+
+
Shares

वैदेशिक रोजगारी छाडेर व्यावसायिक कालिज पालन

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ असार १५ गते २०:३५

१५ असार, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा १० रोपनीमा फैलिएको कल्पित वाइल्डलाईफ एग्रो सेन्टर छ ।

आशिष उपाध्याय, प्रवेश केसी र निर्मल उपाध्यायले साढे दुई वर्षअघि खोलेको यो एग्रो सेन्टर खासमा कालिज फार्म हो, जहाँ अहिले आउँदो मंसीरमा बिक्री हुने कालिजका चल्लाहरु हुर्कंदैछन् ।

फर्मले यसअघि तीन पटक कालिज बिक्री गरिसकेको छ । दक्षिण कोरिया बसेका प्रवेश र निर्मल तथा कतारको रोजगारीमा लामो समय बिताएका आशिष विदेशबाट फर्केर साढे दुई वर्षदेखि यो व्यवसायमा छन् ।

विदेशमा गर्ने कडा परिश्रम आफ्नै माटोमा गर्न तीनजनाले बीउ पूँजी ५० लाख लगानी गरेर यो उद्यम थालेका हुन् । उमेरले ४० पुग्न लागेका तीन युवकले दुई वर्षमा तीन हजारभन्दा धेरै हुर्किएको कालिज र करीब हजारवटा कालिजको चल्ला बिक्री गरिसकेका छन् ।

कल्पित वाइल्ड लाईफ एग्रो सेन्टरले नेपालका अरु कालिज फार्मले जस्तै यूरोपको चेक गणतन्त्रबाट अण्डा ल्याएर चल्ला उत्पादन गरिरहेको छ ।

आशिष, प्रवेश र निर्मल तीनैजना भक्तपुर, सिपाडोलका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा प्रवेश ७ वर्ष र निर्मल २ वर्ष दक्षिण कोरिया बसे भने आशिष ११ वर्ष कतार । घरपरिवारबाट छुट्टिएर विदेशमा कडा परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भनेरै घर फर्केर कालिज पालन व्यवसाय थालेको उनीहरु बताउँछन् ।

सिपाडोलमै १० रोपनी जमीन भाडामा लिएर व्यवसाय थालेका उनीहरुले चेक गणतन्त्रको एउटा कम्पनीबाट पहिलो लटमा चार हजार अण्डा आयात गरेका थिए ।आशिष उपाध्यायका अनुसार ७० रुपैयाँ गोटा किनेका अण्डाको मुल्य नेपाल आइपुग्दा १२० रुपैयाँभन्दा बढी पुग्छ । अण्डा कोरलेर चल्ला निकाल्दा लागत अझ बढ्ने उनले सुनाए ।

‘अण्डा ह्याचिङ गरेर चल्ला निकाल्दा सफलताको दर ५० प्रतिशत हाराहारी मात्र छ’ आशिष भन्छन्, ‘त्यसैले एक दिनको एउटा चल्लालाई पाँच सय रुपैयाँ पर्छ ।’

कालिज किनबेच किलोमा नभएर गोटाको हिसाबले हुने र ५ देखि ६ महीनाको एउटा कालिज ३५ सयमा सजिलै बिक्री हुने गरेको बताउँदै उनले भने, ‘यो भाउमा पनि माग धान्‍न सकिएको छैन, ग्राहकको हारालुछ हुन्छ ।’

नेपालमा व्यावसायिक कालिज पालन कम भएको र माग उच्च रहेकै कारण आफूहरुले सो पेशा रोजेको निर्मल बताउँछन् । राम्रो हेरचाह गरे कालिजबाट मनग्य आम्दानी हुने उनको अनुभव छ ।

दुई हप्तासम्म कालिजका चल्ला स्याहार्न कुखुराका चल्ला हुर्काए जस्तै सजिलो हुने भए पनि त्यसपछि भने विशेष ख्याल गर्नुपर्ने प्रवेश केसीले बताए । उनका अनुसार कालिजका चल्लाहरु हुर्किंदै गएपछि एकले अर्कालाई ठुंगेर मार्ने, घाइते बनाउने क्रम बढ्छ ।

यो कारणले पनि कालिजको लागि कुखुरालाई भन्दा फराकिलो चर्ने ठाउँ चाहिन्छ । दाना भने कुखुराकै दिए हुन्छ । कुखुरालाई जस्तै रानी खेत, गबारो लगायतको खोप दिन र क्याल्सियम, भिटामिन खुवाउनपर्छ ।

हुर्कंदै गएपछि एकअर्काको आक्रमणबाट जोगाउन हरेक कालिजको चुच्चोमा क्याप लगाउनुपर्ने प्रवेश बताउँछन् । उनका अनुसार बढ्ने क्रममा पौष्टिक आहार नपुगे कालिजहरु एकअर्कालाई ठुग्ने, खानाका लागि बढी जुध्‍ने गर्छन् ।

मासुका लागि कालिज बिक्री गर्ने सोचले खुलेको कल्पित वाइल्ड लाईफ एग्रोले घरमा राम्रोका लागि पाल्ने वा व्यावसायिक फार्म खोल्नेहरुलाई चल्ला पनि उपलब्ध गराउन थालेको छ । मासु खाने होस् या पाल्ने, फार्ममा ग्राहकको कमी नभएको सञ्‍चालकहरु बताउँछन् ।

आफूहरुले खटेर काम गर्दा पनि कतिपय ग्राहकलाई रित्तोहात फर्काउन परेको निर्मल उपाध्याय बताउँछन् । ‘बजारमा कालिजको माग नै धेरै छ’ उनी भन्छन्, ‘यो व्यवसायमा राम्रो सम्भावना छ, यो काम गर्न चाहनेलाई सिकाउन, सघाउन हामी तयार छौं ।’

आफूहरुलाई पनि विदेशबाट फर्केर नयाँ व्यवसायमा स्वरोजगार भएको भन्दै प्रदेश सरकारले आर्थिक प्रोत्साहन गरेको उनले बताए । ‘फार्म विकास गर्न बागमती प्रदेशको कृषि मन्त्रालयले हामीलाई १० लाख रुपैयाँ अनुदान दियो’ उनी भन्छन्, ‘सरकारले तालिम, कच्चा पदार्थ आयात जस्ता विषयमा पनि सहुलियत दिए अझ राम्रो हुनेछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?