफ्नो दूरी मेटाउने प्रयास पनि गरेका छन् ।

यद्यपि उनले मिडियासँग के भन्छन् भन्दा पनि मैदानमा टोलीले कस्तो खेल्छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ । तर, यी दुवै मामिलामा एनरिकेले आफूलाई परिवर्तन गर्ने सम्भावना निकै कम छ । उनी सधैं आफू जस्तो छन्, त्यस्तै नै रहने प्रयास गर्छन् ।

बीबीसीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment