Comments Add Comment

यात्रुसँग बढी भाडा लिएको आरोपमा काठमाडौंबाट आठ जना पक्राउ

फाइल तस्वीर : काठमाडौंको नयाँ बसपार्क

१६ असार, काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहामगर, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन् । नयाँ बसपार्कबाट नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौंबाट बा १६ च २१८४ नम्बरको निजी गाडीमा उदयपुरसम्म लैजान भनी यात्रुसँग भाडा लिएको आरोपमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाइली पक्राउ परेका छन् । उनले प्रतियात्रु तीन हजार रूपैयाँका दरले भाडा लिएको पाइएको एसएसपी भट्टराईले बताए ।

यसैगरी चावहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रतिव्यक्ति ५ हजारसम्म भाडा लिएको पायएपछि २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको छ ।

निषेधाज्ञापछि हालसम्म उपत्यका बाहिर जाने यात्रुसँग आठ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी साधन कारबाहीमा

काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग भाडा लिई ओसारपसार गर्ने ४७ वटा निजी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।

भाडाका सवारी साधनले जस्तै निजी बोलेरो, स्कार्पियो लगायत गाडीले यात्रु बोक्ने गरेको पाइएकाले ती सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गर्न अभियान चलाएको एसएसपी भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment