Comments Add Comment

बैतडीमा खुकुलो बनाएर असार ३१ गतेसम्म निषेधाज्ञा थपियो

१५ असार, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा केही खुकुलो बनाएर असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बुधबारदेखि जिल्लाभरि सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी सञ्चालनमा आउने भएका छन् । सार्वजनिक, निजी र भाडाका गाडीमा सिट  क्षमताभन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

सबै कार्यालयले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्ने जनाइएको छ । सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहको आलोपालो मिलाई तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । सबै प्रकारका पसल, व्यवसाय बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् भने होटेल तथा रेष्टुरेन्टले टेक–अवे सेवा सञ्चालन गर्न सक्नेछन् ।

सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत् राखिएको छ । विवाह, ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर गर्न भने पूर्ण रुपमा बन्देज लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment