Comments Add Comment

सार्वजनिक हुन थाले तीजका गीत

असार १५ संगै तीज लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् । आज बिहान ‘मरिन्छ कि साँईलो’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा लोकदोहोरी गायक गायिका विमलराज क्षेत्री, राधिका हमाल, खुमन अधिकारी, जानुका तामाङ्ग र खेम सेञ्चुरीले स्वर दिएका छन् ।

गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् । गायक खेम सेञ्चुरीको संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन सुन्न सकिन्छ । प्रकाश भट्ट निर्देशित यस गीतको भिडियोमा गीतका गायक गायिका स्वयंमले अभिनय गरेका छन् । मजदुरी गरेर दैनिकी चलाउँदै आएको परिवारको कथा गीतमा चित्रण गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

त्यस्तै, गायिका एलिना चौहान र बेनिशा पौडेलले ‘नक्कली नभन्नू मलाई बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । रोशन सिंहको शब्द, भिम नेपालीको संगीत, चेतन गोतामेको एरेन्ज रहेको गीतमा एलिना र बेनिशाले स्वर दिएका हुन् ।

विक्रम चौहान निर्देशित गीतको भिडियोमा पनि गायिकाद्धय एलिना र बेनिशा फिचर्ड छन् । गीतमा विवाह गरेर गरेकी दिदी र अविवाहित बहिनीबीचको कथा ब्यक्त गरेको छ । प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

यसैगरी, गायिका चन्द्रा आचार्यको स्वरमा ‘तम्रा मायाले’ बोलको तीजगीत सार्वजनिक गरिएको छ । लक्ष्मीप्रसाद गौतमले लेखेको गीतमा गौरव दर्पणको संगीत, सुरत प्रधानको संगीत संयोजक रहेको छ ।

रमेश थापाको निर्देशनमा बनेको गीतको भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम र एन्जल केसीले अभिनय गरेका छन् । शिव ढकालको छायाँकन रहेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । पश्चिमी लोक शैलीको गीतमा मायाप्रेमको कथा व्यक्त गरिएको छ ।

त्यस्तै गतवर्ष सार्वजनिक गीत ‘नाच्ने हो छेउ छेउमा’को फिमेल भर्सन पनि सार्वजनिक गरिएको छ । प्रविन भट्टको शब्द एवं संगीत, कृष्ण बि।केको एरेन्ज रहेको फिमेल भर्सनमा बबिना किँरातीको स्वर छ ।

प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा कविता नेपाली, अकेरा राई, एलिना ठकुरी, बबिता पोखरेल, रीया सुन्दास, रमा विश्वकर्मा लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । यो गीतका शब्दहरु भने रमाईला छन् । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ । अन्य कलाकारहरु पनि तीज गीत सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । यसवर्षको तीज भदौं २४ गते मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment