Comments Add Comment

ब्राजिलमा भारतीय कोरोना खोप खरीद सम्झौता रद्द

१६ असार, काठमाडौं । ब्राजिलको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी भारत बायोटेकको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरीदको सम्झौता रद्द गरेको घोषणा गरेको छ ।

राष्ट्रपति जेयर बोल्सोनारोमाथि खोप खरीदको विषयमा आर्थिक अनियमितता गरेको आरोप लागेसँगै मन्त्रालयले भारतसँग भएको ३२ करोड ४० लाख डलरको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । यो सम्झौतामा ब्राजिलले भारतसँग २ करोड डोज कोरोना खोप खरीद गर्ने उल्लेख थियो ।

यद्यपि राष्ट्रपति बोल्सोनारोले भने आर्थिक अनियमितताको आरोप अस्वीकार गर्दै आएका छन । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार केही मानिसले बोल्सोनारोमाथि सार्वजनिकरुपमा नै आरोप लगाएका थिए । त्यसयता यो सम्झौता बोल्सोनारोको टाउको दुखाइ बन्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको एक टोलीले राष्ट्रपतिमाथि लागेको आर्थिक अनियमितताको आरोपको पनि अनुसन्धान गर्नेछ । मन्त्रालयका अनुसार सीजीयूको सुरुआती विश्लेषणमा कुनै अनियमितता पाइएको थिएन तर आरोप लागेकाले यो सम्झौता रद्द गरिएको हो ।

ब्राजिलमा यो खोपको भाउ बढी हुनु, सम्झौताको लागि भएको वार्ता निकै छिटो हुनु र अझैसम्म पनि खोपले ब्राजिलमा प्रयोगको अनुमति नपाउनुजस्ता कारणले उक्त सम्झौतामाथि प्रश्न उठेको थियो ।

ब्राजिलमा कोरोना महामारीसँग लड्ने योजनाको विषयमा पनि अहिले राष्ट्रपति बोल्सोनारोमाथि अनुसन्धान भइरहेको छ । उनीमाथिको अनुसन्धानको लागि संसद्को एक टोली बनाइएको छ । यो टोलीले खोप खरीदमा लागेको आर्थिक अनियमितताको पनि अनुसन्धान गरिरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment