Comments Add Comment

पौडेल र सिटौलालाई मिलाउने सुजाताको प्रयास

१४ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलेर जान आग्रह गरेकी छन् ।

कोइरालाले सोमबार पौडेल र सिटौलालाई सोमबार आफ्नै निवास मण्डिखाटारमा बोलाएर १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटा मात्रै उम्मेदवार बन्नुपर्नेमा जोड दिएकी हुन् । ‘उहाँ (सुजाता)ले हामी एउटै समूह बनाएर अगाडि बढ्नुपर्छ, तपाईंहरु दुवै जना मिल्नुस् भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘१३ औं महाधिवेशनअघि तपाईहरु एउटै टिममा हुनुहुन्थ्यो । अब सहमति गरेर एउटा उम्मेदवार तय गर्नुस् भन्ने नै उहाँको जोड थियो ।’

वरिष्ठ नेता पौडेल र सिटौलाले सकारात्मक जवाफ दिएका छन् । लामो समय एउटै समूहमा रहेका नेता पौडेल र सिटौला १३औं महाधिवेशनमा देउवासँगै सभापतिको उम्मेदवार बनेका थिए ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणमा सिटौलाले सभापतिमा देउवालाई सहयोग गरेका थिए । सिटौलाले पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका छन् । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १४औं महाधिवेशनका लागि संस्थापनइतर समूहबाटै आधा दर्जन बढीले सभापतिमा आकांक्षा देखाएका छन् । वरिष्ठ नेता पौडेलले सभापतिमा उम्मेदवारी दिने इच्छा राखेका छन् भने सिटौला मौन छन् ।

नेतृ कोइरालाले भने संस्थापनइतर समूह एक ठाउँमा नउभिए आफूलाई सहयोग गर्न पौडेल र सिटौलालाई आग्रह गरिन् । ‘सकेसम्म तपाईंहरु मिल्नुस्, तपाईंहरुले जसलाई सभापति उठाउनुहुन्छ, सबैले स्वीकारेर जानुपर्छ,’ कोइरालाले नेताद्वयलाई भनिन्, ‘तर तपाईंहरु नमिल्ने हो भने म अगाडि बढ्छु, कांग्रेसको पहिलो महिला सभापति बन्न मलाई सहयोग गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment