Comments Add Comment

पर्सागढीमा पुनः नगर सभा गर्न उपप्रमुख चौधरीको माग

१४ असार, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाको उप प्रमुख अर्चना चौधरीले पुनः नगरसभा गर्नुपर्ने माग राखेकी छन् । असार १० गते विधि र प्रक्रिया मिचेर गरिएको नगरसभा गरिएको बताउँदै उनले त्यस्तो माग राखेकी हुन् ।

नेपाल पत्रकार महासंघ वीरगञ्ज शाखामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगर सभामा उप प्रमुखको उपस्थिति हुँदा हुँदै अरु मानिसबाट विधेयकहरु प्रस्तुत गर्न लगाएको गुनासो उनको छ ।

‘नगर सभामा उप प्रमुखले नीति कार्यक्रम तथा बजेट र विधेयकहरु पेश गर्न पाउनुपर्ने हो, नीति कार्यक्रम नगर प्रमुख स्वयंले प्रस्तुत गर्नुभयो, बाँकी कार्य मलाई गर्न दिनुहुन्छ होला भनेको त कार्यक्रम उदघोषकलाई नै दिनुभयो ।’ उनले भनिन् ‘नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर अधिकारबाट वञ्चित गर्ने काम भयो, असंवैधानिक र गैरकानुनी कार्य खारेज हुनुपर्छ ।’

नगर सभामा पेश गरिने नीति, कार्यक्रम तथा बजेट, विधेयक, नियमावली र निर्देशिकाहरु कार्यपालिका बैठकबाट पास गर्नुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । असार १० गतेको नगर सभामा उपप्रमुख चौधरी केहिबेर बसेर निस्केकी थिईन् ।

‘ उपप्रमुख हुँदा हुँदै बाहिरका मनिसलाई विधेयकहरु सभमा पेश गर्न लगाईयो, मान प्रतिष्ठा नै नरहेपछि बस्नु उचित नठानेर निस्किएको हुँ ।’ उनले भनिन् ।अधिकार हनन भएकोले पत्रकर सम्मेलन गर्न बाध्य भएको उनले बताइन् ।

बहुमत सदस्यले बहिस्कार गरेको दावी

पत्रकार सम्मेलनमा बहुमत वडा सदस्यहरुले नगर सभा बहिस्कार गरेको दावी समेत गरिएको छ । वडा सदस्य अरुण प्रकाश रेग्मीले बहुमत वडा सदस्यहरुले नगरसभा बहिस्कार गरेको तर नगर प्रमुख लोकनारायण यादव पेलेर अघि बढेको दावी गरे ।

‘जेठ २६ गते ३२ जना वडा सदस्यले ११ बुँदे माग सहितको ज्ञापनपत्र नगर प्रमुखलाई बुझाएका थियौं, आव ०७४÷०७५ देखिको आय व्यय विवरण, पूँजीगत र साधरण खर्चको विवरण, नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टीनमा भएको खर्च, कोरोनामा वितरण गरिएको राहत लगायतको विवरण माग गर्नुको साथै वडामा १ करोडके बजेट पठाउन भनेका थियौं ।’

उनले भने ‘ तर नगर प्रमुख एकलौटी ढंगले अघि बढी रहनुभएको छ । वडामा वडा अध्यक्षहरु हावी छन् । पारदर्शी हुन चाहनुभएन, त्यसैले नगर सभा बहिस्कार गरेका हौं । ’

५० जना कार्यपालिका सदस्य रहेको पालिकामा २७ जना सदस्यहरु आफ्नो पक्षमा रहेको दावी उनको छ । असन्तुष्ट सदस्यहरुलाई मनाउने प्रयास गर्दा नमानेपछि बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा नगर सभा गरिएको नगर प्रमुख यादवले बताए ।

‘ नगरसभा शुरु भईसकेपछि उपप्रमुख आएर एकछिन बसेर जानुभयो, पछि गर्छु भनेर उपस्थितिमा हस्ताक्षर समेत गर्नुभएन ।’ उनले भने ‘उल्टै बाहिर गएर हो–हल्ला गराउने काम गर्नुभयो, विधि र प्रक्रिया अनुसार नै नगर सभा सम्पन्न गरेका छौं, बहुमत सदस्यको उपस्थितिामा नगर सभा भएको छ ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा सभाको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । नगर सभामा ३२ जना सदस्यले हस्ताक्षर गरेको दावी नगर प्रमुख पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment