Comments Add Comment

बीपी प्रतिष्ठानमा अनियमितता बढेको भन्दै शिक्षक-कर्मचारी रिले अनसनमा

१४ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत् शिक्षक, कर्मचारीहरुले रिले अनसन शुरु गरेका छन् । प्रतिष्ठानमा बेथिति र अनियमितता बढेको भन्दै त्यहाँ कार्यरत् शिक्षक, कर्मचारी तथा अध्ययनरत् विद्यार्थीहरु संयुक्त संघर्ष समिति बनाएर दुई सातादेखि आन्दोलनमा छन् ।

सोमबारबाट रिले अनसन शुरु गरिएको र अझै आफ्ना माग पूरा नभए कडा रुपमा प्रस्तुत हुने संयुक्त संघर्ष समितिका सदस्य तथा संयुक्त जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए । माग पूरा नभए शिक्षक, कर्मचारी सबैले सामूहिक राजीनामा दिने तयारी समेत भइरहेको उनले बताए ।

‘प्रतिष्ठान सुधारका लागि हामीले विभिन्न चरण हुँदै रिले अनसन शुरु गरेका हौं । यसले पनि भएन भने सामूहिक राजीनामा दिन्छौं,’ उनले भने ।

प्रतिष्ठानको हरेक दिनको आय–व्यय विवरण दैनिक र साप्ताहिक रुपमा वेबसाइटमार्फत सार्वजनिक गर्ने, हरेक महिनाको अन्तिम शुक्रबार तीन घण्टा सम्पूर्ण पदाधिकारीसहित अडिटोरियममा सार्वजनिक सुनुवाई गर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

संघर्ष समितिले आइतबार पदाधिकारीहरुले प्रयोग गर्दै आएको प्रतिष्ठानको गाडीको चाबी जफत गरेको जनाएको छ । प्रतिष्ठानको हितमा उचित तरिकाले गाडीको प्रयोग नगरेकाले रोक लगाएको संघर्ष समितिको भनाइ छ ।

प्रतिष्ठानको अनियमितताबारे अख्तियारमा ध्यानाकर्षण गराएको भन्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीले काठमाडौंबाट नै चिकित्सकलाई स्पष्टीकरण पत्र काटेपछि चिकित्सक, विद्यार्थी तथा कर्मचारीले आन्दोलन चर्काएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment