Comments Add Comment

सामाजिक सेवाको प्रचार किन धेरै गर्छन् सेलिब्रिटी ?

केही दिन अगाडि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि सहयोग वितरण गर्न पुग्दा नायिका पूजा शर्माले उनीहरुसँग सेल्फी लिइन् । पूजाले प्रभावितसँग रमाइलो गर्दै लिएको सेल्फीको आलोचना भयो । सहयोग वितरण गर्न पुग्दा मिडियाका क्यामेरासहित पुगेकी पूजाले सामाजिक संजालमा पनि थुप्रै तस्वीर पोष्ट गरिन् ।

पूजा मात्र होइन, सामाजिक सेवामा सक्रिय रुपमा लागेका नेपाली चलचित्रका कलाकारहरु यसलाई प्रचार पनि खुबै गर्छन् ।

नायिका स्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि सहयोग वितरण गर्न पुग्दा छिन–छिनमा फेसबुकमा लाइभ गरिन् । यतिमात्र होइन, उनले हेलिकप्टरमै प्रभावितका लागि राहत वितरण गर्न पुग्दा केही सामाजिक संजाल प्रयोगकर्ताले आलोचना गरे ।

सामाजिक सेवामा सक्रिय रहेका नायक पल शाह आफ्नो हरेक गतिविधी फेसबुकमा लाइभ गर्ने, फोटो राख्ने गर्छन् । पललाई सामाजिक सेवालाई प्रचार गरेको भन्दै आलोचना पनि आउने गर्छ ।

उसो त, सामाजिक काम गर्दा त्यसलाई प्रचार गर्नु हुँदैन भनिन्छ । तर, सबैले यो मान्यतालाई स्विकार गर्दैनन् ।

नायक पल शाहले हालै एक कार्यक्रममा यो बिषयमा भने–‘मलाई धेरैले सामाजिक सेवा गरेका फोटोहरु किन धेरै पोष्ट गर्नुहुन्छ भन्नुहुन्छ । तर, मैले यो प्रचारका लागि गरेको होइन । हामीले गरेको कामबाट अरु पनि प्रभावित होउन् भनेर यसो गरिएको हो । मैले काम गरेँ भन्नका लागि नभएर तपाइहरु प्नि गर्नुहोस् भन्नका लागि हो ।’

नायिका पूजा शर्माले समस्यामा परेका मानिसहरुलाई सहयोग गरेको तस्वीर आफूहरुले पोष्ट गर्दा अरु पनि प्रभावित हुने र सामाजिक काममा अगाडि बढ्ने बताइन् । उनले, प्रभावितहरुसम्म पुग्दा दुःख मात्र होइन, सुख पनि लिएर जानुपर्ने तर्क गरेकी छिन् ।

नायिका स्वेता खड्कादेखि अधिकांश कलाकारको तर्क एउटै छ । उनीहरु, अरुहरुलाई प्रभावित गर्नका लागि तस्वीर पोष्ट गरेर, मिडियाको साथ खोजेर प्रचार गर्ने गरेको सुनाउँछन् ।

तर, निरन्तर सामाजिक काममा लाग्ने कलाकारहरु मात्र होइन, कहिलेकाही सामाजिक सेवामा लागेको देखाउनेहरु पनि प्रचारमा रमाउने गर्छन् । केही बोरा चामल र नुन सहयोग गर्दा पनि मिडिया खोज्नेहरुको यहाँ कमी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment